बेलायतबाट आदिम थलो खोज्दै क्होलासोंथर

लमजुङ / बेलायतबाट आएको एक टोली गुरुङ जातिको आदिम तथा ऐतिहासिक थलो क्होलासोंथर पुगेका छन् । तमु धीं युकेको नेतृत्वमा हाल बेलायतमा रहेका ४७ जनाको समूह बुधबार लमजुङको क्होलासोँथर पुगेको हो । क्होलासोंथरको ऐतिहासिक पहिचान खोज्न र यसको यथार्थ जानकारीका लागि क्व्होलासोंथरको अध्ययन भ्रमण गरिएको तमु धीं युकेका अध्यक्ष ज्ञाम गुरुङले बताउनुभयो । यस भ्रमणले गुरुङ जातिको पैत्रिक थलो र ऐतिहासिकस्थलबारे थप जानकारी हुने र इतिहासको अनुसन्धानका लागि थप सहज हुने उहाँको भनाइ छ ।

“हाम्रो पैत्रिक थलो, आदिम थलो, ऐतिहासिक थलो हेर्न र यसबारे केही गर्न सकिन्छ कि भनेर हामीले भ्रमण गरेका हौँ” गुरुङले भन्नुभयो । टोलीमा लमजुङ, कास्की, स्याङ्जा, पर्वत, गोरखालगायत पुख्र्यौली गाउँ घर भई हाल बेलायत बस्दै आएका गुरुङ समुदायको सहभागिता रहेको छ । क्होलासोंथरमा पुगेर गुरुङ जातिको आदिम तथा ऐतिहासिक थलोको अवलोकन तथा अध्ययन गर्ने तमु धीं युकेका अध्यक्ष ज्ञाम गुरुङले बताउनुभयो ।

क्होलासोंथरलाई सरकारले विश्व सम्पदा सूचीमा राखेर यसको संरक्षण र सम्वद्र्धनमा जोड दिनुपर्ने उनीहरुले बताएका छन् । यस्ता ऐतिहासिकस्थलको संरक्षण सम्वद्र्धन हुनसके यहा“को पर्यटन प्रवद्र्धन र विकासमा सहयोग पुग्ने उनीहरुको धारणा छ ।

उनीहरु पोखराबाट बेँशीशहर हु“दै घलेगाउँ, घनपोखरा, भुजुङ हुँदै क्होलासोँथर पुगेका हुन् । भुजुङसम्म जीप चढेर यात्रा गरेको टोलीले भुजुङबाट भने लेकको बाटो हुँदै चार दिन पैदलयात्रा गरेको थियो । क्होलासोंथरबाट कास्कीको सिक्लेस, ताङतिङ भएर आठौँ दिनमा पोखरा पुगेर यात्रा टुंगिने भ्रमण टोलीका संयोजक एवं तमु धीं युकेका सल्लाहकार एकेन्द्र गुरुङले बताउनुभयो ।

टोलीलाई तमु ह्यूला छोंज धीं, गुरुङ राष्ट्रिय परिषद् लमजुङ, दक्षिण एशियाकै नमूना घलेगाउँ, तमु प्ये ल्हु संघ, पोंचुकों, भुजुङस्थित युम्पो विकास आमा समूह र लालीगुराँस युवा क्लबले छुट्टाछुट्टै स्वागत गरेका थिए ।

PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…