निःशुल्क बाँड्दै घर जग्गा धितो राखेर बनाएका मुर्ति (तस्विरहरू सहित)

बेलबारी / मोरङको केरावारी गाउँपालिका ९ भलुवा पुग्दा छिनो र हथौडाको सहायता लिएर मुर्तिकार श्याम गौतम ढुँगा कुँदिरहेका भेटिए । आफ्नो कलालाई ढुँगामा मुर्तरुप दिइरहेका उनी विभिन्न व्यक्तित्वहरुको सालिक तथा देवी देवताहरुको मुर्ति बनाउन व्यस्त थिए । ढुँगालाई कुँदेर मुर्तिको आकार दिइरहेको अवस्थामा भेटिएका उनी आफ्नो काममा भने गर्व गर्छन । ‘राष्ट्रका लागि केही गरौं भन्ने उदेश्यलेम विगत १० वर्षदेखि यही काममा व्यस्त छु,’ ४३ वर्षीय गौतमले भने, ‘२०६५ सालबाट सुरु गरेको ढुँगा घोट्ने कामलाई निरन्तरता दिइरहेको छु ।’कोही कसैको प्रतिमा (मुर्ति) दुरुस्तै बनाउन सक्ने कलालाई प्रत्यक्ष नियालेका सबैले उनको उक्त कलाको खुलेर प्रसंसा गर्छन । ढुँगा कुँद्न जति मेहनत गरेर समय खर्चिएका हुन्छन्, त्यती नै सुन्दर हुन्छन् उनले कुँदेर बनाएका प्रतिमा ।

मुर्तिकलामा माहिर गौतमले देवि देवता, विभिन्न विधामा योगदान पु¥याउने व्यक्तित्वहरु, समाजसेवी र साहित्यकारहरु लगायतका चर्चित अनुहार र कदका आकृति ढुँगा कुँदेर उतारिसकेका छन् । संखुवासभाको पाँचखपन नगरपालिका ८ पोख्राङमा जन्मिएका गौतम परिवारसहित२०५९ सालमा मोरङको बेलबारी नगरपालिका ३ मा बसाई सरे । बेलबारी झरेको छ वर्ष वितेपछि भने उनले २०६५ सालबाट मुर्ति बनाउने काममा हात हाले । त्यो पनि समाजलाई निःशुल्क मुर्ति प्रदान गर्ने अठोट बोकेर । ‘राष्ट्र र आफ्नो जन्मभूमिलाई उपहार दिने योजनाका साथ मुर्ति बनाउने अभियान थालेको हुँ,’ उनले भने, ‘त्यहाँबाट आफ्नै खर्चमा मुर्ति बनाएर निःशुल्क बाँडिरहेको छु ।’गौतमले अहिले सम्म एक सय ५० प्रतिमा बनाएर वितरण गरिसकेकोबताए । भने, ‘मैले जति बनाएर बाँडे पनि कोहीसंग पैसा भने लिइन ।आफ्नै व्यक्तिगत लगानीमा मुर्ति बनाएर दिइरहेको छु ।’

उनले आफैले मेहनत गरेर मुर्ति बनाउन सिकेको र यस सम्बन्धी शिक्षा कहींबाट पनि नलिएको बताए । मुर्तिकलामा रस भिज्दै गएपछि उनले घर र जग्गा समेत बैंकमा धितो राखेर यो काम गर्न थाले। एक कट्ठा जग्गा विक्री नै गर्नु पर्ने अवस्था आयो । बेलबारीमा रहेको ११ धुर जग्गा र त्यहाँ बनेको घर उनले १६ प्रतिशत व्याजमा तीन पटक सम्म बैंकमा राखेर ऋण लिए । धितो राखेर लिएको ऋण भने श्रीमती इन्दिराले फलफुलको व्यापार गरेर तिरेपछिघर जग्गा उकास्न सकिएको उनले सुनाए । ‘म घर जग्गा धितो राखेर लिएको ऋण मुर्ति बनाउन खर्चन्छु । श्रीमती फलफुल बेचेर कमाएको पैसाले बैंकमा राखेको घर जग्गा उकास्न मद्धत गर्छिन्,’ उनले भने, ‘मेरो यो काममा श्रीमतीको धेरै ठूलो सहयोग छ । साथीभाई र शुभचिन्तकबाट पनि भरपुर सहयोग पाएको छु ।’ गौतमले श्रीमतीले फुलफुलको व्यापार नगर्ने हो भने बैंकमा राखेको घर जग्गा उकास्न मुस्किल पर्ने र आफ्नो अभियान सफल हुन नसक्ने सुनाए ।

उनले पछिल्लो पटक बेलबारी बहुउदेश्यीय सहकारी संस्था र लालीगुराँस सरकारी संस्थामा घर जग्गा धितो राखेर डेढ÷डेढ लाख गरेर तीन लाख रुपैयाँ ऋण लिएका छन् । ‘डेढ लाख फलफुल व्यापार गरेर श्रीमतीले तिरिसकेकी छन्,’ उनले भने, ‘घर जग्गा उकास्न अव डेढ लाख रुपैयाँ तिर्न बाँकी नै छ ।’ उनले घर जग्गा धितो राखेर लिएको ऋणले मुर्ति बनाएर विभिन्न मठ मन्दिर, सार्वजनिक स्थल, धार्मिक तिर्थस्थल रपार्कहरुमा निःशुल्क रुपमा प्रदान गरेको सुनाए । फुलफुल विक्री गरेर कमाएको पैसा श्रीमती इन्दिराले दुई छोरालाई लालनपालन र पढाउनुका साथै घर जग्गा उकास्नेदेखि लिएर आफूलाई मुर्ति बनाउन पनि सहयोग गर्ने गरेको गौतमले बताए ।

मुर्ति बनाएर निःशुल्क बाँड्ने अभियान चलाएका गौतमले मुुर्ति बनाउनकै लागि सुन्दरहरैंचा नगरपालिकाको खोर्सानेमा रहेको एक कट्ठा जग्गा पनि विक्री गर्नु परेको सुनाए । ‘पैसा अभावले अभियान संचालन गर्न धेरै मुस्किल भयो,’ उनले भने, ‘खोर्सानेमा भएको एक कट्ठा जग्गा २० लाख रुपैयाँमा विक्री गरेर अभियानलाई भने निरन्तरता दिएँ ।’उनको अभियानमा अहिले कान्छो छोरो १९ वर्षीय विजयले पनि साथ दिइरहेका छन् ।विजय पनि अहिले बुवासंगै मुर्ति बनाउने काममा व्यस्त हुन्छन् । श्यामले आफ्नो अभियानलाई सार्थक बनाउन २०६५ देखि ०६९ साल सम्म दिनको एक छाक मात्रै खाएर ढुँगा कुँद्ने काम गरेको बताए ।

‘आर्थिक अभावका कारण दुई छाक खान पनि पाइँन,’ उनले भने, ‘एक छाकका भरमा दिनको १० घण्टा छिनो र हथौडा चलाएर राज्यलाई निःशुल्क मुर्ति उपहार दिने काम भने कन्जुस्याइँ गरिएन ।’राष्ट्रिय विभूति योगमायाँको प्रतिमा बनाउँदा २२ दिन निगुरो र पानीका भरमा विताउनु परेको पनि उनले सुनाए । गौतमले १३ महिना लगाएर बनाएको योगमायाँको एउटा सालिक भोजपुर नगरपालिका कार्यालय अगाडि राखिएको छ । गौतमले अहिले सम्म मुर्ति बनाउँदा कति खर्च भयो भन्ने कुराको लेखाजोखा नरहेको पनि बताए ।

उनले ओखलढुँगा, खोटाङ, संखुवासभा, भोजपुर, धनकुटा, मोरङ, कास्की, सुनसरी, झापा समेतका नेपालका विभिन्न जिल्लामा पुगेर विभिन्न व्यक्तिका प्रतिमा र देवीदेवका मुर्ति ढुँगा कुँदेर बनाएका छन् । कास्कीको पोखरा स्थित लोक कवि अली मियाँ वाङ्मय प्रतिष्ठानको कार्यालयमा रहेकोस्वर सम्राट नारायण गोपालको प्रतिमा उनैले बनाएको हो । त्यहाँ विभिन्न जीव जन्तु समेतका गरेर १२ वटा मुर्ति आफूले बनाएर छाडेको जानकारी गौतमले दिए ।

सिरहाको कमलेश्वर धाममा रहेका १६ फिट उचाईको भगवान शिव र ८ फिट उचाईको पार्वतीको मुर्ति तथा १८ फिटको हनुमानको मुर्ति उनैले बनाएका हुन् । संखुवासभाको प्रशिद्ध धार्मिक तिर्थस्थल सभापोखरीमा हिन्दु धर्मका सृष्टिकर्ता मानिने ब्रह्माजीको मुर्ति र बुद्धको मुर्ति उनैले बनाएको संखुवासभाकी प्रदेश सांसद सरिता थापा (खड्का)ले बताइन ।‘ब्रह्माको मुर्ति सबै भन्दा पहिला भारतमा बनेको रहेछ,’ गौतमले भने, ‘त्यसपछि नेपालमा बनेको मुर्ति दोस्रो हो ।’गौतम अहिले संखुवासभामा गत पुस ३० गते जीप दुर्घटनामा परेर मृत्यु भएका मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटवाल सहित छ जनाको सालिक बनाउन व्यस्त छन् । उनले धनकुटाको राजारानीको नागवेली पार्क भित्र ३५ फिट उचाईका जोडी नागको प्रतिमा बनाएका छन् । ढुँगा घोटेर जोडी नागको आकार दिन दुई वर्ष समय लागेको गौतमले सुनाए ।

भोजपुरमा राष्ट्रिय विभूति योगमायाँका दुईवटा प्रतिमा गौतमले बताएका छन् । ८ क्विन्टलकोएउटा भोजपुर नगरपालिका अगाडि राखिएको छ भने अर्को योगमायाँको तपोभूमि नेपालडाँडाको मझुवाबेंसीमा छ । भोजपुरमा एउटा गणेशको मुर्ति पनि उनले बनाएका छन् । उनले खोटाङमा कलाकार लैनसिंह वाङदेलको प्रतिमा तथा भगवान शिव र बसाहाको मुर्ति बनाएका छन् । ओखलढुँगामा शिव र बसाहको मुर्ति उनैले बनाए । दुबै मुर्ति राष्ट्रगानका रचनाकार व्याकुल माईलाको जिम्मा लगाए ।

‘मुर्ति ढुँगा कुँदेर बनाउनु पर्ने भएका कारण समय धेरै लाग्छ,’ गौतमले भने, ‘निक्कै समय खर्चिएर मेहनतका साथ मुर्ति बनाउने अभियानलाई भने सकुनजेल जारी राख्ने छु ।’ परिवार र साथीभाईको समेत सहयोग पाएका गौतम गाउँ नजिकै रहेको खोलाका ठूला ढुँगा ल्याएर अकृति निकाल्छन् भने धेरैको पूर्ण र अर्धकदको आकृति निकाल्न सफल पनि भई सकेका छन् ।

‘मैले आफ्ना पारिवारिक आवश्यकता, अभाव र बाध्यतालाई पन्छाएर राष्ट्रको विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिको प्रति तथा देवीदेवताका मुर्ति बनाउन आफ्नो सीप र समय खर्चिरहेको छु,‘उनले भने, ‘अर्थोपार्जनका लागि नभई नागरिकको हैसियतले आफू जन्मिएको भूमि र राष्ट्रलाई केही योगदान दिउँ भन्ने उदेश्य हो ।’ पारिवारिक आर्थिक अवस्था कमजोर भए पनि मुर्तिकलालाई निरन्तरता दिन सकेकोमा उनी गर्व गर्छन । अहिले सम्म आँफुले मुर्ति बनाउँदा सहयोग नपाएको बताउने उनले एउटा मुर्ति बनाउन १५ दिनदेखि दुई वर्ष सम्म समय लाग्ने बताए । गौतमले समाजलाई निःशुल्क मुर्ति प्रदान गरिरहे पनि सरकारी तवरबाट कुनै सहयोग नपाएको बताए । लगानी र मेहनत ठूलो भएको तथा अर्थोपार्जनका लागि नगरिएका कारण मुर्ति बनाएरै बाँच्नका लागि भने आँफू र परिवारलाईनै समस्या भएको उनको गुनासो छ ।

केरावारी ९ की मञ्जु विष्टले गौतमले बनाएका प्रतिमाहरुको संरक्षण तथा आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिनका लागि प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिएको बताइन । सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका कारण प्रतिष्ठानका रुपमा अघि बढाउने योजना बनिरहेको विष्टको भनाइ छ । बनाइएका विभिन्न प्रतिमाको संरक्षणका लागि प्रतिष्ठान दर्ता गर्दै पार्क बनाउनका लागि गौतम सरकारी सहयोगको प्रतिक्षामा रहेको उनले सुनाइन ।

अहिले गौतमले केरावारी गाउँपालिकामा मुर्ति बनाउन सिकाउने काम पनि गरिरहेका छन् । त्यहाँ मोरङको रतुवामाई नगरपालिका ७ का जीवन मुर्मु, बेलबारीका बौद्धराज राई र मनोज भुजेल मुर्ति बनाउने कला हाँसिल गर्र्दै छन् । नेपालको मुर्तिकलामा राम्रो योगदान दिएका गौतमलाई राज्यले पनि अहिले सम्म केही सहयोग गरेको प्रदेश सांसद सारिता थापा (खड्का) को भनाइ छ । उनले अव राज्यले यस्ता कला भएका प्रतिभाको संरक्षण र सम्वद्र्धनमा ध्यान दिनु पर्ने बताइन । गाउँमा जन्मिएका सफल मुर्तिकारको सम्मानका लागि प्रतिष्ठान बनाउन सबैले सहयोग गर्नु पर्नेमा उनको जोड छ ।

‘मुर्तिकार गौतमको प्रतिभा अत्भूत छ,’ संखुवासभाकै अर्का प्रदेश सांसद पूर्णप्रसाद राईले भने, ‘उनको अभियानलाई सफल बनाउन र निरन्तरता दिनका लागि प्रदेश र संघीय सरकारसंग तत्काल पहल थालिने छ ।’ राईले सहयोगका लागि सबैसंग पहल सुरु गरिएको बताए । विभिन्न ठाउँमा सहयोगका लागि प्रक्रिया अघि बढाइसकिएको जानकारी दिंदै राईले प्रतिष्ठान दर्ता भएपछि अभियान संचालनमा गौतमलाई थप सहयोग पुग्ने बताए ।

राष्ट्रगानका रचनाकार व्याकुल माईलाले समाज सेवामा रमाउने एउटा मुर्तिकारको राज्यले उचित सम्मान गर्न नसकेको बताए । ‘श्याम गौतम कला र संस्कृतिको जगेर्नामा अघि बढेको एउटा प्रतिभा हो,’ उनले भने, ‘लाभका लागि भन्दा पनि मुर्तिकलामार्फत समाजमा योगदान पु¥याउने व्यक्तिमाथि राज्यको नजर नपर्नु दुखद् कुरा हो ।’ संधै पहुँचवालाहरु नै नजरमा पर्ने गरेको भन्दै उनले यस्ता मेहनती प्रतिभालाई सहयोग गर्नु राज्यको दायित्व भएको बताए ।

Purbeli TV

तपाईको प्रतिक्रिया