हस्तक्षेप र व्यक्तिगत स्वार्थले विद्यालय धाराशायी

विराटनगर / विराटनगरको इज्जत र प्रतिष्ठासंग जोडेर हेरिंदै आएको विराटनगर महानगरपालिका २ मा रहेको जनता नमूना उच्च माध्यमिक विद्यालय हस्तक्षेप र व्यक्तिगत स्वार्थका कारण धाराशायी बनेको छ । यसको मुख्य कारण राजनैतिक हस्तक्षेप र आन्तरिक किचलो हो । यही कारण यो विद्यालय अन्य विद्यालयमा गाभ्नु पर्ने स्थिती आएको छ । आफू अनुकूल चलाउन खोज्नेहरुको झुन्डको सिकार बनिरहेको यो सामुदायिक विद्यालयको शैक्षिक वातावरण धुमलिंदै गएको छ । २०३५ सालमा पूर्वाञ्चलकै सर्वोत्कृष्ट नतिजा ल्याएर नमूना घोषित विद्यालय अहिले नाम मात्रको छ । विद्यालयमा बढ्दै गएको अशैक्षिक वातावरणका कारण विद्यार्थी संख्या पनि दिनप्रतिदिन घट्दै गएको छ ।

विद्यालयमा गुणस्तरिय पढाई हुन छाडेपछि अभिभावकहरु आफ्ना छोरा छोरीको पठन पाठनका लागि विकल्प खोजीमा लागेका छन् । यहाँ अहिले कक्षा १२ सम्म पढाई हुने विद्यालयमा एक सय ५० जना मात्रै विद्यार्थी छन् । विद्यालयका पूर्व कर्मचारी विजय सापकोटाका अनुसार राम्रो पठन पाठन हुँदा पूर्वकै उत्कृष्टमा परेको यो विद्यालयमा एक शैक्षिक सत्रमा एक हजार पाँच सय सम्म विद्यार्थी हुन्थे । तर अहिले यही विद्यालयको कक्षा ११ पूरै खाली छ । कक्षा १२ चार जना मात्रै विद्यार्थी छन् । शिक्षक २० र कर्मचारी सात जना छन् । एसईई दिएर उत्तीर्ण भएकाहरुको रोजाईमा पनि नपर्दा ११ मा एक जना पनि विद्यार्थी छैनन् । कक्षा ११ र १२ मा विज्ञान र शिक्षा शंकायमा पठन पाठन हुन्छ ।

२०५३ सालबाट यस विद्यालयले उच्च शिक्षाको अनुमति प्राप्त गरेको हो । सामुदायिकतर्फ कक्षा ११ मा अत्याधुनिक प्रयोगशाला सहितको विज्ञान कक्षा संचालनका लागि अनुमति पाउने जनता नमूना पूर्वकै पहिलो सरकारी विद्यालय हो । सरकारी विद्यालय मध्ये उत्कृष्ट पठन पाठन हुने गरेकै कारण २०६० सालबाट यहाँ सरकारले आवास सहितको सुस्त श्रवण श्रोत कक्षा समेत संचालन गरेको थियो । अहिले यस कार्यक्रमको अवस्था पनि दयनिय छ ।

२००९ सालमा स्थापना भएको विद्यालयका पूर्व कर्मचारी विजय सापकोटाका अनुसार विद्यार्थी संख्या २०६८ सालदेखि निरन्तर रुपमा ओरालो लाग्दो छ । ‘विज्ञान विषय पढाई हुने सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण हुनु पर्ने हो,’ उनले भने, ‘तर ठिक विपरित दिनप्रतिदिन विद्यार्थी संख्या घट्दो छ ।’ सापकोटाले यही हिसावले विद्यार्थी संख्या घट्दै जाने हो भने विद्यालय अर्को ठाउँमा गाभ्नु पर्ने स्थिती आउने बताए ।

अभिभावकहरुले आफ्ना छोरा छोरीलाई त्यहाँबाट निकालेर अन्य विद्यालयमा लगेर भर्ना गरिदिन थालेको उनको भनाइ छ । सापकोटाका अनुसार विद्यालय अचाक्ली राजनीति र आन्तरिक खिचातानीको सिकार बन्न पुग्दा शैक्षिक वातावरण नै धुमलिएको छ । उनले शैक्षिक वातावरण राम्रो हुँदा आठ वर्ष अघि विज्ञान र शिक्षा शंकाय गरेर कक्षा ११ मा एक सय ५० जना सम्म विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए ।

सापकोटाले राजनैतिक दलले आफू अनुकूल संचालन गर्न खोज्दा र राजनैतिक पहुँचका भरमा शिक्षक थोपर्ने गर्दा र आन्तरिक खिचातानी तथा किचलो बढ्दा विद्यालय त्यसको चपेटामा परेको बताए । उनका अनुसार विद्यालयमा कार्यरत शिक्षकहरु पठन पाठन भन्दा पनि बढी राजनीति र बाहिरी गतिविधीमा सक्रिय छन् । ‘राजनैतिक दलले सत्ता र शक्तिको दुरुपयोग गर्दै आफू अनुकूलका शिक्षकहरु ल्याएर थोपर्ने काम गरे । ती शिक्षकहरु विद्यालयमा पढाउने भन्दा पनि बाहिरी गतिविधीमा बढी सक्रिय रहे,’ उनले भने, ‘यो विद्यालयको यस्तो बेहालत बन्नुको मुख्य कारण शिक्षकको बेवास्था र राजनैतिक हस्तक्षेप नै हो । यसलाई सुधार गरेर लैजान सकिएन भने पूर्वकै नमुना भनेर चिनिएको विद्यालय अन्यत्र गाभ्नु पर्ने स्थिती आउन सक्छ ।’

दुई वर्षदेखि विद्यालयमा व्यवस्थापन समिति गठन हुन सकेको छैन । नयाँ विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा भौतिक संरचना विस्तार, शैक्षिक अवस्थाको निगरानीदेखि लिएर अन्य काममा समेत बाधा उत्पन्न भइरहेको एक शिक्षकले बताए । गत असारमा दुई पुरुष र दुई महिला गरेर अभिभावकबाट चार जना सदस्य नयाँ व्यवस्थापन समितिका लागि चुनिएका थिए । विद्यालयका प्रअ समितिको सदस्य सचिव र वडा अध्यक्ष पदेन सदस्य हुने व्यवस्था छ । शिक्षक प्रतिनिधी, वडा अध्यक्ष, प्रअ तथा असारमा चुनिएका चार समेत गरेर सात सदस्यीय समिति बनेको छ । नौ सदस्यीय व्यवस्थापन समितिमा दुई जना मनोनित गर्न बाँकी छ । नयाँ शिक्षा नियमावली अनुसार बुद्धिजिवी र शिक्षाप्रेमीबाट गर्नु पर्ने बाँकी एक÷एक जना मनोनितका सवालमा तनाव उत्पन्न हुँदा व्यवस्थापन समिति पूर्ण बन्न सकेको छैन ।

स्रोतका अनुसार विद्यालयलाई यो स्थितीमा पु¥याउने काम विद्यालयका प्रधानाध्यापक विजयकुमार रौनियारले गरेका हुन् । उनी २०६८ सालदेखि यो विद्यालयमा कार्यरत छन् । स्नातकोत्तर उत्तीर्णलाई मात्रै प्रअको जिम्मेवारी दिनु पर्नेमा तत्कालिन जिल्ला शिक्षा कार्यालयले स्नातक मात्रै उत्तीर्ण रहेका रौनियारलाई प्रअको जिम्मेवारी सुम्पिएको थियो । रौनियारले विद्यालयको नेत्रृत्व लिएदेखि अवस्था खस्कँदै गएको स्थानीय बुद्धिजिवीहरुको बुझाई छ ।

व्यवस्थापन समितिलाई पूर्णता दिनका लागि भनेर गत शुक्रबार बसेको बैठकमा समेत शिक्षक प्रतिनिधी शिलाराज नेपालीले अभिभावक प्रतिनिधी ममता कर्णमाथि हातपात गरेपछि बैठक स्थगित भएको थियो । यस घटनाको साक्षी विराटनगर २ का वडा अध्यक्ष कुमार पोखरेल पनि हुन् । उनका अनुसार निर्णय लेख्ने बेलामा विवाद भएर शिक्षक प्रतिनिधीले अभिभावक प्रतिनिधीमाथि हातपात गरेपछि समिति गठनले पूर्णता पाउन सकेन ।

विवाद भएपछि प्रअ रौनियारले निर्णय पुस्तिका दराजमा राखेको र नेपालीले दराजको चावी बोकेर हिंडेपछि बैठकले नयाँ सदस्य मनोनित गरेर व्यवस्थापन समितिलाई पूर्णता दिन नसकेकेको पोखरेलले बताए । उनका अनुसार विद्यालयमा शिक्षाप्रेमीका तर्फबाट सुरेश बस्नेत र बुद्धिजीविका तर्फबाट सुमा कार्कीलाई मनोनयन गर्ने तयारीको विरोधमा प्रअ रौनियार र शिक्षक प्रतिनिधी नेपाली उत्रिएपछि तनाव भएको हो । चार जना अभिभावक प्रतिनिधी र वडा अध्यक्ष पोखरेल बस्नेत र कार्कीको पक्षमा छन् । विद्यालयकै एक शिक्षकका अनुसार प्रअ र शिक्षक प्रतिनिधी भने मनोनित गर्ने दुई जनामा आफू अनुकूलका व्यक्ति ल्याउन चाहन्छन् । रौनियार बस्नेतलाई हटाएर आदर्श स्कुलका पूर्व प्रधानाध्यापक तथा गुरुकुल माविका प्रधानाध्यापक दुर्गा चूडाललाई मनोनित गर्नु पर्ने पक्षमा छन् ।

रौनियारले विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको दवावका कारण चूडाललाई मनोनित गर्नु पर्ने स्थितीमा आफू रहेको स्वीकार गरे । व्यवस्थापन समितिमा बस्नेतलाई रोक्न र चूडाललाई ल्याउन मेयर पराजुलीले लामो समयदेखि लविङ गरिरहेको स्रोतको भनाइ छ । उनकै दवावका कारण विद्यालय लामो समयदेखि व्यवस्थापन समिति विहीन बन्न पुगेको एक शिक्षकको भनाइ छ ।

प्रअ रौनियारले व्यवस्थापन समिति चयनमा आफूमाथि परिरहेको दवाव र लामो समयदेखिको राजनैतिक हस्तक्षेपको सिकार विद्यालय बनिरहेको बताए । राजनैतिक हस्तक्षेप र आन्तरिक किचलोका कारण विद्यालय लामो समयदेखि समस्याको भूमरीमा फसिरहेको उनको भनाइ छ । एक शिक्षकका अनुसार विद्यालयमा प्रधानाध्यापक तथा अन्य केही शिक्षकहरुको लापरवाही र मनपरी छ । उनीहरु नियमित विद्यालय नआउने, पढाउन नजाने तथा बाहिरी गतिविधीमा बढी सक्रिय रहने तथा विद्यालयमा आउने योजना पनि उनीहरुकै मिलेमतोमा संचालन गर्ने गरिएको बताइएको छ ।

वडा अध्यक्ष पोखरेलले भने विद्यालयका प्रअ र शिक्षक प्रतिनिधीका कारण विद्यालय अनिर्णयको बन्दी हुनु परिरहेको बताए । ‘म निर्वाचित भएददेखि नै विद्यालय सुधार गरौं भनेर लागिरहेको छु,’ उनले भने, ‘सबै सहयोग गर्छु भन्दा पनि सहयोग भइरहेको छैन ।’ अन्य विद्यालयमा गाभिनु पर्ने स्थितीको विद्यालयलाई स्तरोन्नती गर्न खोज्दा निरन्तर अवरोध भइरहेको उनको भनाइ छ । सबैतिरबाट अनुमोदित भएर आएका नामलाई प्रअ समेतको टोलीले स्वीकार नगर्दा विद्यालय व्यवस्थापन समिति गठनले पूर्णता पाउन नसकेको पोखरेलको गुनासो छ ।
यता वडा अध्यक्ष पोखरेललाई सम्बोधन गरेर विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीले विद्यालयलाई सुधार गर्न र पठन पाठनका लागि उपयुक्त वातावरण बनाइदिन माग गरेका छन् । नियमित पढाई नहुने गरेका कारण आफूहरु समस्यामा परिरहेको गुनासो अध्ययनरत बालबालिकाले पत्रमार्फत गरेका छन् । यो राजनीतिक नेताहरु डा. मिनेन्द्र रिजाल, अशोक राई तथा सरकारी उच्च ओहोदामा पुगेकाहरुले अध्ययन गरेको विद्यालय हो ।

तपाईको प्रतिक्रिया