प्रदेश १ लाई आईकेयर टुरिजमका रुपमा विकास गरिन्छ : मुख्य मन्त्री

विराटनगर / प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशलाई आईकेयर टुरिजमका रुपमा विकास गरेर लगिने बताएका छन् । विराटनगरमा बुधबार आयोजित विद्यार्थी तथा बालबालिकामा हुने दृष्टिदोष निवारण कार्यक्रमको उद्धघाटन गर्दै राईले आँखाको उपचारका लागि सर्वसाधारण बिरामीले अन्यत्र जान नपर्ने बताए । उनले प्रदेशलाई आईकेयर टुरिजमका रुपमा विकास गर्न प्रदेश सरकारले पनि सहयोग गर्ने बताए । त्यसका लागि सरकारले अध्ययन थाल्ने जानकारी उनले दिए ।

‘विराटनगरमा प्रत्येक वर्ष आँखा उपचारका लागि छिमेकी राष्ट्र भारतबाट लाखौं बिरामी आउने गरेका छन्,’ उनले भने, ‘ त्यही भएर पनि सिंगो प्रदेशलाई नै आईकेयर टुरिजमका रुपमा विकास गर्न सकिन्छ ।’ आँखाको उपचारका लागि प्रदेशमै अब्बल रहेको विराटनगरसंगै प्रदेशलाई आईकेयर टुरिजमका रुपमा अघि बढाउन सकिने प्रचुर सम्भावना रहेको राईको भनाइ छ ।

नेपाल नेत्र ज्योति संघ र अरविस अन्र्तराष्ट्रिय संस्थाद्वारा सुरु गरिएको दृष्टिदोष निवारण कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका तथा सुनसरीका विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरिने बताइएको छ । कार्यक्रम अन्र्तगत दुई लाख ८० हजार विद्यार्थीको निःशुल्क आँखा जाँच गरिने छ । आवश्यकता परे विद्यार्थीलाई औषधि र छ हजार रुपैयाँ सम्मको चश्मा निःशुल्क वितरण गरिने बताइएको छ ।

प्रदेश नम्बर एकको विराटनगर पछिल्लोसमय आँखाको समस्या उपचारको केन्द्र बन्दै गएको छ । आँखाको उपचारका लागि विराटनगरमा प्रदेश एकसंगै भारतको विभिन्न क्षेत्रबाट बिरामीहरु आउने क्रम बढ्दो रहेको छ । हाल विराटनगरमा चारवटा आँखा अस्पताल सञ्चालनमा रहेका छन्, भने एउटा आँखा अस्पताल निर्माणाधीन अवस्थामा रहेको छ । अहिले विराटनगरमा रामलाल गोल्छा, तापडिया, विराटनगर र विराट आँखा अस्पताल संचालनमा रहेका छन् । ग्लोबल आँखा अस्पताल निर्माणाधीन अवस्थामा छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया