भाइटीका कसरी सम्पादन गर्ने ? टीका लाउने विधि र नियम

हाम्रो देश नेपाल धार्मिक र सांस्कृतिक रुपमा धनी देश हो । त्यसैले आधुनिक नेपालका निर्माता बडामहाराज पृथ्वीनारायणले उद्घोष गरेका हुन् –  नेपाल चार जात र छत्तीस वर्णको साझा फूलबारी हो । यो प्रसङ्ग आज पनि हामी नेपालीसँग कुनै न कुनै रुपमा मेल खाएको पाइन्छ । हामी एउटै पर्वलाई परापूर्व कालदेखि नै आ-आफ्नो चलन र रङले घोलेर मनाउने गरेका छौं । प्रसङ्ग आजको भाइटीकाबाट नै उठाऔं । यस पर्वलाई पहाडे मूलका व्यक्तिहरूले भाइटीका भनी धुमधामसँग मनाउने चलन छ भने उत्तिकै उत्साह र उमङ्गका साथमा मधेशमा यस पर्वलाई भरदुतिया वा भैया दूज भनी मनाउने गरिन्छ ।

जसले जे नामले वा जेजसरी मनाए पनि पर्वको सारतत्त्व र आधार एउटै हो । पौराणिक कथा अनुसार परापूर्वकाल सत्ययुगमा पृथ्वीमा बस्ने बहिनी यमुनाले स्वर्गमा बसेर पापधर्मको निर्क्यौल गरी दण्डाधिकारीको काम गर्ने दाजु यमराजलाई आफ्नो कामबाट फुर्सद लिई केही दिनका निमित्त आफ्नो घरमा आउन निम्ता गरेपछि आफ्नो निम्तो स्वीकार गरी घर आएका दाजु यमराजलाई पूजाआजा गरी विभिन्न प्रकारका मिठोमिठो खानेकुरा खुवाएर खुब सम्मान र सत्कार गरेको प्रसङ्ग नै यस पर्वको मुख्य आधार हो । बहिनीको सम्मान र सत्कारवाट खुसी भई यमराजले बहिनी यमुनालाई वरदान माग्न भने ।

कृष्णप्रसाद काेर्इराला

बहिनीको इच्छानुसार मानिसले पनि दिदीबहिनी तथा दाजुभाइले परस्परमा पूजाआजा गरी इच्छासिद्धि गर्न पाऊन् भनी यमराजले बरदान दिएकाले त्यसै बेलादेखि कात्तिक शुक्ल द्वितीयाका दिन भातृ द्वितीया गर्ने परम्परा बसेको धार्मिक विश्वास छ । बाल्यावस्थामा एउटै घरआँगनमा खाइखेली समान मातापिताको लाडप्यार र काखमा लुटुपुटु गरी जीवनयापन गरेपनि कालान्तरमा व्यवहारिक कारणले भिन्नभिन्न स्थानमा बसाइ भएका दाजुभाइ र दिदीबहिनीको पुनर्मिलन गराउने भाइटीकाको सारतत्त्व पनि एउटै हो । सारांशमा पर्वको भावना र उद्देश्य एउटै भए पनि तिनलाई मनाउने तरिका र शैली भने फरकफरक रहेको पाइन्छ । जेजसरी मनाए पनि दाजुभाइ र दिदीबहिनीका लागि यो दिन विशेष उत्सवको दिन हो । घरवाट टाढिएर बसेका दिदीबहिनी तथा दाजुभाइबीचको आत्मीय र स्नेही सम्बन्ध कायम राख्न भाइटीका/भरदुतिया/भैयादुज वा भ्रातृद्वितीयाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । जसरी मनए पनि हामी नेपालीको एक अर्काको पर्वमा हामी रमाउनु पर्छ र एकअर्काका राम्रा पक्षको अनुसरण र नराम्रा पक्षको निषेध गरी नयाँ नेपालको निर्माण गर्न सक्दछौं । यहाँ भाइटीका मनाउने तरिकाका बारेमा चर्चा गरिएको छ :

आआफ्नो संस्कार, चलन र परम्परामा थोरै भिन्नता भए पनि भाइटीकामा विशेषतः पहाडीमूलका व्यक्तिले निम्न विधिको अनुसरण गरिएको पाइन्छ :

१) निमन्त्रणा – दिदीबहिनीले भाइटीकाभन्दा पहिल्यै नै र कतैकतै त यमपञ्चक सुरु हुनु अगावै दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पानसुपारी, फूल आदि दिने चलन छ ।
२) भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने भनाइ छ ।
३) टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गरिन्छ । अश्वत्थामा, बलि, व्यास, हनुमान्, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय गरी आठ जनालाई अष्टचिरञ्जीवी मान्ने गरिन्छ ।
४) भाइटीकाको विधि सम्पन्न गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठामीठा परिकारको आवश्यकता पर्छ ।
५) सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ ।
६) त्यसपछि दाजु-भाइको माङ्गल्यको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेकिन्छ ।
७) त्यसपछि पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्ने गरिन्छ ।
८) अनि क्रमशः फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाई दिएर सगुनका रूपमा दही खुवाउने चलन छ ।
९) त्यसपछि दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुष्यको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् ।
१०) टीका लगाइसकेपछि फूलको माला पहिर्याई दिनुपर्छ । भाइटीकाका दिन दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ ।
११) अन्तिममा दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता समेत झल्किने गर्दछ ।
१२) दिदीबहिनीले टीका लगाउने क्रम सिद्धिएपछि दाजुभाइले पनि चेलीबेटीलाई टीका लगाएर उपहार र दक्षिणा प्रदान गर्दछन् ।
१३) दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानीपोखरीस्थित मन्दिरमा पूजाआजा गर्छन् ।
यसरी भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोग गर्ने प्रचलनको प्रतीकात्मक अर्थ हो – आफ्ना दिदीबहिनी र दाजुभाइ दुबै पक्षको सुखसमृद्धि, आरोग्य एवं दीर्घायु हुने धारणा ।

मधेशमा यस पर्वलाई भरदुतिया, भैयादुज वा भ्रातृद्वितीया भन्ने गरिन्छ । साररूपमा माथिका सबै विधिविधानको पालना नगरे पनि यहाँ गरिने भाइपूजाको महत्ता र वैशिष्ट्य उस्तै हो ।

१) निमन्त्रणा :- “यमूना न ओतै त छथी यम के, हम ने ओतै त छी भाईके, हमर भाइ कुम्हरक फूल, बजरी खाय बज्र भके जीवे, जेना गंगा यमूना धार बह्य,
तहिना हमर भाईके और्दा बर्हैय…….।” (‘जसरी यमुनाले यमराजलाई घर आउन निम्तो दिन्छिन्, त्यसरी नै म पनि आफ्नो दाजुभाईलाई निम्तो दिन्छु । मेरो दाजुभाइ कुभिण्डोको फूल जस्तै होस् (तुरुन्तै नओइलिने), बजरी (एक प्रकारको कडा दाना चट्टानको जस्तो) खाओस् र बज्र भएर बाँचोस् । गङ्गा र यमुना निरन्तर बगिरहे झैं मेरो दाजुभाइको जीवन निरन्तर अघि बढोस्) आदि मैथिली लोकभाकाको उच्चारण गर्दै भाइटीकाको पूजा सुरु हुनुअघि दाजुभाइलाई चेलीबेटीले निमन्त्रणा गर्दछन् ।
२) सबैभन्दा पहिले प्रातःकालमा उठी स्नानादि नित्यकर्म सम्पादन गरी मधेशका घरघरमा दिदीबहिनीले हर्षोल्लासका साथ आफ्ना दाजुभाइका लागि मिठोमिठो खानेकुराको परिकार बनाउने चलन छ ।
३) घरको आँगनको मध्यभागमा पिठारको (चामलको पिठो) अर्पणा बनाई (रेखी हाली) त्यसमाथि सिन्दूर र अबिरले सजाएर काठको पीर्का ओछ्याइन्छ ।
४) उक्त काठको पिर्कामाथि दाजुभाइलाई बसाइन्छ र निधारमा टीका लगाई दाजुभाइको पूजा गर्ने गरिन्छ ।
५)  पुजाको क्रममा दाजुभाइले दुबै हात अञ्जली बनाएर बस्दछन् । त्यसमा दिदीबहिनीले पाँचवटा पानको पात, सुपारी, द्रव्य र कुभिण्डोको फूल राखेर पवित्र जल हाल्दै धार्मिक विधि अनुरुप मन्त्रोउच्चारण सहित दाजुभाइलाई तीन पटक पूजा गर्दछन् ।
६) पूजाका बेलामा दिदीबहिनीले माथि निमन्त्रणाका क्रममा उच्चारण गरिएको मन्त्रको पुनः उच्चारण मन्त्रोच्चारण गर्ने गदर्छन्, “यमूना न ओतै त छथी यम के…….
७) पूजा सम्पन्न भएपछि दाजुभाइले आफ्नो हैसियत अनुसार दिदीबहिनीलाई विभिन्न उपहार, गरगहना, लत्ताकपडा अथवा रुपैंया पैसा दक्षिणास्वरूप दिने प्रचलन छ ।
८) त्यसपछि दिदीबहिनीले पकाएको मिठोमिठो परिकार दाजुभाइले ग्रहण गर्छन् ।
९) दाजुभाइले खाएपछिमात्र दिदीबहिनीले भोजनादि ग्रहण गर्ने नियम छ ।

तपाईको प्रतिक्रिया

Loading…