विश्वका हिन्दूलाई पशुपतिमा आकर्षित गरिनुपर्ने

काठमाडौँ / राष्ट्रिय गौरवको आयोजना पशुपति क्षेत्रका मूर्त अमूर्त सम्पदाको पर्यटकीय दृष्टिले प्रचारप्रसार गरी विश्वका हिन्दूलाई आकर्षित गरिनुपर्नेमा जोड दिइएको छ । पशुपति क्षेत्र विकास कोषले आज यहाँ आयोजना गरेको मूर्त अमूर्त सम्पदाको कार्यटोलीको प्रतिवेदनमाथिको छलफल तथा कार्यशाला गोष्ठीका वक्ताले सम्पदाको अध्ययन अनुसन्धान गरी यसको महत्वका बारेमा प्रचार गरी धार्मिक पर्यटन प्रवद्र्धन गरिनुपर्नेमा जोड दिइएको हो ।

सो अवसरमा सांसद गगनकुमार थापाले पशुपति क्षेत्र छिरेको पर्यटकलाई छ घण्टासम्म त्यहीँ बिताउने गरी पूर्वाधारको विकास गरिनुपर्नेमा जोड दिदैं स्थानीयवासीले पशुपति क्षेत्रको संस्कृति जोगाएकाले समन्वय र सहकार्यमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न सरोकार भएका निकाय लाग्नुपर्ने बताउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले १५औँ आवधिक योजना बनाउन लागिएका बेला पशुपतिजस्ता धार्मिक क्षेत्रमा कसरी पर्यटक बढाउन सकिन्छ भन्ने विषयको अध्ययन अनुसन्धानका आधारमा सुझाव दिन आग्रह गर्नुभयो । पछिल्लो समय पर्यटकको सङ्ख्या वृद्धि भइरहेकामा आगामी वर्ष २० लाखसम्म भित्र्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कोषका सदस्य सचिव डा प्रदीप ढकालले विभिन्न कोलाहलले तनावमा रहेका मानिसलाई शान्ति दिन सक्ने आध्यात्मिक वातावरण बनाएर पशुपति क्षेत्रमा पर्यटक आकर्षण गर्ने गरी गुरुयोजनाको तयारी भएको जानकारी दिनुभयो । गोष्ठीमा त्रिभुवन विश्वविद्यालय संस्कृति केन्द्रीय विभागकी प्रा निर्मला पोखरेलले ‘पशुपति क्षेत्रका मूर्त कलाकृतिहरुको अध्ययन’, विभागकी डा सन्ध्या खनाल (पराजुली) ले ‘पाशुपत क्षेत्रका अमूर्त संस्कृतिको अध्ययन’ र विभागकै उपप्राध्यापक पशुपति न्यौपानेले ‘पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक पर्यटन विकासको प्रारम्भिक योजना’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमा क्रमशः डा सोम खतिवडा, डा जगदीशचन्द्र रेग्मी र प्रा विदुर पौडललगायतले टिप्पणी गर्नुभएको थियो ।

Purbeli TV

तपाईको प्रतिक्रिया