निकुञ्जमा ‘रात्रि गस्ती’ परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले राति वन्यजन्तुमाथि हुनसक्ने सुरक्षा खतरा रोक्न ‘रात्रि गस्ती’ टोली परिचालन गरेको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र र आसपासका अन्य स्थानमा रात्रि गस्ती थालिएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो ।

मुख्यगरी राति वन्यजन्तु तस्करको खतरा हुने भएकाले वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेना, स्थानीय समुदाय र वन्यजन्तु प्रविधिज्ञसहितको टोलीलाई गस्तीमा परिचालन गरिएको हो । निकुञ्जको विभिन्न सेक्टरले आ–आफ्नो समय मिलाएर गस्ती गरिरहेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ । दुर्लभ एकसिंगे गैंँडा र पाटेबाघको मुख्य वासस्थान चितवन निकुञ्ज हो ।

विगतमा यहाँ तस्करबाट यस्ता वन्यजन्तु मारिने गरिए पनि पछिल्लो वर्षमा भने तस्करको गतिविधि छिटफुटबाहेक शून्य जस्तै छ । यो उपलव्धिलाई कायम राख्न समेत चुनौती भएकाले आधुनिक प्रविधिको प्रयोग गरेर राति टोली परिचालन गरिएको निकुञ्जले जनाएको छ । राति ९ बजेदेखि शुरु हुने गस्ती बिहान ४ बजेसम्म नै चल्नेछ । उहाँका अनुसार पूर्वी सेक्टरमा मात्रै दुई टोली परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…