पैसा फेको राजनीति देखो !

– धीरज भट्टराई


तराई–मधेसमा एउटा उखान निकै लोकप्रिय छ – पैसा फेको तमासा देखो । मैले सानैदेखि सामाजिक रूपमा सुन्दै आएको यो उखानको रूपान्तरित स्वरूपले हिजोआज नेपाली राजनीतिलाई यसरी गाँजेको अनुभव हुन थालेको छ, जसरी आगन्तुक माइकेनिया मिक्रान्था झारले ढाकेर जङ्गलका रुखहरूको मूल स्वरूप नै विरुप पारिदिएको छ । भित्र सखुवाको रुख घामको सम्पर्कबाट विमुख भएर जीवन–मरणको सङ्घर्षमा हुन्छ तर मान्छेले देख्दा आवरणमा फैलिएको मिक्रान्था झार देख्छ, त्यसैलाई रुखको मूल स्वरूप होला भन्ने ठान्छ । वनस्पति–शास्त्रका विद्यार्थी र केही वातावरणप्रेमीलाई यो कुरा बिझाउला तर आम–मानिसलाई यस्ता कुराको हिसाब–किताब गरेर बसिरहने समय हुँदैन । बाहिरबाट जे देखिन्छ, त्यसैको निकटता र दूरीका बिचबाट आम–मानिसले आफ्नो दैनिक व्यवहार अगाडि बढाइरहेको हुन्छ ।

जङ्गलको यो उदाहरण नेपाली राजनीतिमा निकै सन्निकट लाग्छ । सबैजसो राजनीतिक दलहरूले आफ्नो सैद्धान्तिक गन्तव्य समाजवाद हो भनेका छन् । राजनीतिक कर्मलाई जनसेवा बताएर त्यसका लागि आफूहरू समर्पित भएर लागिपरेको उल्लेख गरेका छन् । तर, व्यवहारमा सिद्धान्त होइन पैसा बोलिरहेको हुन्छ । पैसा छ राजनीति छ, पैसा छैन राजनीति पनि छैन भने जस्तो भ्रमित वातावरण बनाइएको छ । बहुमत मानिसहरू त्यसैको अगाडि–पछाडि रमिते बनेका देखिन्छन् । ‘पैसा फेको राजनीति देखो,’ भन्ने छिमेकी बिहारतिरको फिल्मी राजनीतिक शैलीले नेपाली समाज र राजनीतिलाई पनि छोप्दै लान थालेको छ ।
राजनीति गर्ने हो भने तँसँग कति पैसा छ रु मलाई मन नपरे पनि मैले पटक–पटक सुनिरहनुपर्ने प्रश्न हो यो । साथीभाइले सोध्छन्, घर–परिवारले सोध्छन् । छँदाखाँदाको अस्ट्रेलिया बसाइ छोडेर नेपालमा समाजसेवा गर्छु, राजनीति गर्छु भनेर लागिपरेको मैले सुरुसुरुमा यो प्रश्नलाई खासै महत्त्व दिएको थिइनँ । जननायक विपि कोइरालाले अँगालेको सैद्धान्तिक राजनीतिक मार्गमा हिँड्न अभिप्रेरित म जस्ता युवाका लागि यो खासै अल्झिरहनुपर्ने प्रश्न पनि होइन । तर, रहँदै बस्दै जाँदा आधा दशकको अवधिमा मैले आफ्नो समाज, सेरोफेरोमा जस्तो अनुभव गरेँ, त्यसले आज स्वयम् मेरो मनमा समानान्तर यी प्रश्नहरू उब्जेका छन् ।
– तँ साँच्चिकै राजनीति गर्ने हो ? पैसा छ ? कहाँबाट आउँछ पैसा ?

प्रारम्भमा राजनीति गर्न पैसा किन चाहियो भन्ने लागे पनि अहिले म राजनीतिमा अर्थको आर्थिक गहिराइ बुझ्दै छु । प्रकारान्तरले टिकट बिक्री हुन्छ, किन्नै प¥यो । राजनीति गर्न समूह, साथीभाइ नभइ हुन्न । साथीभाइ नखाई, नपिई एकरत्ति चल्दैनन् भने पनि हुन्छ । खुवाउनै प¥यो, पैसा जोरजाम गर्नै प¥यो । घरबाट राजनीतिले पेट भरिँदैन, आर्थिक उपार्जनको काम नगरी हुन्न भन्ने उर्दी जारी हुन्छ । घरको दबाब र आवश्यकतालाई पनि मनन गर्नै प¥यो । भन्नुहोला घर–परिवार र यस्ता झिना–मसिना प्रश्नमा अल्झिनेले के राजनीति गर्नु रु चाहे जेलनेल होस्, चाहे सर्वस्व हरण होस्, राजनीति गर्न चाहने मान्छे अडिग रहनुपर्छ । सानोतिनो झरीले रुझ्दैमा स्नोफिलिया बढेर सिकिस्त हुनुहुँदैन । तपाईको तर्क पनि आफ्नो ठाउँमा ठिक छ । तर, म व्यवहारिक कुरा गर्दै छु । जब कसैले आर्थिक उपार्जनका लागि श्रम गर्ने समय जनताका लागि खर्च गरेर समाजसेवा र राजनीतिका नाममा घरबारी डुबाउने स्थिति हुन्छ भने जब उसले पद पाउँछ, त्यो बेला उसले घरबारी उकास्न पाउने कि नपाउने रु सम्भवतः आफू युवा हँुदा डुबाएको पैसा र समयको लगानी उकास्दा–उकास्दै ६० काटे नेपालका धेरै नेताहरूले, त्यसैले नयाँ–पुस्तालाई सत्ता हस्तान्तरण भएन ।

राजनीतिक परिपाटीमा अपेक्षित सुधार देख्न नपाउनुको पछाडि पनि पैसा असुलीको खेल नै मुख्य जिम्मेबार भएको प्रष्टै छ । सँगसँगै अहिले परिदृश्यमा राजनीतिक मैदानमा देखिएका अगुवा खेलाडीले जानजानी राजनीतिमा महँगो बोली लगाइरहेका छन् । राजनीतिक खेललाई गल्फ भन्दा पनि महँगो खेल बनाइरहेका छन् । यसको कारण हो राजनीति जति महँगो भयो, त्यति नै यो क्षेत्रमा आउन चाहने युवाहरू हतोत्साही हुन्छन् । थोरै मात्र शासनको समकालीनतामा पुग्छन् र मिलेर भागबन्डा गर्न, सबैलाई भाग पु¥याउन सजिलो हुन्छ । सबैलाई थाहा भएकै कुरा हो कि राजनीतिक निष्ठा र सिद्धान्तका नाममा लडाइँ हुने भुइँ तहका कार्यकर्तामा मात्र हो । माथि त खाने–पाउने, अगुवाहरूका लागि सुविधा बढाउने कुरामा जुनसुकै पार्टीको भए पनि चोचोमोचो मिलेकै हुन्छ ।

नेपाली काङ्ग्रेसले आफ्नो विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घमा एकाएक ३२ बर्से हदबन्दी लगाइदियो र बिदा गरिदियो राजनीतिमा ४० कटेसी रमाउला भन्ने धेरै सपनाहरू । यो सही, गलत के भयो समय अन्तर र अभ्यास क्रममा छलफल गर्दै जाउँला तर एउटा कुरा स्पष्ट छ, अब ३२ काटेकाहरूले माउ–पार्टीमा आफ्नो अस्तित्वको खोजी गर्नै पर्नेछ । यसबिच पार्टी नेतृत्वमा ७० वर्षको हदबन्दी लगाउने हो भने ०४६ सालका ब्याचीहरू नेतृत्वमा आउने तगारो खुल्छ । यो अवस्थाले पनि अहिलेका युवालाई केही आशावादी त बनाउन सक्ला तर समकालीन युवा चाहनाको सम्बोधन भने पुग्दैन । ०६१–६२ को आन्दोलनले जन्माएका बहुमत युवा राजनीतिकर्मीहरूको कचकच बाँकी नै रहन्छ । काङ्ग्रेस मात्र होइन सबैजसो पार्टी–नेतृत्व यथास्थितिमा आफूलाई सुरक्षित अनुभव गरिरहेको छ । यस्तोमा हरेक युवाको राजनीतिक यात्रा र समय अन्तर लम्बिनु, त्यो लम्बाइसँगै राजनीति महँगो हुनु अस्वभाविक होइन । यसकारण बुढाहरूको शासन ९जिरेटोक्रेसी०को मोहजाल च्यातेर सैद्धान्तिक राजनीतिको उज्यालो फैलाउनु आज हरेक युवाका निम्ति मुख्य चुनौतीको विषय भएको छ । किन छ नेपालमा पद र कुर्सीको यत्रो मोह रु पार्टी भित्र होस् या शासनमा कोही चाँहदैन सेवा–निवृत्त ९रिटायर्ड० हुन, किन रु यो सतह र बहसमा आउनुपर्ने निकै गम्भीर प्रश्न हो । सबै राजनीति गर्दागर्दै मर्न तयार छन् । यसका पछाडि अनेकौँ कारण हुन सक्छन्, त्यसमध्येको प्रमुख कारण आर्थिक नै हो ।

शासन, शक्ति र सत्ता मानव जातिलाई इतिहासदेखि नै प्यारो रहँदै आएको छ । यी सबै राजनीतिबाट आर्जित हुने कुरा हुन् । राजनीति सबै नीतिहरूको मूल मानिन्छ । तर, नेपाली राजनीतिक मूलमा पैसाको धमिलो धमाधम मिसाइँदै छ । राजनीतिलाई महँगो बनाइएसँगै त्यहाँबाट आउनुपर्ने सङ्गलो पानीको जनअपेक्षा कम हुन थालेको छ । नेपालमा राजनीतिलाई प्यासनको रूपमा भन्दा पनि प्रोफेसनको रूपमा प्रस्तुत गरिएकाले अहिलेको बेथिति, विकृति हामीले बेहोर्नुपरेको हो । राजनीति अन्य पेसा–व्यवसायसरह हुनुहँुदैनथ्यो तर भयो । बनाइयो । विपि कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारीले जुन उमेरमा यो देशलाई नेतृत्व प्रदान गरे ती उमेरका अधिकांश युवा हाल आफ्नो पार्टीको गाउँ–नगर या जिल्ला तहमा आउन सङ्घर्ष गरिरहेका छन् । उनीहरूको बाटोको तगारो भन्नु नै पैसाको अभाव हुनु हो । यस्तोमा निराशाजनक अनुभूति बोकेर धेरै युवाहरू पैसा कमाउन विदेश पुगेका छन् । केहीले राजनीतिक भविष्यको सपना बोकेर अन्य पेसा–व्यवसाय, ठेक्का–पट्टाको कारोबार अँगालेका छन् । धेरै युवाका मन र आँखामा राजनीति छ तर व्यवहारमा चाहिँ राजनीतिका लागि, जनताको कामका लागि भन्दा पनि आय आर्जनको कामका लागि समय दिनुपर्ने बाध्यता छ । कोही विदेशमा श्रम गर्न, बल, बुद्धि र समय बेच्न बाध्य बनाइएका छन् ।

मलाई अस्ट्रेलियाको आठ बर्से बसाइ छोडेर नेपाल किन आएको भनी प्रश्न गर्नेहरू धेरै छन् । उनीहरूलाई म व्यक्तिपिच्छे बेग्ला–बेग्लै उत्तर दिन्छु, किनभने यो प्रश्नको कुनै एक उत्तर मसँग छैन । प्रश्नको अन्तर्यमा अलिअलि व्यङ्ग्य पनि छ, अलिअलि सहानुभूति पनि । शुभेच्छुक प्रश्नकर्ताहरूको मनमा अझै देश र समाजको माया लाग्ने युवाहरू नेपालमा छन्, उनीहरूमा आफ्नो ठाउँको भविष्यको चिन्ता र लगानी गर्ने समय छ भन्ने विश्वास छैन । त्यसैले म जस्ता युवालाई उनीहरू हामीलाई लोपोन्मुख प्रजातिको श्रेणीमा राखिदिन्छन् । तर यी सब कुराका पछाडि युवा फस्नुहुँदैन भन्नेमा हामी सचेत हुनुपर्छ । मैले आफ्नौ पुख्र्यौली सम्पत्तिबाट जसोतसो आफ्नो भागको पैसा प्राप्त गरुँला र त्यसले अहिलेको महँगो राजनीतिमा कुम जोर्न साथ पनि देला । तर, यो हामीभन्दा एक–दुई पुस्ता अगाडिका राजनीतिकर्मीहरूले गरेको राजनीतिक भुलको निरन्तरताबाहेक केही हुन्न । आस्थासँग जोडिएको जनअपेक्षामा तुषारोपात अझ थपिन्छ । पैसा र पावरको पुरानो राजनीतिक भुमरीमा पारेर नैतिक राजनीतिको हत्या गर्ने सिलसिला यथावत् नै रहन्छ । समाजमा निष्ठाको राजनीति र युवाको भविष्य थप अन्योलमा पर्छ ।

राजनीतिमा बाहुबल र पैसाको भाइरस संस्थागत हुनुको दोष नेताको मात्र छैन, अनुयायी जनताको पनि छ । हालै सम्पन्न दुवै चरणको निर्वाचनमा नेतालाई भोट बेच्न तयार जनता थुप्रै थिए । उनीहरूमा नेतालाई भोट बेच्न सक्ने तागत हामीमा छ भन्ने चेतना राम्रैसँग भएको पनि देखियो । उनीहरूले पैसा, आफ्नो वा छोराछोरीको जागिर, बाटो वा विभिन्न संस्थाका नाममा भोटको किनबेच राम्रैसँग गरे । कति त आश्वासनका भरमा भोट बेच्न लालायित पनि देखिए । यो र यस्तै परिदृश्यले हो राजनीतिलाई महँगो बनाएको, नेताहरूलाई व्यापारी बनाएको । जनताले किनबेचका लागि प्रेरित गरेपछि नेताले पदमा पुगेर लगानी असुल गर्नु कुनै आश्चर्यको कुरा होइन ।

सारमा राजनीति गर्न जबसम्म पैसा प्रमुख साधन मानिनेछ, तबसम्म नेपालमा राजनीतक परिवर्तन सम्भव छैन । सचेत युवाले यसमा क्रम–भङ्ग गर्न समय, विवेक र शक्ति लगानी गर्नैपर्छ ।

तपाईको प्रतिक्रिया