‘म भात जोरुँ कि कविता लेखूँ?’ मञ्चन (फाेटाे फिचर सहित)

काठमाडौं / कवि विश्वविमोहन श्रेष्ठको बहुचर्चित कविता ‘म भात जोरुँ कि कविता लेखूँ?’ कविता–नाटकको रुपमा काठमाडौंमा मञ्चन भएको छ । ३८ वर्ष अघि लेखिएको सो कवितालाई एपेक नेपालको सहकार्यमा थिएटर मलले केदार श्रेष्ठ र सञ्जिता पराजुलीको निर्देशन मञ्चन गरेको हो । ४० मिनेट लामो कविता–नाटकमा कवि विश्वविमोहनको अर्को कविता ‘सडक बोल्छ’ पनि मञ्चन गरिएको थियो ।

कला साहित्यमा समर्पित जीवन बाँच्नेले दैनिक पारिवारिक जीवनमा भोग्ने कठिनाई र संघर्ष कवि विश्वमोहनको कविताले बोल्छ । चार दशकअघि लेखिएको भएपनि वर्तमान नेपाली समाजमा कला साहित्यमा लाग्नेहरुको जीवनमा उस्तै संघर्ष रहेकोले यो कविता सामयिक र सान्दर्भिक रहेकोले नाटकको रुपमा मञ्चन गरेको हो ।

अर्को कविता ‘सडक बोल्छ’ले हाम्रो सामाजिक, राजनीतिक दुर्दशाले आम मानिसले भोग्ने पीडालाई संकेत गर्छ । नाटकको रुपमा मञ्चन गर्दा वर्तमान समयमा बलात्कारजस्तो घृणित र जधन्य अपराध नियन्त्रणमा सरकार फितलो रुपमा प्रस्तुत भएको दृश्यलाई समेत नाटकमा राखेर व्यंग्य मात्र होइन मञ्चनलाई सान्दर्भिक पनि बनाइएको थियो । कविता–नाटक हेरिसकेपछि संस्कृतिविद् तथा कवि तुलसी दिवसले कविताको शक्ति सर्वकालिक हुनुपर्छ भन्ने उदाहरण ‘म भात जोरुँ कि, कविता लेखूँ?’ भएको बताउँदै कवितालाई दृश्यमा देख्दा कविताको भाव अझ ओझिलो भएको बताए ।

त्यस्तै कवि उषा शेरचनले कवितालाई मञ्चन गर्नु जटिल भएपनि मञ्चमा कविताका अक्षर बगेको अनूभूत गरेको सुनाउँदै विगतमा गरिएका साहित्यिक गतिविधिलाई सम्झिए । त्यस्तै हालै मात्र अमेरिकाबाट फर्किएका कवि बसन्त श्रेष्ठले भने, ‘कविता सामान्यतया पढ्ने, सुन्ने र सुनाउने विधा हो तर आज कविता हेर्न पाउँदा कविताको व्यापकता र महत्व झनै बढ्दै गएको छ ।’
कविता–नाटकमा सबिर चुरौटे, सञ्जिता पराजुली, शंकर भण्डारी, अर्जुन पौडेल, गणेश पौडेल, सुगुन शर्माले अभिनय गरेका थिए । थिएटर मलले यसरी कवितालाई पढ्ने मात्र नभई हेर्ने कविताका रुपमा अरु श्रष्टाका कवितालाई पनि मञ्चन गर्ने योजना बनाएको निर्देशक केदार श्रेष्ठले बताए । कविता–नाटक ‘म भात जोरुँ कि कविता लेखूँ? शनिबार पर्यटन बोर्डमा दुईपटक मञ्चन भएका हो । यसलाई पोखरा र विराटनगरमा पनि मञ्चन गर्ने योजना रहेको एपेक नेपालले जनाएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानबाट पहिलो संस्करण प्रकाशित कविता संग्रह ‘म भात जोरुँ कि कविता लेखूँ?’को दोस्रो संस्करण हालै साझा प्रकाशनबाट प्रकाशित भएको छ । तस्वीर सौजन्यः प्रसुन सिन्धुलीय

कविता

म भात जोरुँ कि कविता लेखू

घरमा बूढी आमा
हरेक चाड पर्वमा
छोरा आउला र
केही जोडजाड गर्ला भनेर
बाटो हेरिरहेकी हुन्छे
स्वास्नी डेरामा
प्रत्येक रात
लोग्ने आउला र
केही मीठो मसिनो
ल्याउला भनेर
ढोका रुँगिरहेकी हुन्छे
फाटेको जामा लाएर
छोरी
टोलमा, छरछिमेकमा र
इष्टमित्रकहाँ
इस हिउँदमा त बाबुले
एक जोर लुगा
हालिदेलान् भनेर
ढाँटिरहेकी हुन्छे
स्कूलमा नाम कटाएर
टोलका असंख्य भुराहरुसित
धुलो उडाउँदै
दिन काटिरहेको छोरो
यस सत्रमा त बाबुले
स्कूल हालदिन्छ र
फेरि पढाई शुरु गरुँला भनेर
आशा गरिरहेको हुन्छ
सुसिसकेको दूधका
लाम्टाहरुसित जिस्कँदै
आमाको काखमा भर्खरै
निदाएको कान्छो छोरो
आफ्नो नाङ्गो आङलाई देखाउँदै
मेरो पौरखलाई सदैव
खिज्याईरहन्छ
भाइ बहिनीको त कुरै छाडौँ
तिनका लागि
न कतै जागीर खोज्न सकियो
न कतै ज्वाइँ रोज्न सकियो
फाटेको कोट र
टालेको सुरुवाल लाएर
खै कति दिन
आकाश पाताल जोडेर हिडूँ
तपाइँ नै भन्नोस्
मेरा मान्यवर मित्र
बाँधेर अँगालोमा
यस्तो सन्ध्याकाललाई
म भात जोरेर बसूँ कि
कविता लेखूँ ?
रेडियो, अखवार र भाषणको कुरै छाड्नुस्
नारा, जुलुस र प्लेकार्डहरुको
कुरै नगर्नुस्
समय उब्रेछ भने
मया गरुँला भनेर
फेरि मलाई अँध्यारोमा
कृपया बनकेल्नुहोस्
आदर्श र सिद्धान्तभन्दा
ठूलो सगरमाथा त
भोक हो भनेर
म भोगिरहेछु
जीवनको सुकसुकाउँदो कमलता
र पाण्डित्यको सुमधुर सौहार्दता त
भोकको पराजय हो भनेर
म देखिरहेछु ।
भो मलाई फेरि
बुद्धको कथा हालेर
रनभुल्लमा नछाड्नोस्
मैंले तपाईंको सपनामा
अलमलिएर
दश नंग्रा खियाउन छाडें भने
मेरा बाबु आमा
खान नपाएर मर्छन्
मैले तपाईको बहकाउमा
वहकिएर
पसिना बेच्न छाडें भने
मेरो जहान परिवार
भोको पेटले मर्छ
म त थकित पराजित
एउटा योद्धा हुँ
आफ्नै पेटसितको युद्धमा
जो निरन्तर हार खान्छ
फाटेको कोट र
टालेको सुरुवाल लाएर
खै कति दिन
आकाश पाताल जोडेर हिडूँ
तपाईं नै भन्नोस्
मेरा मान्यवर मित्र
बाँधेर अँगालोमा
यस्तो सन्ध्याकाललाई
म भात जोरेर बसूँ कि
कविता लेखूँ ?
टाउकोमा अन्नपूर्ण राखेर
सदैव अभावहरुको
पिठ्यूँमा कञ्चनजङ्गा बोकेर
सदैव सङ्कटहरुको
खै कति दिन लड्न सकिन्छ
लडाइ
महँगीको माछापुच्छ«ेलाई
काँधमा उठाएर
यो जिन्दगीको ?
मलाई जीवन भनेको
निरन्तर बगिरहनु हो भनेर पनि
बिन्ती नगिज्याउनुहोस्
मलाई जीवन भनेको
अझै सक्नुहुन्छ भने तपाईं
मलाई फोकल्यान्डको
विभीषिका पनि नसुनाउनुहोस्
खाटा बसेको घाउलाई कोट्याएर
भियतनाम र अफगानिस्तानको
नरसंहार पनि नसुनाउनुहोस्
मलाई त जीवन भनेको
फलाम हो
यसलाई निरन्तर
चपाउनुपर्छ भन्ने थाहा छ
मलाई त जीवन भनेको
यसलाई पसीनाले निरन्तर
सिँच्नुपर्छ भन्ने थाहा छ
कहाँको उपमा र अलङ्कारहरुले
सजाऊँ म यस जिन्दगीलाई
फाटेको कोट र
टालेको सुरुवाल लाएर
खै कति दिन
आकाश पाताल जोडेर हिडूँ
तपाईं नै भन्नोस्
मेरा मान्यवर मित्र
बाँधेर अँगालोमा
यस्तो सन्ध्याकाललाई
म भात जोरेर बसूँ कि
कविता लेखूँ ?

तपाईको प्रतिक्रिया

Loading…