लेक नलाग्ने औषधि खाँदा बेहोस

काठमाडौं । रसियन नागरिक पावेल छेपेलेन ९ असोजमा पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल प्रवेश गरे । नेपालका पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्ने योजना बुनेर आएका उनी मनाङ हुँदै अन्नपूर्ण बेस क्याम्पसम्म यात्रा गर्न चाहन्थे ।

एक्लै पदयात्रामा हिँडेका उनी २४ असोजमा मनाङको नगवाल गाउँमा पुगे । साँझ परिसकेकाले एउटा पसलमा छिरेर थुक्पा खाए । पावेल भन्छन्, ‘त्यहाँ लेक लाग्छ भन्ने पनि सुनेको थिएँ, त्यसैले साहुनीलाई औषधि पाइन्छ कि भनेर सोधेँ । महिलाले आफूसँग औषधि नभएको तर, व्यवस्था गरिदिने आश्वासन दिइन् । साथै, वास बस्नलाई सस्तोमा होटल मिलाइदिने बताइन् । पावेलले सहजै सहमति जनाए ।

केहीवेरमै महिलाले लेकको औषधि भन्दै पाउडर दिइन्, जसलाई पानीमा घोलेर उनले खाए । उनले औषधिको पैसा पनि लिइनन् तर, औषधि खाएको केहीवेरमै एकाएक असजिलो महसुस भयो ।

‘त्यसपछि महिलाले मिलाइदिएको होटलमा गएर पल्टिएँ’, उनी भन्छन्, ‘त्यहाँ सुतेको ३ दिनपछि एकैपटक आफूलाई नर्भिक हस्पिटलको बेडमा पाएँ ।’ होस आउँदा एकाएक हस्पिटलको बेडमा पाएपछि उनले चिकित्सकहरुलाई सोधे । ‘त्यहाँ सोध्दा पो थाहा भयो मलाई त मनाङबाट उद्दार गरेर ल्याइएको रहेछ’, राहदानी नं. ७५५५८८३७४ बाहक रसियन नागरिक पावेलले भने ।

रकम तिर्न नसकेपछि पासपोर्ट खोसियो

उद्दार गरेर ल्याएको पावेल खुसी हुनु पर्ने हो । तर, उनी आफू ठगिएको महसुस गरिरहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान जारी राखेकै वेला पनि ‘फेक रेस्क्यू’ को धन्दा निर्वाद रुपमा चलिरहेको पावेल प्रकरणले प्रष्ट भएको छ अझ अपचार खर्च तिर्न नसक्दा हस्पिटलले पासपोर्ट नै खोसेपछि संकटमा परेका छन् । अस्पतालका अनुसार उद्दार र उपचार खर्च गरेर चार लाखको बिल बनेको छ । यो रकम तिर्न उनी सक्षम छैनन् । रकम बुझाउन नसकेपछि अस्पतालले पासपोर्ट खोसेर राखेको छ ।

पासपोर्ट नभएपछि पावेल काठमाडौंस्थित रुसी दूतावासको शरणमा पुगेका थिए । दूतावासका अधिकारीहरु नर्भिक हस्पिटलमा पुग्दा थाहा भयो, उनलाई फिस्टेल एयरको हेलिकोप्टरमार्फत उद्दार गरिएको रहेछ । ३ दिन उपचार गरेपछि मात्रै उनको होस खुलेको अस्पतालले दूतावासका अधिकारीहरुलाई जानकारी दियो ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…