मोरङ्गको केराबारीमा शुक्रबार मच्छिन्द्रनाथ मेला सुरू

केराबारी / केराबारीको ऐतिहासिक पहिचानको प्रचार साथै स्थानीय पर्यटनको सम्मान गर्ने उद्देश्यले मोरङ्गको केराबारीमा शुक्रबार मच्छिन्द्रनाथ मेला उद्घाटन भएको छ । मेलाको उद्घाटन केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले गरेका छन् । नौमती बाजाको धुनसहित मेला स्थलमा बनाइएको मूल प्रवेशद्वारको रिवन काटेर अध्यक्ष कार्कीले मेलाको उद्घाटन गरेका हुन् । मन्चमा औपाचारिक कार्यक्रम सुरु भएपछि अध्यक्ष कार्कीले पानसमा बत्ती बाल्नुका साथै मेलाको मूल व्यानर उद्घाटन गरेका थिए ।

सो अवसरमा कार्कीले केराबारी पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने बताए । कार्कीले भने–‘यहाँका साँस्कृतिक पक्षहरुको जर्गेना गर्नुपर्छ ।’ उनले केराबारीको ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सम्पदाको विकासमा मेलाले सहयोग पुग्ने बताए । मेलाबाट संकलन भएको रकमबाट केराबारी वडा नम्बर–८ मा निर्माण भइरहेको जेष्ठ नागरिक चौतारीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको मच्छिन्द्रनाथ मेला २०७५ मेला मूल आयोजक समिति संयोजक टङ्क लिम्बूले बताए । उनकाअनुसार केराबारी वडा नं.–१० मा निर्माणाधिन आर्यघाटका लागि पनि आर्थिक सहयोग गरिनेछ । उद्घाटनका अवसरमा वडा नम्बर ८ का अध्यक्ष मनोज खड्काले केराबारीलाई पर्यटकीय गाउँपालिकाको रुपमा विकास गर्न आफूहरु लागि परेको बताएका थिए । मेलामा सहभागिहरुलाई स्वागत गर्दै आयोजक समिति सदस्य अस्मिता भट्टराईले मेलाबाट भरपुर मनोरञ्जन लिन अनुरोध गरिन् ।

मेला उद्घाटनका अवसरमा च्याब्रुङ्ग नाच, लाखेनाच, हुर्रा नाचसहितको झाँकीले केराबारी बजार परिक्रममा गरेको थियो । केराबारीका बिभिन्न सामाजिक संघ, संस्था, शैक्षिक संस्थाले व्यानरसहित उद्घाटनमा सहभागिता जनाएका थिए । मेला उद्घाटनमा गाउँपालिका उपाध्यक्ष शान्ति लिम्बू, वडा अध्यक्षहरु साथै वडा सदस्यहरुसमेत सहभागि भएका थिए । मच्छिन्द्र माध्यमिक बिद्यालयको खेल मैदानमा सुरु भएको मेला माघ ३ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मेलामा स्थानीय कृषि उत्पादनको बिक्री एवम् प्रदर्शनीदेखि लिएर बिविध साँस्कृतिक कार्यक्रमहरु पनि हुने मच्छिन्द्रनाथ मेला आयोजक समितिले जनाएको छ । ऐतिहासिक रुपमा सञ्चालन हुँदै आएको मेला शसस्त्र संघर्षको समयमा स्थगित भएको स्थानीयहरु स्मरण गर्दछन् । मेला तीनबर्षदेखि पुनः लाग्न थालेको हो । दोश्रो बर्षको मेला खदम खोलामा लागेको थियो ।

यो बर्षको मच्छिन्द्रनाथ मेलामा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ । मेलामा कलाकारहरु दीपक लिम्बू, तारा प्रकाश लिम्बू, ज्योति मगर, निशान भट्टराई, कमल खत्री, तृष्णा गुरुङ्ग, मनिष लिम्बूलगायत स्थानीय कलाकारहरुले मेला अवलोकनकर्ताहरुलाई भरपुर मनोरन्जन दिनेछन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…