कमाउन गएको २६ वर्षको लक्का जवान छोरो १० महिनामा बाकसमा आउँदा

सानो, त्यो पनि बाँसको टाटीले बेरेर माटोको लिउनले भित्र बाहिर नदेखिने गरी मुस्किलले घामपानी र जाडो छल्ने गरी बनाएको दुई कोठे एउटा झुप्रो घर त्रियुगा नगरपालिका–५ श्रीपुरको जंगल नजिक देखिन्छ ।

त्यही घरभित्रबाट ‘मेरो बाबा आउँछ’ भन्ने तोते आवाज सुनिन्छ, बाहिर दलानमा कहिले नाबालककी आमा त कहिले हजुर आमा मुर्छा पर्दै बिउँझन्छन् । कमाउन गएको छोरो १० महिनामा बाकसमा आउँदा कसको मनले थेग्ला? सबैका आशाका केन्द्रबिन्दु ढलेपछि यतिबेला श्रीपुरका सार्कीबहादुर मगरको परिवार शोकमा मात्र छैन, यसपछि गुजारा कसरी चलाउने भन्ने चिन्तामा छ ।

यो खबर आजको राजधानी दैनिकमा उदयपुरबाट ईश्वर तामाङले लेखेका छन् । २६ वर्षको लक्का जवान जसले सात समुद्रपारिको भूमिमा प्रचण्ड घामको बेवास्ता गर्दै दुःख गरेर घरमा पैसा पठाउला र बाँडीचुँडी खाउला, अलिक हेर्न हुने भए पनि घर बनाउला, स्वास्थ्य उपचार गरौँला र भाइबहिनी र छोराको शिक्षामा लगानी गरौंला भन्ने सोच बनाएका मगर परिवारको त्यो कल्पना अब सपनामा मात्रै सीमित बनेको छ ।

१० महिनाअघि काठमाडौंको एक म्यानपावरबाट हेल्पर काम गर्न मलेसिया पुगेका रतन मगरको दसैँको टीकाको दिन मृत्युको खबर आएपछि परिवार यतिबेला विक्षिप्त छ । दसैंको टीकाको दिन विदेशमा बसेको छोराले फोन गर्ला भन्ने परिवारले आशा गरिरहेका थिए, त्यो स्वाभाविक पनि थियो । स्वदेशमै हुँदा त चाडबाडको बेला घरमा आउन नसक्दा फोनबाट दुःखसुखका कुरा हुन्छ । झन् विदेशमा रहेकाको नहुने कुरै भएन ।

कति बेला बुढाको फोन आउला र खुसी साटासाट गर्दै सबै कुरा गरौंला भन्ने सोचमा रतनकी २३ वर्षीया श्रीमती मीना थिइन् । त्यसो त उनी मात्र होइन, उनकी ५५ वर्षीया सासू मंगलीमाया मगरको पनि त्यही सोच थियो ।

टीकाको दिन छोरासँग कुरा गरौंला भन्ने उनको चाहना थियो । उनीसँगै परिवारका अन्य सदस्यको चाहना पनि उही थियो । तर, त्यो चाहना पूरा हुन सकेन । टीकाको समय सुरु हुँदै गर्दा मीनाको मोबाइलमा टिनिनिनी बजेको घण्टी उनीहरुका लागि बलेको दियो एक्कासि निभे जस्तो भयो । रतनको एक्कासि मृत्युको खबर आउँदा सुरुमा त पत्यार लागेन उनीहरूलाई ।

तर, नलाग्दा नलाग्दै पनि घरमा कोलाहल मच्चियो, जब पुष्टि भयो, त्यतिबेलासम्म आमा र श्रीमती मुर्छा परिसकेका थिए । आधाभन्दा बढी जीवन व्यतीत गर्न बाँकी रहेकी मीना तीन वर्षीय छोरो काखमा लिँदै भन्छिन्, ‘राम्रोसँग बुबा पनि भन्न नपाई टुहुरो हुनुप¥यो । के गर्नु, यसको भाग्यमा नै बुबा भन्ने नाता यति नै रहेछ । अब यसको पालनपोषण र शिक्षादीक्षा कसले गर्देला?’

उनी थप्छिन, ‘म त जसोतसो बाँचुँला, कहिले खाउँला, कहिले भोकै रात बिताउँला तर यो बच्चालाई कसरी जिउने बनाऊँ।’ साक्षर मात्र रहेकी मीनासँग न कुनै सिप छ, न शैक्षिक योग्यता । केवल मजदुरी गर्ने बाहेक उनीमा अरू केही उपाय छैन । साहुको ऋण काटेर सबै गरी १ लाख ७० हजार रुपैयाँ खर्च गरेर बिदेसिएको छोरो ऋण तिर्न नपाई ज्यान गुमाएपछि मगर परिवार यतिबेला संकटमा छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया