सुरा–सन्ध्यामा रमाएको सहर

विराटचोक / साँझ ईश्वर/भगवान्लाई सम्झने बेला हो । बिहानको एक पटक सम्झेपछि दिनभरिको कार्यबोझ, व्यस्तता, भागदौड र तनावले गर्दा साँझमा एकछिन मान्छे कोलाहलबाट अलग्ग एकान्तमा सुस्ताउन चाहन्छ । हाम्रो सभ्यता–संस्कृतिको एक पाटो हो यो । मानिसको स्वास्थ्यका लागि पनि सकारात्मक कुरा हो । यो समय आफ्नो इष्टदेवलाई सम्झेर दिनभरिको आफ्नो कामको समीक्षा गर्दै समग्र गलतीहरुका लागि आत्मालोचना गर्ने र खराब काम नगरौँ भनेर कामना गर्ने सुअवसर हो ।

तर यहाँ त्यस्तो अवस्था छैन । चकमन्न साँझहरु एकाएक ‘रकिङ’ हुन थालेका छन् । साँझहरु होहल्लामय भएर एकान्त रुचाउने र ईशभक्तिमा लाग्नेहरुका लागि कर्कश भएका छन् – कोलाहलपूर्ण भएका छन् । मात्तिएको ‘कु–सङ्गीत’ ले हाम्रो भागको त्यो साँझ दिक्कलाग्दो भएको छ । पाश्चात्य संस्कृतिको उत्ताउलोपनबाट सिको लिनेबाट साँझहरु अशान्त बनाउन थालिएको छ । रमझमको उपयोग गर्न नजान्नेहरुले आधुनिकताको परिभाषा दिएर साँझमा कहीँ नभएको जात्रा मनाउन थालिसकेका छन् ।

पहिला पहिला चर्चित गायकका गायन सन्ध्या आयोजना हुने गर्दथे । कहिलेकाहीँ आयोजना हुने त्यस्ता साँझमा सरिक हुन पाउनु अहोभाग्य जस्तो लाग्थ्यो । त्यस्तो अवसरमा एउटा साँझको सदुपयोग गर्दै सङ्गीतको झङ्कारबाट आनन्दित भएर, भीडको हुटिङमा रमाउँदै गीत सुनेर वा नाच हेरेर तृप्ति अनुभव गरिन्थ्यो । आवाजले थर्किएका कान छाम्दै घर फर्कने गरिन्थ्यो । अब त्यो अवस्था छैन । अहिले भने हरेक दिन मदहोस ‘गायन’ साँझहरु राति अबेरसम्म आयोजना हुन्छन् । अब त्यो अस्वस्थ गायनमा परिणत भइसकेको छ । कानहरु संवेदना गुमाउँदै बहिरोपना तर्फ अग्रसर हुँैदैछन् । सरकार ध्वनि प्रदूषण कम गर्न लागेको छ, सुराव्यापारीहरु भने ध्वनि प्रदूषणलाई झनै उराल्न लागिरहेका छन् । यो केको रडाको हो ??

सुरामा लट्ठ भएर बेसुरा राग अलाप्न थालेकाहरुले मूल्यहीन संस्कृति जबरजस्त घुसाउन लागिपरेको आभास भइरहेको छ । भोग–विलास र वासनाबाट मानिस कहिल्यै सन्तुष्ट हुँदैन । सुरामा अभ्यस्त भइसकेपछि फेरि पाकेको सितनसँगै थप अर्को ‘काँचो’ भोग्यवस्तु पनि चाहियो । सर्वत्र कामुकताले छाएकी सुन्दर ‘जीवन्त मद’ पनि थपिएमा यो मन मादकताको उच्च उडानमा उड्न पाए सुरा–सन्ध्या धन्य हुन्थ्यो ! यस्तो लाग्छ– मदमत्त मानिसले साङ्केतिक रुपमा भनिरहेको हुन्छ– ‘चाहे म बर्बाद भए पनि हुँ, तर मलाई भोग–विलास मात्र चाहियो, मलाई मादकतामा चुर्लुम्म डुबाऊ’ ।

दुर्गाप्रसाद खरेल

नयाँ विकसित सहरमा यस्तै सुरा–केन्द्रहरुको बिगबिगी थामिनसक्नु भएको छ । रक्सीप्रतिको आम धारणा र मान्यतालाई आफूअनुरुप बङ्ग्याएर, साबिकको संस्कृतिलाई पाखेको संज्ञा भिराउँदै दलाली गरेर रातारात कमाएका नवधनाढ्यहरुले नवविकसित सहरका बारहरुमा सहज सर्वसम्मत मान्यताहरुको उछित्तो काढेर खराब भविष्यको सङ्केत दिइरहेका छन् । एकाग्रचित्त रहनु पर्ने अवस्थामा यो बेसुरा ढङ्ग पक्कै पनि पढ्ने विद्यार्थीलाई सहज भएको छैन । वृद्धवृद्धाहरुलाई पनि उत्तिकै असहज भएको छ ।

अब कसैले तर्क राख्ला ‘व्यापार गर्न नपाउनु ? अर्काको व्यवहारमा तँलाई केको चासो ?’ आफ्नो अधिकारलाई उपयोग गर्दा अर्काको अधिकार कुण्ठित गर्न नहुने विश्वव्यापी मान्यताको ख्याल सुरा–सन्ध्यामा रमाउनेहरुले गरेका छैनन् । अर्को पक्षमा यहाँ रमाउन नपाउने पनि छन् । दलालीमा परेर ठगिएका, बिनाकसुर अदालती झमेलामा परेका, तनावग्रस्त बेरोजगार, मजदुरी गरेर ज्याला नपाएका, पाएको ज्यालाले शिक्षा र स्वास्थ्यमा पहुँच नपुग्ने दुःखीहरु बस्ने घर पनि त्यही सहर हो । अर्कातिर कुसंस्कृति मौलाएकोमा चिन्तित हुने ‘कसैको एक पैसा नखाने’ सुरुचिशीलहरु पनि त्यही सहरमा छन् । पहुँचको अहङ्कारले मात्तिएका दारुव्यापारी र तिनका पसलमा पिउन आउने पहुँचवाला नवधनाढ्यहरुलाई व्यवस्थापन गर्न नवविकसित नगरका प्रमुखले सोच्ने बेला भइसक्यो ।

भोलिका सन्ततिलाई हामीलाई धिक्कार्ने स्थिति पैदा नहोस् । हामी हाम्रो सन्तान पक्कै पनि यस्तो नहोस् भन्ने चाहन्छौँ तर यस्तै अवस्था रहिरहे हामीले उनीहरुलाई के हस्तान्तरण गर्ने ? कुसंस्कार ? असभ्यता ? अराजक समाज ? नैतिक पतन ? दरिद्रता ? रोग ? कतै उनीहरुलाई दिनु पर्ने केही राम्रो कुरा नभई हात लाग्यो शुन्य नहोस् । त्यसैले हामीले हाम्रा पुस्तामा पूरा गर्नै पर्ने तमाम दायित्वहरु छन् । सभ्य समाज बनाउनु छ, क्षय हुँदै गएको मान्यतालाई संरक्षण गर्नु छ, नयाँ निस्किरहेका रोगहरुबाट परिवार तथा समाजलाई जोगाउनु छ, सन्ततिको भविष्यको जग बलियो बनाउनु छ, भोलिको पुस्तालाई ध्वस्त हुनबाट बचाउन राम्रो संस्कृतिको जग बसाल्नुपर्ने बेलामा यस्ता जिम्मेवारीहरुलाई लत्याउँदै सन्ततिलाई रक्सीको माहात्म्य सिकाउने हामी कस्ता मानिस हाँै ?

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…