प्रदेशलाई प्रविधि मैत्री बनाइन्छ : मन्त्री कार्की

माेरङ / प्रदेश १ लाई प्रविधीमैत्री बनाउन प्रदेश सरकार तत्पर रहेको आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बताएका छन् । विराटनगरमा बिहीबार प्रदेशस्तरीय प्रविधि मेला क्यान इन्फोटेकको उद्धघाटन गर्दै उनले अवको समय प्रविधिको भएकाले नयाँ पुस्तालाई समेत यसमा अभ्यस्त बनाउदै लैजानु पर्नेमा जोड दिए । पाँचदिनसम्म चल्ने मेलाका क्रममा मन्त्री कार्कीले भने, ‘नयाँ पुस्तालाई समेत अभ्यस्त बनाउदै अघि बढ्न प्रदेश सरकार तयार रहेको छ । तपाईहरु सरसल्लाहसहित आउनुस् सरकार सहयोगका लागि तयार छ ।’

प्रविधिको माध्यमबाट अपराध, सडक दुर्घटना नियन्त्रणमा ल्याउन सकिने उनको भनाइ छ । प्रदेश सुरक्षाका लागि २० हजार सुरक्षाकर्मी आवश्यक रहेकोमा हाल करिब ११ हजार सुरक्षाकर्मी मात्रै रहेको जानकारी उनले दिए । सीमित जनशक्तिले सबै कार्य गर्न गाह्रो हुने भएकाले ती क्षेत्रलाई समेत प्रविधीमैत्री बनाएर अघि बढ्नुपर्ने चुनौति रहेको कार्कीको भनाइ छ । त्यसै गरी मन्त्री कार्कीले प्रदेश १ को एक सय ३७ स्थानीय तहलाई पेपर लेस प्रविधीमैत्री बनाउने प्रयासमा सरकार रहेको जानकारी दिए ।

कार्यक्रममा प्रदेश १ नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेशलाई पेपरलेस बनाउन आवश्यक भइसकेको बताए । यद्यपि, सूचना प्रविधीमा जोडिएका व्यवसायीप्रति लक्षित हुँदै कार्कीले विभिन्न टेन्डरका लागि व्यवसायीहरुले राजनीतिक दलदेखि पहुचँवालासम्म दबाव दिने गरेको आरोप लगाए । ‘व्यवसायीहरुले आफ्नो सामान विक्रिवितरणका लागि मन्त्री, कर्मचारीदेखि चौतर्फी प्रलोभन देखाउँदै काम लिने गरेकाछन्, यस्तो प्रवृत्तिको अन्त्य हुनु आवश्यक छ,’ कांग्रेसका प्रमुख सचेतक कार्कीले भने ।

पाँचदिन सम्म चल्ने यस मेलामा प्रविधिसंग जोडिएका विभिन्न कम्पनीका एक सय १० वटा स्टलहरु राखिएको छ । मेलाका रुपमा आयोजना गर्न लागिएको क्यान इन्फोटेकमा प्रविधी प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी गराइने छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया