वैदेशिक भ्रमण बेतिथि, कारबाहीमा प्रधानमन्त्री र मन्त्री नै उदासीन

काठमाडौं / विदेश भ्रमणका क्रममा निर्देशन र निर्देशिकाको उल्लंघन गर्ने कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्रीको कार्यालय र कृषि मन्त्रालय उदासीन देखिएको छ । उच्च पदस्थ कर्मचारीको मिलेमतोमा नियमविपरीतको भ्रमणलाई गुपचुप पार्ने काम भएको छ ।

कृषिमन्त्री चक्रपाणी खनालको उदासीनताका कारण नियमविपरीत भ्रमण गर्न सिफारिस गर्ने उच्च पदस्थ कर्मचारी र भ्रमणमा सहभागी कृषि मन्त्रालय मातहतका ५९ जना कर्मचारीले छुट पाएका हुन् । सुशासनलाई मुख्य नारा बनाएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५ र प्रधानमन्त्री कार्यालयको निर्देशन लत्याएर विदेश जाने कर्मचारीलाई आफूखुसी कार्य गर्न खुलमखुला छाडिदिएको हो ।

तत्कालीन कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका ५९ जना कर्मचारी बजेट सकाउनकै लागि आर्थिक वर्ष सकिन चार दिन मात्र बाँकी छँदा २८ असारमा भ्रमणको निर्णय गरेर भारत गएका थिए । भ्रमणपूर्व प्रधानमन्त्री कार्यालयले भ्रमण नगर्न तथा नगराउन निर्देशन दिए पनि निर्देशनलाई अवज्ञा गर्दै ५९ जना कर्मचारीको भारत भ्रमण भएको थियो ।
कृषिमन्त्री खनालसमेत मौन बसेका छन् भने कृषि सचिव युवकध्वज जीसी आफ्नो निर्णय वैधानिक भएको भन्दै निरन्तर बचाउमा छन् । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया