विजय नजिक बेल्जियमको स्थानीय निर्वाचनमा प्रतिस्पर्धी नेपाली चेलीहरू

बेल्जियमको दोश्रो ठूलो शहर आन्त्वरपेन र शैक्षिक नगर लुभेनका नगरपालिकाहरूको निर्वाचनमा नेपाली समुदायका दुई जना महिला उम्मेदवार अहिले चर्चाको शिखरमा छन् । आन्त्वरपेनको प्रोभिन्सियल तथा नगरपालिकाको काउन्सिलरमा लिला शर्मा मानन्धर र लूभेनको नगरपालिकाको काउन्सिलरमा रश्मी निरौला यही अक्टोबर १४ तारिखमा हुने निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरू दुवैजनाको विजयलाई धेरैले निश्चित् मानेका छन् ।

बेल्जियममा चार वर्षपछि यस पटक अक्टोबर १४ तारिख (असोज २८) का दिन बेल्जियमका सबै नगरपालिका र प्रोभिन्सियल काउन्सिलका चयनका लागि निर्वाचन हुने भएको हो । बेल्जियमको कानुनअनुसार बेल्जियन र गैरबेल्जियन आवासीय नागरिक दुवैले बेल्जियमको चुनावमा मतदान गर्न पाउने अधिकार छ । बेल्जियमका विभिन्न स्थानीय तहहरूमा ११ जना नेपाली समुदायका उम्मेदबार निर्वाचनमा खडा भए पनि त्यसमध्ये दुई जना नेपाली चेलीले उम्मेदवारी दिएका छन् ।

बेल्जियनका विभिन्न नगरपालिकामा नेपाली समुदायबाट झण्डै एक दर्जन पुरुष प्रत्यासीले पनि उम्मेदवारी दिएका छन् । नेपालको राजनीतिक आस्थाका आधारमा बेल्जियमको निर्वाचनमा उम्मेदवारी दिने होडबाजी पुरूष प्रत्यासीहरूमा चलेका कारण नेपाली समुदायको मत विभाजित हुने गरेकाले यसअघिका कुनै पनि निर्वाचनमा नेपाली समुदायबाट कोही पनि विजयी बन्न सकेका छैन । यस पटकको निर्वाचनमा यी दुवै महिला चेलीहरुको उम्मेदवारीका कारण नेपाली समुदायको मत विभाजन नभई उनीहरुलाई विजयी गराउनुपर्ने धेरैको धारणा रहेको पाइन्छ ।
दुवै नेपाली चेलीलाई गत जनवरी महिनामा सिडी एण्ड भी ले आफ्नो पार्टीको आधिकारिक उम्मेदबार घोषित गरेपछि कस्सिएर चुनावी प्रचार प्रसारमा व्यस्त रहंदैआएका छन् । सिडी एण्ड भी पार्टीका नेता र मंत्रीहरू नै नेपाली समुदायका उम्मेदबारहरुको चुनावी कार्यक्रमहरूमा सहभागी भएकाले नेपाली समुदायको प्रतिष्ठा ह्वात्तै बढेर गएको छ ।

आन्त्वरपने, बेल्जियमका नेपाली समुदायमाझ सम्मानित व्यक्तित्व योगेन्द्र श्रेष्ठ स्पष्ट शब्दमा ब्यक्त गर्छन्, “सोझो भाषामा भन्नुपर्दा म बेल्जियममा जसरी बैधानिक भएर निर्धक्क साथ बस्न पाएको छु, यो देशले जनतालाई प्रदान गर्ने हर सुविधा भोगचलन गरेको छु, यो भनेको बेल्जियमको पूरानो पार्टी सिडी एण्ड भी का बरिष्ट नेता हरमन भ्यान रोम्पूको देन हो । उनी सन् २००८÷२००९ मा बेल्जियमको प्रधानमंत्री भएका बेला उनले नेपाली लगायतका आप्रवासीहरूका बारेमा लिएको महत्वपूर्ण निर्णयले हामी बैधानिक भएका हौं । त्यसकारण मेरो भोट उनको पार्टी सिडी एण्ड भी का उम्मेदबारहरूलाई जान्छ ।” श्रेष्ठ, अँन्त््वरपेन नगरपालिकाबाट उम्मेदबार लिली शर्मा मानन्धर र लूभेन नगरपालिकाबाट उम्मेदबार रश्मी निरौला दुवै सिडी एण्ड भी का प्रत्यासीको विजयी बनाउनुपर्ने बताएका छन् ।

असोज ३ गते संविधान दिवसको उपलक्ष्यमा बेल्जियमका लागि नेपाली राजदूतावासमा आयोजित विशेष कार्यक्रममा समारोहका प्रमुख अतिथि परराष्ट्र मंत्री प्रदीपकुमार ज्ञवालीले लिला र रश्मीसंग भेटघाट गरी नेपाली समुदायको अधिकार र परिचयका लागि उनीहरुले खेलिरहेको रचनात्मक भूमिकाको मुग्धकण्ठले प्रशंसा गरेका थिए । सिडी एण्ड भी ले महिला सशक्तिकरण, आप्रवासी अधिकार र सामाजिक कार्यहरुमा दुवै महिलाको सक्रियतालाई ध्यानमा राखेर उम्मेदबारी चयन गरेको हो । तीज र नेपाल दिवस जस्ता सांस्कृतिक कार्यक्रमहरु आयोजना गने कार्यमा बेल्जियमका नेपाली महिला समुदायको उल्लेख्य भूमिका रहने गरेको छ ।

बेल्जियमको लुभेन नगरपालिकाको चुनावी मैदानमा एकजना नेपाली चेली अहिले आकर्षणको केन्द्र बनेकी छन् –उनको नाम हो, रश्मी निरौला, उमेर २९ वर्ष । उनी शैक्षिक नगरी लूभेन नगरपालिकाको काउन्सिलर पदमा बेल्जियमको दोश्रो ठूलो पार्टी सिडी एण्ड भी बाट उम्मेदवारी दिदैछन् । बहुसंस्कृति र बहुराष्ट्रिय आप्रवासीहरुको ठूलो बसोबास रहेको लूभेन नगरमा गैरबेल्जियन समुदायका उम्मेदबारहरूमध्ये २९ वर्षिय रश्मी बेल्जियन र गैरबेल्जियन दुवै समुदायमा लोकप्रिय रहेकी छिन् । स्थानीय डच र फ्रेञ्च दुवै भाषा लगायत अंग्रेजीमा दखल भएकाले उनी सहजै बेल्जियन र गैरबेल्जियन आप्रवासी मतदातासमक्ष पुग्न सकेकी छन् ।

लूभेनमा बसोबास गर्ने समाजसेवी तथा ब्यावसायीक फोटोग्राफर राजेन्द्र रसाइली रश्मीको चुनावी ब्यस्थतालाई संकेत गर्दै भन्छन्, “हिन्दू संस्कार र सत्कर्मका कारण रश्मी नेपाली समुदायमा एक अत्यन्त उज्यालो प्रकाशपुञ्ज बनेकी छन्, उनले बेल्जियन राजनीतिमा योभन्दा अझ ठूलो सफलता हासील गर्न सक्छिन् ।” चुनाव प्रचारका क्रममा सिडी एण्ड भी पार्टीका नेता र मंत्रीहरूमाझ चुनावी कार्यक्रममा भेट हुंदा काउन्सिलरको उम्मेदवारी दिएकी रश्मीले भनिन्, आफ्नो पार्टी महिला–पुरूषबीच र वर्णका आधारमा भेदभाव नराख्ने भएकोले सिडी एण्ड भी पार्टीका उम्मेदबारहरूलाई चुनावमा विजय गराउन आग्रह गरेकी छन् । “आफूलाई विजयी गराएमा नेपाली समुदायको अधिकारको संरक्षण गर्न र अन्य अल्पसंख्यक हिन्दु, बौद्ध र ईस्लाम लगायतका सबै धर्मप्रति आस्था राख्ने आप्रवासी समुदायको सदैव हितमा समर्पित रहनेछु”, रश्मीको प्रतिबद्धता छ ।

बेल्जियमकी पूर्वसांसद रहीसकेकी सिडी एण्ड भीकी महिलानेतृ तथा रश्मीकी राजनीतिक पथप्रदर्शक एल्भ्स.भ्यान हूफले रश्मीको विजयले नेपाली समुदायलाई लूभेनमा एक भरोसायोग्य काउन्सिलर दिनेछ भन्दै बेल्जियन राजनीतिमा लामो यात्रा गर्ने अद्भूत संभाब्यता देखेको बताएकी छन् ।”

रश्मी पांच र दुई वर्षका दुई छोरीकी आमा हुन् । ललितपुरमा जन्मिएर नेपालीमूलका बेल्जियन नागरिक रेष्टुरेष्ट ब्याबसायी दीपक गौलीसंग विवाहपश्चात रश्मीले लूभेनमा ८÷१० वर्षदेखि व्यवसाय र सामाजिक सेवा गर्दैआएकी छन् । सेन्ट मेरिज स्कूल र सेण्ट जेभियर्स कलेजबाट विद्यालयस्तरको पढाई समाप्त गरेपछि त्रिभूवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक रश्मी लूभेन नगरपालिकामा नेपाली मूलकी पहिलो र एकमात्र महिला उम्मेदबार भएकीले लुभेनमा बसोबास गर्ने नेपाली समुदायका मतदाताको उनी विशेष आकर्षण हुन् । उनी बरिष्ट पूर्व राजनीतिज्ञ र कथाकार ईटहरी निवासी यज्ञप्रसाद आचार्यकि नातिनी हुन् ।

यस्तै बेल्जियमको दोश्रो ठूलो शहर अँन्त्वरपेन नगरपालिकामा पनि सिडी एण्ड भी ले नेपाली चेली लिला शर्मा मानन्धरलाई सशक्त उम्मेदबारका रुपमा चुनावी प्रतिस्पर्धामा उतारेको छ । धेरै वर्षदेखि सो क्षेत्रको सामाजिक कार्यमा संलग्न मानन्धर विजयी हुने निश्चित मानिएको छ । १२ लाख जनसंख्या भएको आन्त्वरपेन हिरा व्यवसायको लागि प्रसिद्ध छ ।
लिला आन्त्वरपेन नगरपालिकामामा नेपालीमूलको पहिलो र एकमात्र महिला उम्मेदबार भएकाले उनी स्थानीय नेपाली समुदायका मतदाताको प्राथमिकतामा परेका छिन् ।
लिला त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा

स्नात्तकोत्तर उतीर्ण गरेकी छन् । लिला हाल गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् समितिको सदस्य छन् भने बेल्जियम एसिया फोरम जस्तो संस्था गठन गर्नमा महत्वपूर्ण भूमिका रहेको थियो । सडी एण्ड भी पार्टी निरन्तर सरकारमा बसेर देशको नीतिनिर्माणमा महत्वपूर्ण योगदान पु¥याउंदैआएकोले नीतिनिर्माण तहमा नेपाली समुदायको पहु‘च बढाउन मद्दत पुग्ने भएकोले यस पार्टीप्रति नेपाली समुदायमाझ आकर्षण रहेको छ । आन्त्वरपेनबाट उम्मेदवारी दिने लिलाले यसपालीको निर्वाचनमा नेपाली महिलालाई विजयी गराएर बेल्जियन नेपाली समाजले एउटा ईतिहास कायम गर्न सफल हुनुपर्छ भन्ने आग्रह गरेकी छिन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया