पुस ७ देखि ताप्लेजुङमा प्रथम मेयर कप भलिबल प्रतियोगिता हुने

ताप्लेजुङ / आगामी पुस ७ गतेदेखि ताप्लेजुङमा प्रथम मेयर कप भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । फुङलिङ नगरपालिकाको आयोजनामा पुस ७ देखि १५ गते सम्म उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो । संस्कृति र परम्परालाई खेलकुद क्षेत्र संग जोड्ने नगरपालिकाको अभियान अनुसार चासोक तङ्नामको अवसरमा शुभारम्भ गरि तमू ल्होसारमा समापन हुने गरि प्रतियोगिता सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ । खेल प्रतियोगिताबारे आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको हो ।

नगरपालिकाका वडा स्तरिय टिमहरु मात्रै सहभागी हुन पाउने उक्त प्रतियोगिताको बिजेताले नगद ७५ हजार रुपैँया सहित रनिङकप, मेडल र प्रमाणपत्र पाउने छ भने उप–बिजेता नगद ५० हजार सहित कप, मेडल र प्रमाणपत्र पाउने जनाईएको छ । यस्तै तृतिय हुनेले नगद २५ हजार रुपैँया सहित मेडल र प्रमाणपत्र पाउने छ । यस्तै वेस्ट प्लेयरलाई समेत नगद ५ हजारका दरले पुरस्कृत गरिने खेल आयोजकका संयोजक पदम शुन्दर पालुङ्वाले जानकारी दिनुभयो ।

यो वर्ष भलिबल प्रतियोगिता मात्रै हुने र आगामी वर्षदेखि अन्य खेलकुदलाई समेत समावेश गर्ने योजना रहेको नगर प्रमुख छत्रपति प्याकुरेलले जानकारी दिनुभएको छ । प्रतियोगिता सदरमुकाममा नै सञ्चालन हुने भए पनि खेलमैदानको भने टुंगो लगाईनसकिएको बताईएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया