को राष्ट्रवादी ? नक्कली नागरिकता बाँड्ने यि नेताहरु कि भारतीयसँग लड्ने देवनारायण र तिलाठीवासी ?

२०६२-०६३ सालको आन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले ५६१ सदस्यीय टोली बनाएर २६ लाख १५ हजार ६ सय १५ जनालाई नागरिकता वितरण गर्यो । सामान्य सर्जिवनको आधारमा नागरिकता वितरण गरिंदा लाखौं गैरनागरिकले नागरिकता पाएको स्पष्ट छ । नक्कली नगरिकता बाड्नेहरु कसरी राष्ट्रवादी ?  नागरिकता वितरणका लागि मधेश केन्द्रीत दलहरुले दबाब दिएका थिए । तर, दाता कोही मधेशी थिएनन् ।

उपप्रधान तथा परराष्ट्रमन्त्रीको हैसियतमा एमालेका तर्फबाट सरकारमा नेतृत्व गरेका थिए केपी ओलीले । प्रधानमन्त्रीका रुपमा केही नक्कलीजनको नागरिकता खारेज गरेर बहुचर्चा बटुल्ने प्रयास गरेका ओलीले त्यतिबेला के हेरेका थिए ? गृहमन्त्री कृष्ण सिटौला थिए । अर्थमन्त्री डाक्टर रामशरण महत थिए । माओवादीसँग वार्ता खुब चलिहरकोे थियो ।

वार्ता टोलीमा सक्रिय थिए रमेश लेखक र प्रदिप ज्ञवाली । नागरिकता वितरण गरिएका जिल्ला प्रजिअ कोही मधेशी थिएन । काठमाडौंले मधेशलाई भारत नजिक ठान्छ । अझ प्रधानमन्त्री ओलीले स्पष्टै रुपमा बिहार र उत्तरप्रदेशको मनोविज्ञानसँग जोडेर हेर्ने गरेको चर्चा सुनिन्छ । तर, ओली दोस्रो शक्तिशाली मन्त्री हुँदा नक्कली नागरिकलाई सक्कली प्रमाणपत्र दिइन्छ ।

सुस्तामा लड्ने अरु कोही होइन, मधेशी नै हो । सप्तरीमा लड्नेपनि मधेशी नै हो । महलीसार बाँधका कारण कपिलवस्तुमा डुब्नेपनि मधेशी नै हो । लक्ष्मणपूर बाँधका कारण मर्नेपनि मधेशी नै हो । कोशी ब्यारेजको ढोका थुनिदा निसासिनेपनि मधेशी नै हो । सास्ती भोग्नेपनि मधेशी संर्घष गर्नेपनि मधेशी । तर, नक्कलीलाई सक्कली नागरिकता दिनेहरु उनीहरुलाई नै परदेशी देख्ने गर्दछन् । बिडम्बना यही हो ।

नागरिकता अभियान, चुनावी रणनीति

धेरैले भन्छन्ः पंचायत राष्ट्रवादी थियो । तर, बुझ्दै जाँदा व्यवस्था जोगाउनका लागि बनाइएको रणनीतिले नेपालको राष्ट्रियता पंचायतकालमै संकटमा पारिएको थियो । जनमत संग्रहमा पंचायतलाई जिताउनका लागि प्रधानमन्त्री सूर्यबहादुर थापाले सीमावर्ती क्षेत्रका भारतीय नागरिकलाई नागरिकता दिइयो । ३० लाख १२ हजारलाई नागरिकता वितरण गरिदां कैयौ भारतीय परे । त्यसमाथि नागरिकता पाउनका लागि प्रमाण नपुगेका साढे १४ लाख बालिकको नाम संकलन गरियो । उनीहरुको नाम मतदाता नामावलीमा लेखियो । चुनावमा पंचायतले जित्यो । पछि राजाले मतदाता सूचीलाई खारेज गर्ने निर्णय गरे । व्यवस्था परिवर्तन गर्नका लागि मतदान गर्न पाउने कसरी अवैधानिक भए ? भन्ने प्रश्न गुजुल्टिरह्यो ।

नागरिकताको राजनीति आफु अनुकुल हुँदै आएको छ । हरेक दिनजसो नक्कलीले कुनै न कुनै हिसावले नागरिकता पाइरहेका हुन्छन् । प्रत्येक चुनावको ठीक अघि नागरिकता बांड्ने गरिएको छ । २०७० को चुनावको अघि झण्डै २ लाखलाई नागरिकता वितरण गरियो ।

तिलाठीको पाठः राष्ट्रवादी को ?

नक्कलीले नागरिकता पाउंछन् । मयलपोश लगाउनेले नागरिकता वितरण गर्छन् । दूरदृष्टि सक्कली नागरिकमा पर्दछ । सबै मधेशी परदेशी देख्नेका कारण आन्तरिक एकता कमजोर पार्दै लगेको छ । सप्तरीको तिलाठीमा भारतीयसँग लड्न को गए ? कसले अन्तर्राष्ट्रिय प्रावधान विपरित बनाइएको बांध फुटाउने हिम्मत गर्यो ?

यो त प्रष्टै देखियो । नदेखिने खालका वा काठमाडौंसम्म तरंग नपुग्ने संर्घष त दिनदिनै भइरहन्छन् । मै हुं भन्ने राष्ट्रवादीले पनि अन्तर्राष्ट्रिय प्रावधान विपरित बनाइएका पूर्वाधारका बारेमा संयुक्त राष्ट्रसंघसम्म कुरा पुर्याएन । उजुरबाजुर गरेन । लिपु, कालापानी, सुस्ता आदिइत्यादि ७१ ठाउंका भूमीका बारेमा चुइक्क नगर्ने तर मधेशीलाई औंला ठड्यार राष्ट्रवादी देखिने होडबाजी चल्यो ।

काठमाडौंमा राजेन्द्र महतोहरुको अनुहार मन नपराउनेहरुले सबै मधेशीलाई उस्तै देख्छन् । राजेन्द्र महतो मधेशका नेता हुन् तर मधेशको आम मनोविज्ञान होइनन् । हाम्रो सीमा सशस्त्र प्रहरीले रक्षा गरेको छैन । सीमावर्ती जनताले गरेका छन् । मधेशको राजनीति गर्ने र देशभक्तिको कुरा गर्ने जमातभन्दा विशाल राष्ट्रवाद बोकेका सीमामा तैनाथ मधेशीका कारण देश जोगिएको छ ।

नेपालआजबाट

तपाईको प्रतिक्रिया