के तपाइलाई अमिलो पानी आउने, पेट फुल्लिने, छाती पोल्ने त गर्दैन ?

हामीमध्ये धेरैलाई पेट फुल्लिने, अमिलो पानी आउने, खाना नरुच्ने हुनसक्छ । अझ यस्तो अवस्थामा बेचैनी हुने, कहिलेकाहिँ डर लाग्ने, आत्तिने, छाती पोलिने जस्तो पनि हुनसक्छ । यस्तो हुँदा हामीलाई मुटुको रोग पो लाग्यो कि अथवा अरु केही पो भयो कि भनेर डर लाग्छ । समस्या बढ्दै गएपछि मानिसहरुमा निराशा छाउने, उदासी छाउने अवस्था पनि देखिन्छ । वास्तवमा यो समस्या धेरैमा हुन्छ तर यो सबैको कारण भने एउटै हुन्छ । चिकित्साको भाषामा यसलाई अम्लपित्त अथवा एसिडिटी भनिन्छ ।

के हो त एसिडिटी, आउनुस् थाहा पाऔं ।

एक किसिमको ग्यास्ट्रिक ग्ल्यान्डले खाना पचाउनका लागि ग्यास्टिक रस निष्कासन गर्छ तर सो रस बढी निष्कासन भयो वा अन्य कुनै कारणले पेटमा बढी एसिड जम्मा भयो भने एसिडिटी (अम्लपित्त) को समस्या देखा पर्छ ।

एसिडिटीको लक्षण

पेट, छाती र घाँटीमा जलन हुनु ।

अमिलो डकार आउनु । कहिलेकाहीँ उल्टी हुनु ।

मुखमा अमिलो र तीतो पानी आउनु ।

अपच हुनु । कहिले कब्जियत त कहिले पखाला लाग्नु ।

शरीर तातो हुनु ।

भोक कम लाग्नु वा बढी लाग्नु ।

टाउको–जीउ दुख्नु, हातखुट्टा पोल्नु ।

चक्कर लाग्नु

बेचैनी, चिन्ता, क्रोध तथा चिडचिडेपन बढ्नु ।

राम्रोसँग निद्रा नपर्नु, थकाइ लाग्नु ।

अनेक डरलाग्दा सपना देख्नु ।

यदि पेटको एसिड माथि भोजननलीतिर आउन थाल्यो भने ग्यास्ट्रोइसोफेजिअल रिफ्लेक्स डिजिज (जीईआरडी) हुन्छ । यस रोगको प्रमुख लक्षण भनेको छाती पोल्नु र मुखमा अमिलो वा तीतो पानी आउनु हो । अधिकांश नेपालीले एसिडिटीलाई सामान्यरुपमा लिन्छन् । तर एसिडिटीको समयमै उचित उपचार नभएको खण्डमा इसोफेजेटिज, ग्यास्ट्राइटिज, पेप्टिक अल्सर, ग्यास्ट्रिक तथा इसोफेजियल क्यान्सर हुने सम्भावना हुन्छ ।

आहार–विहार र घरेलु उपचार

खाली पेटमा चिया–कफी पिउनाले धेरै मानिसलाई एसिडिटीको समस्या देखा पर्छ । त्यसैले बिहान उठ्नेबित्तिकै खाली पेटमा चियाको सट्टा एक–दुई गिलास पानी पिउनुपर्छ । पानी एसिडलाई साम्य पार्ने एक महत्त्वपूर्ण पेयपदार्थ हो । त्यसैले दिनभरिमा २ लिटर जति पानी पिउने बानी बसाल्नुपर्छ । त्यस्तै नरिवल–पानीको सेवन पनि एसिडिटीका लागि निकै उत्तम मानिन्छ ।

एसिडिटीको समस्याका लागि एलोप्याथिक चिकित्सकले एन्टाएसिड जस्तै– एसिलग प्रेस्क्राइब्ड गर्ने गर्छन् भने आयुर्वेदिक चिकित्सकले अविपत्तिकर चूर्ण तथा सुतशेखर रस आदि प्रेस्क्राइब्ड गर्ने गर्छन् । तर आहारविहार (लाइफ स्टाइल)लाई ठीक नगरीकन औषधिले मात्र एसिडिटीबाट छुटकारा प्राप्त गर्न गाह्रो हुन्छ । किनभने औषधिले पेटमा बढेको एसिड कम गर्छ । तर एसिड बढी पैदा हुने कारणलाई ठीक गर्न सक्दैन । त्यसैले एसिडिटीबाट मुक्ति प्राप्त गर्न पेटमा बढी एसिड पैदा हुने कारणलाई नै ठीक गर्नुपर्छ ।

सुरुवातको अवस्थामा आहारविहार ठीक राखी घरेलु औषधि गर्ने हो भने एसिडिटी ठीक हुन सक्छ । एसिडिटीमा लाभ गर्ने अनेक घरेलु औषधिहरु छन् । यहाँ बताइएअनुसार ती घरेलु औषधि उपयोग गरेमा लाभ पाउन सकिन्छ । जीरा र धनियाँको धूलोलाई पानीमा हालेर उमाल्ने र चिसो भएपछि छानेर पिउनाले एसिडिटीमा लाभ गर्छ ।

खाने सोडा २५ ग्राम, बिरेनून २५ ग्राम, निम्बु सत १२ ग्राम तथा त्रिफला ३०० ग्राम सबैलाई राम्रोसँग पिसेर चूर्ण बनाई एउटा शिशीमा राख्नुपर्छ । अनि प्रत्येक बेलुका एक गिलास पानीमा एक ठूलो चम्चा सो चूर्ण भिजाएर भोलिपल्ट बिहान छानेर पिउने गर्नुपर्छ । केही दिनमै लाभ भएको महसुस गर्न सकिन्छ ।

बिहान–बिहान आधा गिलास दूधमा आधा गिलास पानी र एक चम्चा जति मिश्री मिलाएर बनाएको लस्सी पिउने गर्दा एसिडिटीको समस्यामा फाइदा गर्छ ।  एक चम्चा अमलाको रस, एक चौथाइ चम्चा भुटेर कुटेको जीराको धूलो, आधा चम्चा धनियाँको धूलो तथा अलिकति मिश्री मिलाएर दिनको एक पटक खानापछि खाने गर्नु अति राम्रो मानिन्छ ।

सानो हर्रो घिउमा भुटेर राख्ने र खानापछि २ वटा ल्वाङ, आधा चम्चा सौफ र अलिकति मिश्री चुसेर खाने अनि एउटा हर्रो सुपारी चेपेझैँ मुखमा चेप्ने गरेमा पनि एसिडिटीको समस्या न्यून गर्न सकिन्छ । अनलार्इन पानाबाट

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…