तपाईको लागि यो हप्ता सुभ छ की अशुभ ? यस्तो छ तपाईको साप्ताहिक राशिफलमा भाग्य (ज्येष्ठ ०६ -१२, २०७५)

आगामी ७ दिनभित्रका चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : ०८ गते : भौमाष्टमी व्रत, गोरखकाली पूजा, १० गते : गंगा दशहरा, रामेश्वर गंगा पूजा, हत्यामोचन तीर्थस्नान, रुरु रिडीक्षेत्रमा हृषिकेश उत्सव, बज्रगुरु पद्मसम्भव जयन्ती, गोसाइँकुण्डमा स्नान समाप्ति, मूहुर्त : अन्नप्राशन(पास्नी), ११ गते : पद्मिनी एकादशी व्रत, १२ गते : शनि प्रदोष व्रत, द्विपुष्कर योग बेलुका ०६ बजेर ३६ मिनेटसम्म . साप्ताहिक राशिफल (वि.सं. २०७५ ज्येष्ठ ०६ गतेदेखि वि.सं. २०७५ ज्येष्ठ १२ गतेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

साताको प्रारम्भमा आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मातापिता र मान्यजनको स्वास्थ्यप्रति सचेत रहनु होला । गरेका कामधन्दा र मिहिनेतबाट लाभ हुने सम्भावना छैन । रोकिएको कामधन्दामा प्रगति हुन सक्दैन । प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन् । कुनै कुराले विचलित गराउनुका साथै अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु बेस हुनेछ । विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । मङ्गलबारदेखि बिहीबारसम्म घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् । पढाइमा पनि राम्रै प्रगति हुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो लाभ हुने छ ।साताको अन्त्यमा दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ । मायाप्रेम र भावनात्मक क्रियाकलापमा समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको राम्रो माया मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

साताको प्रारम्भमा नै कुनै महत्त्वपूर्ण जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा सुधार आउने छ । ढिलै भए पनि तपार्इंले भने जसरी नै काम सम्पन्न हुनेछ । साताको मध्यभागमा घरायसी समस्याका कारण घरबाहिर जानुपर्ने सम्भावना देखिन्छ । कामधन्दा र पारिवारिक समस्यामा केन्द्रित हुनाले फुर्सद निकाल्न सकिंदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । साताको अन्त्यमा कल्पना र भावुकतामा रमाउँदा रमाउँदै समय गएको पत्तो पाउनुहुन्न । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन् । जोसँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नु राम्रो हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । भोगविलासमा आकर्षण बढ्न सक्छ, विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । आमा वा मामाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने दिन छ । तर्क, विवाद र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

समग्रमा पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुन सक्छ । पुराना साथीभाइसित भेटघाट हुनसक्छ । घरगृहस्थीमा धेरै समय खर्चनु पर्नेछ । वैदेशिक रोजगारी गर्नेेहरूले घरायसी कुरा सम्झेर समय बिताउने छन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ । बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन् । समग्रमा साताभरिको क्रियाकलापको लेखाजोखा गर्दागर्दै यो साताको समय व्यतीत हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

दानपुण्यका लागि असल छ । परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ, त्यसैले मन उत्ताउलो र अधैर्य बन्नसक्छ, संयम हुनु राम्रो हुन्छ । चिन्तनमनन र अध्यात्मप्रति आकर्षित हुँदा राम्रो हुनेछ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । नातेदार र कुटुम्बले काममा सहयोग गर्नेछन् । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने छ । कृषिकार्यतिर मन जानेछ । प्रयाससाध्य समय छ धैर्य गर्नुहोला । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । व्यापार गर्नेले पनि सोचेजस्तै लाभ लिन सक्नेछन् । आर्थिक लगानी हुनेछ । साताको अन्त्यमा घरायसी कामधन्दा र पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

साताको प्रारम्भमा बाह्रौं भावमा चन्द्रमा रहने भएकाले प्रारम्भमा बन्दव्यापार, श्रममूलक काम, कृषि तथा पशुपालनका क्षेत्रमा सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, आकस्मिक रूपमा अतिथिको आवाभगत गर्नुपर्ने हुनसक्छ । दैनिक कामकाजमा खर्च बढ्ने छ । झर्कोलाग्दो यात्राको योग छ । तर साताको उत्तरार्द्धमा काम गर्न जाँगर चल्नेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । आम्दानीमा कमी हुने छैन । शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । समयलाई उपयोग गर्नसके राम्रो फाइदा लिन सकिने छ । कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ, चिताएभन्दा बढी कमाउने योग छ । समय राम्रो छ । साताको अन्त्यमा सामाजिक काममा संलग्न हुनुपर्ला । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । समय राम्रो छ, समग्रमा उत्साहवर्द्धक समय रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

साताको प्रारम्भमा इष्टमित्रले प्रशंसा गर्नेछन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । बौद्धिक प्राज्ञिक गतिविधिमा संलग्न हुनेपर्ने छ । परदेश वा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । कुनै नयाँ उद्योगधन्दा वा व्यवसायको थालनी गरेमा व्यवहारिक रूपमा फाइदा पुग्नेछ । उपलब्धीमूलक यात्रा हुने योग छ, संयमता र धैर्यतालाई त्याग्नु हुँदैन । घरायसी मामिलामा समय दिन नसक्नाले केही केही धमिलोपन आउन सक्छ । मङ्गलबारदेखि बिहीबारसम्म बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतियोगिता र प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ । साताको अन्त्यमा सम्पति प्राप्त गर्ने सम्भावना छ । पारिवारिक जीवन संतोषप्रद हुनेछ । साझेदार वा सहयोगीको सङ्गतले लाभ प्राप्त हुने सम्भावना छ । व्यस्त समयचर्या कायम हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

साताको प्रारम्भमा व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छैन । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने समय हो । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ । बिहीबार र शुक्रबारका दिन सुखी जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । तर साताको अन्त्यमा नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा राम्रो छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

भाग्यस्थानमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भएकाले धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । रोकिएको काम बनेको समाचार सुन्न पाउने सम्भावना समेत छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । नयाँ ज्ञान प्राप्त हुनेछ । आमाबुवाको स्वास्थ्यमा सुधार आउने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । भेटघाट र मनोरञ्जनमा समय व्यतीत हुनेछ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । समाजमा बुद्धिको प्रशंसा हुनेछ । घरपरिवार र नातेदारमा सुमधुर सम्बन्ध कायम हुनेछ । साताको अन्त्यमा खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । लामो दूरीको यात्रा हानीकारक बन्नसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

साताको प्रारम्भमा कष्टभावमा चन्द्रमाको उपस्थिति भएकाले ढिलो गरी कार्यसम्पादन हुने समय छ । अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन सक्छ । किसिमकिसिमका समस्यासित जुध्नु पर्ने परिस्थिति छ । लेनदेनमा विवाद हुनेछ । व्यवहारिक हानी हुनेछ होस राख्नोस् । तर साताको उत्तरार्द्धमा इष्टमित्रले तपार्इंको प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । अप्रत्याशित काम बन्ने योग छ । पारिवारिक जीवन सामान्य रहने छ । इच्छाएको जिम्मेबारी प्राप्त हुनसक्छ । खानपानमा खर्च गर्न मन हौसिन्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । साताको अन्त्यमा साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । यतिबेलाको समय विगतका कमीकमजोरी सम्झने समय होइन । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

मिश्रित प्रभाव भएको साता छ, प्रारम्भमा प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । शुभसमाचारको आगमनले मन प्रसन्न रहने समय छ । शत्रुहरू पराजित हुनेछन् । यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । मङ्गलबारपछि बिहीवारसम्म राम्रो समय छैन, पाचन प्रणालीमा आएको खराबीले तपाईंलाई निराश तुल्याउन सक्छ । मन भुलाउने उपायको प्राप्ति हुनेछ । पारिवारिक समस्यालाई हल गर्न तल्लीन हुनुपर्ने छ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा खिन्नता बढ्नेछ । साताको अन्त्यमा हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । कतिपय राम्रा अवसर प्राप्त गर्नुहुनेछ । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । तर आगामी शनिवारका दिन स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नु पर्दैन । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

तपाईंका लागि पनि यो साता लाभ र हानिको समान सम्भावना भएको समय छ, साताको सुरुमा सहयोगी हातहरू पछि हट्न सक्छन् । गरिएका उद्यममा सफलता प्राप्त हुनेछैन । शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । जीवनसाथीसितको सम्बन्धमा नकारात्मकता देखिनसक्छ । सवारी साधनबाटसमेत हानि पुग्नसक्छ । मङ्गलबारदेखि बिहीवारसम्म मनोरञ्जनमुखी समय रहने छ, आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । यस अवधिमा जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आफूमुनिका नातेदार वा बालबच्चासित राम्रो व्यवहार गर्नुहोला । इष्टमित्रको शुभकामना प्राप्त गर्न सकेमा शुभफल प्राप्त हुनेछ । समय चुनौती र परीक्षणका रूपमा देखा परेको छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । अनाहकमा अरुले गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था आउला । बोलेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नातेदारले अपमानित तुल्याउन सक्छन् । विशेष गरी साताको अन्त्यमा हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

बुद्धिस्थानमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भएकाले समग्रमा समय उत्साहवद्र्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । अध्ययन अध्यापन सफल रहेको छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । कामको चाप र दायित्व बढ्नेछ । शरीर फुर्तिलो हुनेछ, जोस र जाँगर बढ्नाले आम्दानीमा समेत बढोत्तरी हुनेछ । अभिभावकवर्गको आशीर्वाद प्राप्त हुनेछ । राम्रो समाचार सुन्न पाउनु हुनेछ । मन आनन्दका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । तर साताको मध्यभाग अनुकूल छैन, पाचनप्रणाली र नसासम्बद्ध रोगले दुःख दिन सक्छ । दृष्टिशक्तिमा कमी आउन सक्छ । व्यवहारिक समस्याले अवरोध हुने सम्भावना छ । उता शनिवारका दिन पनि स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । सानोतिनो चोटपटक नै पनि लाग्न सक्छ, सचेत एवं सावधान रहनु होला । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, कुनै पनि नयाँ काम नथाल्नु होला ।

Purbeli TV

ज्योर्तिबिद तथा बास्तुविद कोइराला पिण्डेश्वर बिद्यापिठ धरानमा सहप्राध्यापक हुनुहुन्छ । उहाँ पूर्वेली न्जुजका स्तम्भकार समेत हुनुहुन्छ ।

कृष्ण प्रसाद काेइरालाबाट थप

आजको राशिफल / २०७६ आश्विन ०४ गते शनिबार

आजको राशिफल / २०७६ आश्विन ०३ गते शुक्रबार

आजको राशिफल / वि.सं. २०७६ आश्विन ०२ गते बिहीबार

२०७६ आश्विन महिनाको मासिक राशिफल

आजको राशिफल / वि.सं. २०७६ आश्विन ०१ गते बुधबार

आजको राशिफल / वि.सं. २०७६ भाद्र ३० गते सोमबार

आजको  राशिफल / २०७६ भाद्र २९ गते आइतबार

इच्छाइएको सन्तान कसरी ?

सनातन हिन्दू संस्कारमा श्राद्धका प्रकार

श्राद्धमा के गर्ने र के नगर्ने ?

तपाईको प्रतिक्रिया

Loading…