उदयपुरगढी पर्यटनको नयाँ गन्तव्य घोषित, यी हुन् एक पल्ट पुग्नै पर्ने ठाँउ (तस्विरहरू सहित)

उदयपुर / सरकारले नेपालको पर्यटकीय क्षेत्र विस्तार गर्नका लागि थप १ सय नयाँ गन्तव्यहरुको पहिचान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय ओटा नयाँ गन्तव्यहरुको सूची विहिबार सार्वजनिक गर्दै उदयपुरगढीलाई समेत समावेश गरिएको छ ।

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै सो वर्ष २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य सरकारको छ । पर्यटकहरुका लागि सिमित गन्तब्यमात्र हुँदा बसाई अवधि छोटो रहने गरेको र प्रचुर सम्भावनाका वावजुत स्थानीयस्तरमा पर्यटनको लाभ उपलब्ध हुन नसकेको अवस्था हटाउन यस्तो सूचि सार्वजनिक गरिएको हो ।

पर्यटन प्रवर्दनका लागि नयाँ गन्तब्य पहिचाहन गर्न पर्यटन मन्त्रालयले सम्भावित स्थानबारे जानकारी दिन प्रस्ताव आह्वान गरेको थियो । सोही अनुरुप प्राप्त आवेदन र अन्य विभिन्न जानकारीका आधारमा पर्यटकिय रुपमा नयाँ गन्तब्यमा उदयपुरगढी पनि परेको छ ।

पूर्वको इतिहास

उदयपुरगढी गाउँपालिका गढीका ७० वर्षीय स्थानीयवासी धनबहादुर मगरका अनुसार उदयपुरगढी एउटा पूर्वको इतिहास बोकेको स्थान भए पनि यसको विकासमा सरकारले उचित ध्यान नदिएको गुनासो गर्छन् ।

इतिहास सम्झँदै उनी भन्छन्, ‘राजा उदयसिंह नामका सेन राज्यमाथि पृथ्वीनारायण शाहले आक्रमण गरेपछि उनी अलप मात्र भएका हुन्, अहिले पनि गढी दरबारपारिको जङ्गलको डाँडामा मध्यदिनमा र रातको समयमा उदय सेनले मादल बजाउने गरेको र मादलको आवाज आउने गरेको प्रत्यक्ष सुन्न सकिन्छ, तर उदयपुर गढी हिजो जस्तो थियो, आज पनि उस्तै छ ।”

राजा उदय सेनको बारेमा जिल्लाका विभिन्न विद्वानको पनि विभिन्न धारणा रहेको पाइन्छ । प्रा.डा. सोमप्रसाद खतिवडाद्वारा लिखित उदयपुरगढीको इतिहास र पर्यटन नामक पुस्तकमा ई.सं. १३२४ तिर मिथिलाको तिरहुते राज्य पतन भएको हुनाले त्यसको केही समयपछि उदयपुर गढी स्थापना गरिएको हुन सक्ने देखिन्छ । यस्तै स्थानीय पूर्वशिक्षक इच्छाराम परियारका अनुसार सन् १७६० मा उदयपुरको चौदण्डी गढीका राजा विक्रम सेनका भाई उदय सेन उदयपुर गढीमा चौदण्डीको क्षेत्रीय प्रशासक भई आएर शासन गरेपछि आफूलाई राजा घोषणा गरेका थिए ।

उदयपुरको नाम पनि उदय सेनले नै आफ्नै नामबाट राखेको र उदयपुर गढीमा दरबार बनाएर शासन शुरु गरेको अर्का पाका बुद्धिजीवी बोधकुमार घिमिरे बताउँछन् । उनका अनुसार पृथ्वीनारायण शाहका फौजले १६ जुलाई सन् १७७३ मा उदयपुरको चौदण्डी गढीमाथि आक्रमण गरेर कब्जा जमायो र त्यसको ठीक दुई दिनपछि १८ जुलाईमा उदयपुरगढी आक्रमण गरेको थियो । पृथ्वीनारायण शाहका फौजका कमाण्डर अमरसिंह थापा, स्वरुप सिंह कार्की, अभिमान सिंह बस्नेत लगायतले उदयपुरगढीमा आक्रमण गरेपछि राजा उदय सेन आफ्नो प्यारो वस्तु मादल लिएर गढी नजिकैको जङ्गलको ओदारमा लुक्न गए र सोही स्थानमा अलप भएको गढीका जानकारको भनाइ छ ।

जानकारहरुका अनुसार राजा उदय सेन अलप भए । पृथ्वीनारायण शाहका फौजले पक्राउ गर्न र मार्न सकेन । उनीमा दैविकशक्ति भएका अलौकिक राजाको रुपमा रहेको गढीका जनताको विश्वास छ । उनी अलप भएको जङ्गलबाट अझै पनि मध्य दिनमा र रातमा उदय सेनले बजाएको मादलको मधूरो आवाज अहिले पनि गुञ्जने गरेको जन विश्वास रहिआएको गढीका कर्णबहादुर खड्काको दाबी छ ।

सदरमुकाम गाईघाट र दोश्रो व्यापारिक केन्द्र कटारी दुवै तर्फबाट नेपालटार हुँदै पुग्न सकिने गढिमाई मन्दिरको स्थापना वि.सं १९७५ मा भएको ताम्रपत्रहरुमा उल्लेख गरिएको छ । तत्कालिन पंञ्चावती गाविस– ७, चुलाढुँगाका मगर थरका स्थानीयबासीले जंगलमा ५ वटा देवीहरुको मुर्ती भेटेर पुजा आजा गर्न थालिएकोले पनि यो स्थानको नाम पञ्चावती हुन पुगेको उदयपुरगढी– ५ का ७८ वर्षीय शेषराज खतिवडा बताउँछन् ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेरले मन्दिरलाई ताम्रपत्रसहितका केही महत्वपूर्ण सामानसमेत चढाएको तर आज ती सबै हराएको स्थानीयवासी बताउँछन् ।

संरक्षणको पर्खाईमा

उदयपुरगढीमा अवस्थित पंचावती गढीमाईको पुरानो मन्दिर संरक्षण र उचित रेखदेखको अभावमा मन्दिरका महत्वपूर्ण देवीका मूर्तिलगायत ताम्रपत्र तथा धातुका वस्तु चोरी हुँदै आएका छन् । पौराणिक महत्व बोकेका सम्पदाहरु भग्नावेश अवस्थामा हुनु तथा संरक्षण गर्न नसक्दा ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् ।

मन्दिरका महत्वपूर्ण पाँच मूर्ति यसअघि नै चोरी भइसकेको र ताम्रपत्रसहितका अन्य धातुका सामान समेत उचित संरक्षणको अभावमा चोरी भएको स्थानीयवासी सिएम गुरागाइँले बताए । उनले भने– ‘उदयपुरगढी पर्यटन विकासको नयाँ गन्तव्यको रुपमा सरकारले छनौट गरेको प्रति उदयपुरगढीबासी हर्षित छ र सरकारले ढिलै भएपनि उदयपुरगढीलाई पर्यटकिय गन्तव्यको रुपमा घोषणा गरेकोले सन् २०२० लाई नेपाल भ्रमण वर्षलाई पूर्णरुपले सहयोग हुनेछ ।’

मन्दिर संरक्षणका अभावमा यस्ता महत्वपूर्ण वस्तु हराएको र अझै पनि मन्दिर पुनःनिर्माण र संरक्षणमा सम्बन्धित निकायले उचित ध्यान नदिएको उदयपुरगढी–४ का होमबहादुर मगरको भनाई छ । उदयपुरगढीलाई १ नं प्रदशेकै ऐतिहासिक पर्यटन स्थलका रुपमा विकास गर्न सकिने सम्भावना भए पनि उचित ध्यान पुग्न सकेको छैन । वर्तमान सरकारले यसको महत्व बुझी उचित ध्यान दिएमा गढीका जनता राज्यका लागि उपयुक्त अवसर पनि मिल्ने थियो ।

गढीमा उदय सेनको कुलदेवीको रुपमा रहेको पञ्चावती देवीको मन्दिर पनि जीर्ण छ । गढी क्षेत्रमा पर्यटन विकासको लागि पनि उदय सेनको दरबार परिसरलाई पुरातात्विक विभागले संरक्षणमा खासै चासो नदिएको स्थानीयबासीको गुनासो छ ।

उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर भने–‘ढिलै भएपनि सरकारले उदयपुरगढी दरबारलाई पर्यटनको नयाँ गन्तव्य घोषण गरेको प्रति हामी गढीबासी सवै हर्षित छौं । तर, सर्वप्रथम यहाँ खानेपानी, वत्तीको अभावले पर्यटक राख्न समस्या पर्न सक्ने भएकोले गाउँपालिकाले यस्ता समस्या समाधान छ ।’

अध्यक्ष मगर भन्छन्,‘यो गढी क्षेत्र उदयपुरको मात्र हैन प्रदेश नं १ र नेपालको नै ऐतिहासिक महत्व बोकेको स्थान हो । यसको पर्यटन विकासमा प्रदेश र केन्द्र सरकार नै लाग्नुपर्ने हुन्छ ।’ मन्दिरका हराएको सामानको खोजी गर्ने, मन्दिरको भवन अझै पुनःमर्मत गरेर बलियो र सुन्दर बनाउने, मन्दिर संरक्षणका लागि रेखदेख गर्ने मानिस राख्ने र पुजारीको समेत व्यवस्थापन गरिने अध्यक्ष मगर बताउँछन ।

गढीको मुख्य आकर्षण

उदयपुरगढीको मुख्य आकर्षण भनेको गढी मन्दिर, पंचावती माई मन्दिर, केउरीनी मन्दिर, चुला ढुंगा शिवपार्वती हेर्न लायक रमणिय स्थान हो । पुरानो गढीको भग्नावशेष, टुडिखेलको गणेश थान, संसारी माईथान, गढीकै पूरानो बरपिपलको बोट, ऐतिहासिक पोखरीको वर्षौ पुरानो इतिहास रहेको छ । यस्तै घयाम्पा थुम्काको सिद्धथान मन्दिर, बज्ने ढुंगा मन्दिर, हाडेटार शिवजी गुफा, केउरेनी महादेव मन्दिर हेर्न लायक रमणिय ठाउँ रहेको छ ।

ब्रह्मचारीधारा, जोगीधारा, उदयपुरगढी संग्राहलयले प्रयटकलाई थप आकर्षित गर्ने छ । भारतबाट समेत देखिने र पूर्वाञ्चलको धेरै स्थानवाट देखिने गढीको डाँडामा रहेको यो मन्दिरवाट उत्तरमा सगरमाथाको रेन्जमा रहेका हिमशृङ्खला, दक्षिणमा चुरे शृङ्खलाको साथै तराईको समथर जमिन समेत देख्न सकिने भएकाले पनि पर्यटकिय सम्भावना प्रसस्तै रहेको छ । यहाँबाट बाराको ताप्ली पोखरी, चित्रेथाम लगायतका भुभाग देख्न सकिन्छ ।

प्रत्येक वर्ष दशैँ, रामनवमी लगायत अन्य तिथिमा जिल्लाका सम्पूर्ण क्षेत्रबाट ठूलो संख्यामा पंचावतीगढी देवीको पूजा तथा आराधना गर्न भक्तजन जाने गर्छन् । मन्दिर संरक्षणका अभावमा जीर्ण बनेर मन्दिरका सबै सामग्री चोरी भए पनि देवीप्रति अहिले पनि भक्तजनको आस्था उत्तिकै रहेका कारण दैनिक पूजाआजा र आराधना गर्न भक्तजन जाने गरेको स्थानीयवासी दीपककुमार मगरले बताए ।

दर्ता १६ होमस्टे, १० संचालन

पुरानो सदरमुकाम उदयपुरगढी आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि स्थानीय महिलाले होमस्टे संचालनमा ल्याएका छन् । झन्डै ६ वर्षदेखि सञ्चालित १६ वटा होमस्टे दर्ता भएपनि १० वटा संचालनमा रहेको छ । होमस्टेमा पानी, विजुलीको समस्याले पर्यटकलाई लामो समयसम्म टिकाई राख्न नसकिएको गुनासो होमस्टे संचालक गीता धमलाले बताईन् । उनका अनुसार पानी र विजुलीको समस्या समाधान भए पर्यटकलाई लामो समयसम्म राख्न सकिने बताउँछिन् ।

पानीको भरपर्दो व्यवस्था नहुँदा पाहुनाको बसाइ व्यवस्थित र लामो बनाउन नसकिएको होमस्टे सञ्चालक बताउँछन् । उदयपुरगढीमा वर्षांैदेखि पिउने पानी समस्या छ । करिब ३० किलोमिटर टाढाको मुहानबाट ल्याएको पानीले स्थानीयलाई पुग्दैन । पाइप लाइनबाट ल्याएको पानी पिउनमात्रै पनि नपुग्ने स्थानीय बताउँछन् ।

होमस्टेमा करिब ३० पर्यटकलाई सेवा उपलब्ध हुने सक्ने व्यवस्था रहेको छ । ‘स्थानीय स्तरमा उपलब्ध गुन्दुक, कोदोको डिढो, मकै भटमास, स्थानीय स्तरमा उत्पादित खसी र कुखुकाको मासुसहित स्थानीय जनजातिले उत्पादन गरेको मदिराले पाहुनलाई स्वागत गरिने होमस्टे संचालन समितिका सचिव रिताकुमारी धमालका जानकारी दिई । ‘पोखरा र बन्दीपुरका होमस्टे हेर्दा धेरै गर्न सकिन्छ जस्तो लागेको छ,’ धमलाले भनिन, ‘नेपालटार उदयपुरगढी सडकको स्तरोन्नतिसँगै प्रशस्त मात्रमा पानी उपलब्ध नहुँदा केही गर्न सकिएको छैन ।’

शासन व्यवस्था फेरिए, तर अझै फेरिएन गढीको मुहार, सधैं खानेपानीको हाहाकार

उदयपुरगढी डाँडामा अझै पनि राजा उदय सेनको मादल गुञ्जन्छ भन्ने जनविश्वास रहेजस्तै यहाँको अवस्था पनि उस्तै छ ।
पृथ्वीनारायण शाहदेखि यता दर्जनौं परिवर्तन भए तर यो ऐतिहासिक गढी आज पनि विगतको जस्तै छ, फेरिएन । देशमा आएको परिवर्तन र विकासले यहाँका जनतालाई छुन सकेको छैन ।

“हिजो पृथ्वीनारायण शाहले एकीकरण गरेको उदयपुर गढी अहिले पनि उस्तै छ, विकासको कुनै काम पनि भएको छैन र खानेपानी लिन पनि दुईघण्टा टाढा जानुपर्ने बाध्यता छ ।” उदयपुरगढी पहिले उदयपुरको सदरमुकाम । ०२८ सालदेखि सदरमुकाम यहाँबाट गाईघाट सारियो । यस ठाउँका मानिसलाई पत्तै नदिइकन सारियो । ०२५÷२६ सालतिर मोटरबाटो पुगेको ठाउँ र अहिले हेर्दा अरू गाउँसरह नै पिछडिएको देखिन्छ । त्यसबेलाका अड्डा अदालतका पुराना भग्नावशेषहरू अझै पनि यत्रतत्र छरिएको देख्न पाइन्छ ।

उदयपुरगढीका स्थानीय भन्छन्, ‘इतिहास बोकेको उदयपुरगढीमा अहिले पनि खाने पानीको व्यवस्था छैन । विद्युत् विस्तार हुन सकेको छैन । सडक सुविधा नहुँदा गढीका जनताले उचित सेवा पाउन सकेका छैनन् ।”

गढीमा ४ करोड ६९ लाख रुपैयाँको सरकारी खानेपानी आयोजना झण्डै वर्षदेखि सञ्चालनमा छ । उक्त आयोजनाको ३५ लाख बराबरको काम भए पनि अहिलेसम्म इन्टेक र १७ सय ३२ मिटर पाइप विछ्याइए पनि पानी ल्याउन धेरै समय लाग्ने उदयपुरढी खानेपानी आयोजनाका सचिव दीपक रोकाले बताए । उनका अनुसार सरकारले खुत्रुके पाराले बजेट विनियोजन गर्दा पानी समयमै पुग्न सकेको छैन् ।

गाउँपालिकाका अध्यक्ष मान बहादुर केप्छाकी मगरका अनुसार स्थानीय सरकारले गढी क्षेत्रलाई पर्यटन विकासको साथै खानेपानी, विजुली विस्तारको योजना तयारी लागि दु्रत गतिमा लागि परेको बताउँछन् । उनका अनुसार जोगी खोलाबाट लिफ्ट वाटर सिस्टमबाट खानेपानीको पानीलाई सहजता गराउँन अध्ययन भैरहेको र पानी आउन केही समय लाग्ने बताए । उक्त प्रविधि संचालनमा आउन सके ६ घण्टाको लागि पानी तान्न सकिने बताए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

ओभरलोड बोक्ने ट्रिफरको चुन ढुंगा खसाल्यो

एल्जिनाको शब आफन्तले बुझे, दुई जना हत्याराको भयाे पहिचान

एल्जिना हत्या प्रकरण : अनुसन्धान अन्तिम चरणमा, हत्यारा सार्वजनिक गर्ने तयारी

एल्जिना हत्या प्रकरण : थप एक जना पक्राउ

उदयपुरमा ट्रयाक्टर दुर्घटनामा तीनको मृत्यु, दुई जनाको अवस्था चिन्ताजनक, ३६ घाइते

उदयपुरमा विद्युत सर्टबाट आगलागी हुँदा २२ लाखको क्षति

उदयपुरका सहायक वन अधिकृत ६० हजार घुससहित रंगेहात पक्राउ

उदयपुरगढी पर्यटनको नयाँ गन्तव्य घोषित, यी हुन् एक पल्ट पुग्नै पर्ने ठाँउ (तस्विरहरू सहित)

बजार अनुगमन समितिको मौसमी बाजा

अझै फेला परेनन्सु नकोसीमा डुवेका किशोर

तपाईको प्रतिक्रिया