मुकपीडा र जलनमा स्वतन्त्रता

 ‘सहृदयी’हाम्रो मुलुकले परिवर्तनका लामा इतिहासलाई आफ्ना पोल्टामा पारेको छ । विकासका लागि सिद्धान्तका लामा–लामा आशावादी ठेलीमा सपनाका दरबार बने । हो, हरेक व्यक्तिले शान्ति, समृद्धिमा अमन चैनको जिन्दगी जिउन चाहन्छ । कसैको दमन, जलन, अत्याचारबाट मुक्त हुन नपाउँदा मानव मन मात्र होइन प्राणी मात्रको दिलमा चोट पुग्छ । वर्तमान युगसम्म आइपुग्दा देशका व्यवस्थामा स्वतन्त्रताका लागि सुन्दर कानुनी प्रावधान हुँदाहुँदै आज पनि दुरदराजमा जलन छन्, पीडा छन् । मुकशैलीबाट बालश्रम शोषण भइरहेका छन्– अलिकति विकसित तरिकाबाट, अलिकति पृथक ढाँचामा श्रमिकले साहु–महाजनको हली बन्नु नपरेको भन्ने पनि छैन ।

हलिया प्रथा, दास प्रथा, झुमा प्रथा या त छाउपडी प्रथा, देउकी प्रथाको मारमा अभाव र अशिक्षाको जलन छ । विपन्न वर्गका वेदना त्यसै चिमोटिएका छन् । तिनका आवाजलाई टाठाबाठाकै दमनकारी स्वरले सर्लक्क ढाकेर चाकडीबाजकै गुदीले आधार दिनैपरेको छ ।   भर्खरै भएको स्थानीय चुनावका लागि लाखौँ रकमसँग भोट बिक्रीवितरण भएका यथार्थ कुरा गाउँ, समाजका चोक, चमेनागृहमा पोखिन थालेका छन् । न्यायालयदेखि हरेक पुस्तकालयसम्म कर्मचारीतन्त्र, पाटीगत नातावादी दादावाद, उपल्ला ओहदाका कर्मचारीका दबाबमूलक आदेशले बिना हिचकिचाहट चाकडीबाजको मैदान पाउँछ । पैसाको चलखेलसँग कैयौँ सेवामूलक कार्यक्रम चल्छन्, जनताका पसिनामा खेलबाड हुन्छ, सोझा र निरीहलाई चुसिरहिन्छ । यी सबै विचारमा आजको तीतापीरा वास्तविकता अवस्य छन् ।

रमेश भट्टराई ‘सहृदयी’

बाध्ताले, अवसरको आशाले दमनलाई मुकशैलीमा स्वीकार गर्नैपरेको छ । पितृसत्तात्मकता छ, गरिबीको दुर्दशामा अशिक्षा छ, विभेदमा मौका छोपेर उपेक्षाकै स्तरमा निरीहका स्वतन्त्रतालाई पिल्स्याइएका तीता यथार्थ छन् । त्यहाँ वाक्स्वतन्त्रता निमोठिएका छन् । नारी अस्मिता कुण्ठित छ– प्रथाले, समाजले, परम्पराले । विकट क्षेत्रका यी र यस्ता वेदनालाई पर्दाले यदाकदा रङ्गाएको होला । अभावसँग मितेरी लाउनेले नै जो होचो उसको मुखमा घोचो भनेभैmँ अनेक थरी समाजका लाञ्छना व्यहोर्दै गर्दा भ्रष्ट्राचार, पाटीवादी सोच र स्वार्थ, नातावाद, कृपावादले स्वतन्त्रता नै ‘आकाशको फल आँखा तरी मर’ भन्ने मनोवैज्ञानिक पीडा छँदै छन् । सूक्ष्मातिसूक्ष्म कामका लागि सरकारी कार्यालयमा हुन् या त निजीमा आखिर निरीहका आवाजमा साँच्चै पीडादायी जलन छन् ।

कर्मचारीतन्त्र, व्यक्तिको आनीबानीका कारण बोल्न नसक्ने र कुनै पाटीगत शक्तिलाई भिरेर हिँड्न नसक्ने वा नचाहनेमाथि हस्पिटलदेखि हरेक संवेदनशील कार्यमा समेत् हैरानी हुन्छ, पीडा हुन्छ, बेवास्था गरिन्छ । यी तीता सत्यप्रति जतिसुकै आवाज बुलन्द बन्दै आएका भए पनि ती बिलौना खोलाका गीत बनिरहेको सत्य नितान्त आजका हुन् । सरकारी काममा हैरानी र बेचैनीका कारण भ्रष्ट्राचार हुन्छन् र आज अझ मौलाएका तीता सत्य छन् । शैक्षिक सक्षमता होस् नहोस् दादावाद चल्छ, पाटीवादी स्वार्थसँगै नातावाद, कृपावादले पद, पैसा र प्रतिष्ठाको चङ्गुलमा निरीहले सधैँ जलिरहँदा पीडाका आवाज आइरहेकै छन् । बोल्न चाहेर पनि बोल्ने हो भने अप्ठ्यारो पर्ला कि भन्ने डरसँग कर्मचारीको सरुवा, बढुवा, जागिर स्थापनाका खेल चल्छन् । पाटीलाई गाली गर्ने परम्परा जति भइरहेका छन् सबै अनुशासनहीन व्यवहारका बेथितिले जन्माएको स्वार्थी प्रवृत्ति शिवाय अरु हुनै सक्दैन ।

संघीय शासनसँग यो मुकपीडाको सुधारप्रति जनताको आशा र अपेक्षा छ । त्यसो त आज पनि ढुक्क भएर सन्तोष मान्ने अवस्था कहाँ छ र ! हातमा सीप, बौद्धिकता या त क्षमता भएका व्यक्तिले विदेशिनु परेका सत्यको आँकलन नै कहाँ भएको होला त । शक्ति र सामथ्र्यले गाँजेको पद्धतिले शैक्षिक बेरोजगारिता र मनोवैज्ञानिक जलन भएका हुन् । अलिकति आशा छ, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गनेमहायज्ञमा रेखी हालिएको अनुभूत छ । संघीय शासनका लागि यी आशा र अभिलाषाका परिशिष्टमा रहेका मागको सम्बोधनका लागि निर्वाचित नेतृत्वका लागि विशेष मौका हुन् । अब क्षमतावान्ले प्रमाणपत्रलाई सिरानी लगाएर सुत्नुनपरोस् । कुना कन्दरालाई चियाएर अलिकति विकासको बास्ना छर्नु संघीय शासनको सुनौलो अवसर त्यहाँ छ । आगतको घडीले यिनै सपनालाई काँधमा राखेर हिँड्ने ठूलो आशा छ– स्वतन्त्रतासँगै ।

चाहे अभाव होस्, चाहे गरिबी होस्– स्वतन्त्रताको महानतामा दया, मानवता, बन्धुत्वका भाव जागृत हुन्छन् । खान, बस्न र सुत्न त जेलका मानिसलाई पनि दिइन्छ । सुरक्षा व्यवस्था त्यहाँ झनै कडा हुन्छ, आधारभूत आवश्यकता पनि त पूरा भएकै हुन्छन् तर त्यहाँको अभाव रहेछ– स्वतन्त्रता । स्वतन्त्र मुहारमा खुसीको रङ पोतिन्छ । हरेक सजीव प्राणी आफ्नै स्वतन्त्रतामा जिउन चाहन्छ, सर्वश्रेष्ठ प्राणी मानवले न्यायोचित व्यवहार गर्न पनि जान्नुपर्छ । महात्मा गान्धीले भनेका छन्– “स्वतन्त्रता राष्ट्रको अनन्त यौवन हो ।” खुला आकाशमा निर्बाध उड्ने सुँगालाई पिजडाको संसारभित्र कँज्याइएको सुविधाभन्दा चारोको खोजीमा धित मरुन्जेल प्रकृतिको काखसँग विचरण गर्दाको मजा बेग्लै हुन्छ । “पिजडाको सुँगा” कवितामा अभिधा र व्यञ्जनात्मक भावलाई समेट्दै सुँगाको स्वतन्त्रतासँग जनताको स्वतन्त्र सत्ताको आवाजलाई कविशिरोमणि लेखनाथ पौड्यालले गुन्गुनाएका आवाजमा इतिहासको स्मरण छ–“मकन हरे शिव शान्ति र चैन । सपनाबिच पनि रतिभर छैन ।

आफ्नो गतिविधि वा कार्यमा स्वाधीनता अर्थात् बन्धन नभएको स्थिति हो –स्वतन्त्रता । नेपालको संविधानले भाग ३ को मौलिक हक र कर्तव्य अन्तर्गत धारा १७ मा “कानुन बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन” भनी स्वतन्त्रताको मूल्यलाई शङ्खघोष गरेको छ । विचार र अभिव्यक्तिको स्वतन्त्रता, बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, संघ र संस्था खोल्ने स्वतन्त्रता, नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता, नेपालको कुनै पनि भागमा पेशा, रोजगार गर्ने साथै उद्योग, व्यापार तथा व्यवसाय स्थापना र सञ्चालन गर्नेजस्ता स्वतन्त्रतालाई संविधानले लिपिबद्ध गर्न चुकाएको छैन । भाग ३, धारा २६ मा ‘धर्म अवलम्बन, अभ्यास र संरक्षण गर्ने’ धार्मिक स्वतन्त्रताको आवाजले आफ्नो स्थान सुरक्षित गरेको छ ।

बीसौँ शताब्दीतिर नारी स्वतन्त्रताको सम्मानमा घन्किएको बिगुल; समावेशी बगैँचामा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक सहिष्णु सद्भाव सबै क्षेत्र र विषयवृत्तमा स्वतन्त्रताकै चाहना बुलन्द हुँदा रहेछन् । स्वतन्त्रताको बाहुलीमा हक र अधिकारले फस्टाउँदा मानिसमा भलै भौतिक सम्पन्नता नहोस् तर मनोवैज्ञानिक आनन्द मिल्छ । हाम्रो संस्कार, परम्परा अनि प्राचीन इतिहासको रामराज्यदेखि पृथ्वीनारायणले समेत् एकतासँग राज्य एकीकरणको अर्जुनदृष्टिमा स्वतन्त्रतालाई जोड दिएका हुन् । आजको अत्याधुनिक युगमा संघीय व्यवस्थाभित्र हरेक नागरिक हक र अधिकारले समावेशी परिवेशमा स्वतन्त्रताकै विषय सारलाई शिरोधार्य गर्न चाहेको महसुस हुन्छ । हरेक प्रतिभाले स्वतन्त्रतामै जाग्न पाउँछन् । अवसरको ढोका स्वतन्त्रताबाटै उघ्रिन्छ । अर्बौँ डलरमा किन्न नसकिने खुसीको प्राप्ति नै स्वतन्त्रताले दिने उपलब्धि रहेछ । स्वेच्छाले राष्ट्रसेवा गर्नेहरूका लागि खुलेर आफ्नो पौरख र पुरुषार्थ प्रदर्शन गर्ने सबल मार्ग प्रशस्त गराउँछ ।

बजारमा प्रतिस्पर्धा बढ्छ । स्वतन्त्रताभित्रका कमजोरीकै कारण राजनैतिक बेथिति बढ्दो रहेछ । शाषक वर्गमा सत्ता र भ्रष्ट्राचारको अखडालाई सहज बनाइदिएका पक्षमा कानुनको गाँठो भने कडा हुनैपर्छ । हाम्रो जस्तो मुलुकमा असचेतता र अशिक्षाका कारण अल्पसङ्ख्यकका समस्या ओझेलमा पर्ने डर हुने हुनाले व्यक्तिगत समस्यामा जान संघीय शासन दह्रो बन्नुपर्छ । गरिबी, महङ्गीको मार, बेरोजगारीजस्ता समस्याले त आज स्वतन्त्रता नै बाँदरको हातमा नरिवल भएको अनुभुति गरेका पीडादायी यथार्थ छँदै छन् । सुविधाभोगी मपाईँत्व बढ्दा राष्ट्रहीतको नाममा व्यक्तिगत स्वार्थले सीमा मिचे पनि शक्तिलाई स्विकार्नै पर्ने विडम्बनाले राज्य व्यवस्थापनको स्वतन्त्रतालाई धक्का पु¥याउँछ । राजनैतिक अस्थिरता, अशान्तिपूर्ण आन्दोलन, चक्काजाम, विरोधले भौतिक संरचनामा क्षति पु¥याइएका घातक कार्यले हुन् या आन्दोलन नगरे कुरै सुनुवाई नहुने समस्यालाई नियाल्दा जनताको सुनुवाई हुने विभाग नै खडा गरी न्यायोचित संयोजन गर्नुपर्ने अवस्थामा सचेतनाको आवश्यकता छ ।

दादावाद बढे समाजको आदर्शतामा घात पुग्न जान्छ । सात्विक, निष्पक्ष सेवा गर्नेमा उत्साह मर्छ । आर्थिक तथा सामाजिक, सांस्कृतिक रुपान्तरणमा विकृत पक्षले डेरा नजमाओस् भन्नका खातिर समन्वयकारी मध्यमार्गमा अब त जनताले आन्तरिक स्वरोजगारमा आफ्नो सीप र क्षमतालाई निर्बाध पोख्ने अवसर पाउनुपर्छ । यसर्थ वैयक्तिक, राजनैतिक, धार्मिक–सांस्कृतिक, पारिवारिक, नागरिक स्वतन्त्रताजस्ता व्यापक परिधिमा मानवीय सुख, अमन–चैनका पक्ष गाँसिएका हुन्छन् । प्रेस स्वतन्त्रताका कुरा उठ्छन् । मानवीय हक र विविध अधिकार प्राप्तिका पक्षमा स्वतन्त्रताकै लडाइ भइरहेका छन् । विश्व परिवेशलाई अहिलेकै अवस्थामा हेर्ने हो भने हामी त गौरव गर्न कञ्जुस्याईँ गर्नुपर्नेमा पर्दैनौ सायद । संसारमा अभैm कठोर शासनको जलनमा जनता आजित छन् ।

म्यानमारको स्वतन्त्र शासनका निम्ति आङ सान सुकीको प्रशंसनीय कोसिस जारी छ । नेल्सन मन्डेलाले दक्षिण अफ्रिकालाई स्वतन्त्रता दिलाएको धेरै भएकै छैन । अब्राहम लिङ्कनले करिब चालीस लाख दासदासीलाई दासत्वको जन्जिरबाट मुक्ति दिलाएर स्वतन्त्रताको सुगन्ध छरे । महात्मा गान्धीले अहिंसा र सत्मार्गको आडमा रहेर अङ्ग्रेजको उपनिवेशबाट भारतमा स्वतन्त्रताको बिगुल घन्काए । उनले त्यहाँ कृषकहरूलाई जगाउँदै गर्दा पं. जवाहरलाल नेहरूले बुद्धिजीवीलाई तान्दै सपेटी पारेर भारतीय स्वतन्त्रतामा हात दिए । १६ जुलाइ १९१७ मा लेनिनले रूसमा समाजवादी क्रान्तिसँग सर्वसाधारणका लागि स्वतन्त्रताको बाटो दिए । निर्दोष सोझा जनताले निशानामा परेर जीवनलाई विनाकारण मृत्युसँग तोल्नु परेका पीडाको हृदयविदारक दृश्य कति त्रासदीपूर्ण हुन्छ ।

कठोर शासन व्यवस्थाबाट उम्केर स्वतन्त्रता प्राप्तिका निम्ति विश्वका मानव अधिकारकर्मी, स्वतन्त्रताप्रेमी तथा यस विषयमा सरोकार राख्ने अनेकौँ संघ–संस्था चिन्तित छन् । साहित्यले स्वतन्त्रतालाई बोल्छ, निःस्वार्थ मानवीय सेवाले शान्तिप्रेमी मनलाई पगाल्छ अनि जन्मन्छ– त्यहाँ साँचो स्वतन्त्रता । आज पनि मानव समुदायले आफ्नो हक र अधिकारका निम्ति खुल्न नपाएका विश्व–समाचारलाई हेर्दा संसारको स्वतन्त्रता र सहअस्तित्वको प्राप्तिका तुलनामा नेपाल धेरै अघि रहेको आशामा मुक पीडा भने नभएको होइन । सम्भवतः अब सङ्क्रमणको सङ्कट चिरेर संविधानको पोयो नभुले जन आकाङ्क्षाका स्वतन्त्र स्वर्णिम स्वप्नाले साकार हुन पाऊलान् ।

तपाईको प्रतिक्रिया