मापसे गरेर सवारी चलाउने चालकले परीक्षा दिनु पर्ने, उत्तीर्ण नहुनेको कागज पत्र र सवारी प्रहरी नियन्त्रणमै

माेरङ / मोरङमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने चालकले जिल्ला प्रहरी कार्यालय मार्फत सचेतना परीक्षा दिनु पर्ने भएको छ । ट्राफिक चेकजाँचका क्रममा मापसे गरेर सवारी साधन चलाएको पाइएमा चालकले परीक्षा दिनु पर्ने नियम मोरङमा लागू गरिएको हो । सवारी चालकमाथि लगाइएको यो नियम नेपालकै पहिलो हो । मापसे गर्ने चालकसंग परीक्षा लिन त्यही हिसावको प्रविधिको पनि विकास गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले लिने परीक्षा उत्तीर्ण गरेपछि मात्रै चालकले प्रहरीको नियन्त्रणमा रहेका सवारी चालक अनुमति पत्र (लाइसेन्स), ब्लु बुक समेतका कागजपत्र र सवारी साधन फिर्ता पाउने छन् ।

मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा अत्यधिक दुर्घटना हुन थालेपछि दुर्घटना न्यूनीकरण गर्नका लागि थप कडाई थालिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताए । उनका अनुसार मापसे गरेर कोही कसैले सवारी साधन चलाएमा कागजपत्र र सवारी साधन नियन्त्रणमा लिने र प्रहरीले लिने परीक्षा उत्तीर्ण गरिसकेपछि ट्राफिक नियम अनुसार अन्य कारवाही गरेर मात्रै छाडिने जानकारी दिए । मापसे गर्ने चालकले ट्राफिक प्रहरीले दिएको पुर्जी र त्यही पुर्जीमा भएको नम्बरका आधारमा मात्रै परीक्षामा सहभागी हुन पाउने छन् ।

यस अघि मापसे गरेर सवारी साधन चलाउने चालकलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ सम्म जरिवाना र सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा प्वाल पार्ने कारवाही गर्दै आएको थियो । चालकलाई राखेर सचेतना कक्षा पनि संचालन गरिंदै आएको थियो ।

परीक्षा उत्तीर्ण नगर्ने चालकले प्रहरी नियन्त्रणमा रहेका कागजपत्र र सवारी साधन फिर्ता लिन पुःन अर्को पटक परीक्षा दिनु पर्ने छ । परीक्षा उत्तीर्ण नगर्नेले फिर्ता पाउने छैनन् । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार परीक्षाका लागि चारवटा छुट्टा छुट्टै खण्ड भएको परीक्षा प्रणालीको विकास गरिएको छ । प्रत्येक खण्डमा ट्राफिक नियम उल्लंघन, ट्राफिक नियमको पालना र कानुनसंग सम्बन्धीत विषय समेटिएका १५ देखि २० वटा प्रश्न सोधिने र उत्तीर्ण हुनका लागि प्रत्येक खण्डमा ८० प्रतिशत अंक ल्याउनै पर्ने नियम बनाइएको उनको भनाइ छ ।

परीक्षा उत्तीर्ण नभए सम्म कागजपत्र र सवारी साधन प्रहरीकै नियन्त्रणमा हुने र चालकले फिर्ता लैजान नपाउने केसीको भनाइ छ । उनका अनुसार परीक्षामा उत्तीर्ण भएपछि जरिवाना र लाइसेन्स प्वाल पार्ने कारवाही गरेर मात्रै चालकलाई कागजपत्र र सवारी साधन फिर्ता दिइने छ । प्रहरी कार्यालयमा पुग्न नभ्याउने चालकलाई अनलाइनबाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । ट्राफिक प्रहरीले दिएको पुर्जीको नम्बर ‘मोरङ पुलिस डट कम’ मार्फत हालिसकेपछि मात्रै मापसे गर्ने चालकले अनलाइनमार्फत परीक्षा दिन सक्ने प्रविधिको विकास गरिएको एसपी केसीको भनाइ छ । अनलाइनबाट लिइने परीक्षाको अनुगमन समेत प्रविधिबाटै हुने भएका कारण एउटाको परीक्षा अर्कोले दिने सम्भावना पनि नहुने उनको भनाइ छ ।

ट्राफिक चेकजाँचै क्रममा जिल्ला प्रहरी कार्यालयमा रहेको एप्सले चालकको फोटो र भिडियो खिच्ने भएका कारण एउटाले अर्कोको परीक्षा दिने सम्भावना नरहने केसीले बताए । अर्को व्यक्तिले परीक्षा दिन खोजेमा प्रविधिले त्यसलाई अस्वीकार गरिदिने छ । चालकले मादक पदार्थ सेवन गरेका कारण अत्यधिक दुर्घटना हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न तथा सवारी साधन चलाएका बेला चालकलाई मापसे गर्न निरुत्साहित गर्न नेपालमै पहिलो पटक नयाँ कार्यक्रमको सुरुवात गरिएको उनको भनाइ छ । एसपी केसीले मापसे चालकलाई लिइने परीक्षा दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी हुने बताए ।

साउन यता मात्रै मोरङमा एक सय ७१ वटा सवारी दुर्घटना भएका छन् । ८० प्रतिशत दुर्घटना चालकले मापसे गरेका कारण भएको पाइएको छ । दुर्घटनामा परेर साउन यता मात्रै मोरङमा १७ जनाको मृत्यु भएको छ ।

( फोटो क्याप्सन ः मापसे गरेर सवारी साधन चलाउने चालकले दिनु पर्ने परीक्षा र भोग्नु पर्ने कारवाहीका बारेमा बुधबार विराटनगरमा जानकारी दिंदै मोरङका प्रहरी अधिकारी । )

तपाईको प्रतिक्रिया

Loading…