काठमाण्डौका प्रिन्स दाहाललाई अन्तराष्ट्रिय ब्याडमिन्टनको उपाधी

विराटचौक । दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्राम अन्तराष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधी काठमाण्डौका प्रिन्स दाहालले हात पार्न सफल भएका छन । उनले नेपाली सेनाका प्रफुल महर्जनलाई २१–१३, २१–१३ को समान अन्तरले पराजित गर्दै उपाधी कब्जा गरेका हुन् । दाहालको दुई हप्ता भित्र यो दोश्रो अन्तराष्ट्रिय उपाधी हो । उनले हालै बिराटनगरमा भएको राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनमा पनि यू—१९ र यू—१५ दुवै तर्फ विजय हात पारेका थिए ।

सेमिफाईनलमा पुरुष एकलमा प्रिन्सले रुकेश महर्जनलाई र प्रफुलले एपिएफका सुनिल जोशीलाई पराजित गरेका थिए । दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्रामको आयोजनामा भएको प्रतियोगिताको मिक्स युगल तर्फ सेनाका रत्नजित तामाङ्ग र अनुमाया राईको जोडी बिजयी भयो । रत्न र अनुको जोडीले फाईनलमा एपिएफका दिपेश धामी र पुजा श्रेष्ठको जोडीलाई २१–१९, २०–२२ र २१–१६ ले पराजित गर्दै उपाधी चुमे । दिपेश र पुजाको जोडीले एपिएफकै गौतम कठायत र सुनैना मुखियालाई पराजित गरेका थिए ।

भेट्रान्स युगल तर्फ पुष्पलाल स्मृती ब्याडमिन्टका विजेता धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठको जोडीले बिर्ता ब्याडमिन्टन क्लबका संजय भक्तराज र के.बि. गुरुङ्गको जोडीलाई २१–१८, २१–१७ ले पराजित गर्दै उपाधी हात पारे । पुरुष युगल तर्फको खेलमा एपिएपका दिपेश धामी र बिजित थापा मगरको जोडी र सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी फाईनल प्रवेश गरे । धामी र मगरको जोडीले सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाइृ २१–१७, २५–२१ को अन्तरले तथा तामाङ्ग र श्रेष्ठले गौतम कठायत र सुनिल जोशीको जोडीलाई २१– ९, २१–१२ ले पाखा लगाएका थिए ।

स्थानिय स्तरका खेलाडीहरु विच भएको खेलमा भने आयोजक दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्रामका अध्यक्ष भालेश्वर दुलाल र प्रकाश राईको जोडीले जित हात पारेका छन । मंगलबार भएको फाईनल खेलमा दुलाल र राईको जोडीले रविचन्द्र राई र सुभाष श्रेष्ठको जोडीलाई १२ –२१, २१–११ र २१–१८ ले पराजित गर्दै उपाधी जित्न सफल भएका हुन ।

Purbeli TV

तपाईको प्रतिक्रिया