अन्य धर्ममा पनि गर्ने गरिन्छ : पितृकर्म अर्थात् श्राद्ध

सनातन हिन्दू संस्कृतिमा जसको जन्म हुन्छ, उसको मृत्यु र जसको मृत्यु हुन्छ, उसको जन्मपनि निश्चित हुँदै सांसारिक प्रक्रिया निरन्तर चलि रहन्छ भन्ने मान्यता छ । यस जन्म र मरणको चक्रमा नछिर्नु भनेको नै मोक्ष हो । हामीकहाँ हाम्रा मृत्यु भएका आफन्त वा नरनाताका व्यक्तिहरूको परम्परादेखि चलिआएका विधि र चलनअनुसार दशगात्र कर्म नगर्दा, पूर्वजहरुलाई नसम्झिंदा, वार्षिक तिथिमा श्राद्ध नगरिदिंदा घरपरिवार र वंशमा अशान्ति , उपद्रव , वंशवृद्धिमा अवरोध, रोगव्याधि, आकस्मिक दुर्घटना, निरन्तर सङ्कटप्रद परिस्थिति आदि परिरहन्छन् भन्ने मान्यता पनि छ । हिन्दू धर्मशास्त्रका विभिन्न धर्मग्रन्थमा यिनै विषयवस्तुको पुष्टि भएको छ ।

मृतकको मरणतिथि (छिन्नेतिथि) मा वा पितृपक्षमा पर्ने आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्म सूर्य कन्या राशिमा भएको अवस्थामा आफ्ना समस्त पितृको श्राद्ध गर्नाले उनीहरू मुक्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । श्राद्ध गर्दा पितृको कल्याणमात्र हुँदैन, श्राद्ध गर्ने सन्तानले पनि उनीहरूको आशीर्वादबाट कल्याण प्राप्त गर्छन्, कार्य सफल हुन्छ, ऐश्वर्य प्राप्त हुन्छ भन्ने वर्णन विभिन्न धर्मग्रन्थ र पुराणमा उल्लेख गरिएको छ । श्रद्धया दीयते यस्मात् श्राद्धं तेन निगद्यते अर्थात् श्रद्धापूर्वक गरिएको दानादि नै श्राद्ध हो ।

कृष्णप्रसाद काेर्इराला

हिन्दू पद्धतिमा प्रचलित तर्पण, पिण्डदान, ब्राह्मणभोजनादि नै सम्पादन गरेर हामीले जसरी नै श्राद्ध नगरे पनि संसारका प्रायः सबै भूभागमा बसोबास गर्ने जुनसुकै समुदायका मानिसहरूले आफ्ना मृतपूर्वजहरूको स्मरणमा कुनै न कुनै श्रद्धाभाव व्यक्त गरेर तिनको वात्सल्य, मायाममता, गुण र धर्मको अनुसरण गर्ने गर्दछन् अर्थात् श्रद्धापूर्वक मृतकलाई उद्देश्य गरेर गरिने कृत्यविशेष प्रायः सबै धर्म र समुदायका व्यक्तिहरूले सम्पादन गर्ने गर्दछन् । त्यसैले भिन्नभिन्न देशमा फरकफरक संस्कृतिको अनुसरण गरी जीवनयापन गरे पनि मृत्युपछि मृतकका निम्ति जुन कर्म सम्पादन हुन्छ, त्यो श्राद्ध नै हो । यस आलेखमा सनातन संस्कृतिभन्दा भिन्न अन्य धर्म, सम्प्रदाय र स्थानका व्यक्तिहरूले पनि केकसरी आफ्ना मृतपितृहरूको सम्मानमा श्रद्धाभाव व्यक्त गर्दा रहेछन् भन्ने विषयमा चर्चा गरिएको छ ।

बौद्ध संस्कृतिमा प्रचलित श्राद्ध

बौद्ध मतानुयायीहरूको नेपाल र भारतबाहेक लङ्का, वर्मा, थाइल्याण्ड, कम्बोडिया, लाओस, तिब्बत, मङ्गोलिया, जापान, चीन आदि देशहरूमा  बाक्लो उपस्थिति छ । बौद्ध मतमा पनि हीनयान र महायान दुई भेद छन् । हीनयान सम्प्रदायका क्रमशः श्रावक, प्रत्येक बुद्ध र सम्यक् सम्बुद्ध गरी तीन वटा मार्ग छन् भने महायान सम्प्रदाय चाहिं केवल सम्यक् सम्बुद्ध मार्गको पोषक हो । हीनयान समुदायका बौद्धहरू लङ्का, वर्मा, थाइल्याण्ड, कम्बोडिया एवं लाओस आदि देशमा बस्छन् भने तिब्बत, मङ्गोलिया, चीन, भियतनाम आदि क्षेत्रमा महायानीहरूको बसोबास छ । बौद्धहरू आत्मालाई अनित्य मान्छन् अर्थात् बुद्धले अवयवीलाई मान्दैनन् । धर्मसमुच्चयलाई मान्छन् । जस्तै घडा परमाणुको अवयवी होइन धर्मसमुच्चय हो (अवयव समुच्चय) । आत्मालाई अनित्य माने पनि लङ्कादि प्रदेशमा कसैको मरण भएमा मरण दिनदेखि दुई दिनपछि अथवा सात दिनपछि मृतकलाई भुइँमा गाडेर त्यसमाथि स्तूप बनाउँछन् । मरणपछि सात दिनमा अथवा तीन महिनामा मरण तिथिमा बन्धुहरूलाई भोज दिने, दान गर्ने र धर्मग्रन्थ त्रिपिटकका केही अंशहरू पाठ गरेर मरणोत्सव मनाउँछन् ।

जैन संस्कृतिमा श्राद्ध

महावीर स्वामी जीन (ज्ञानी) भनिन्छन्, त्यस मतलाई अवलम्बन गर्नेलाई जैन भनिन्छ । जैन मतको स्याद्वाद अनुसार अवस्था भेदले आत्मा नित्य र अनित्य दुबै छ । नश्वर देह मनुष्यादिमा भएको आत्मा अनित्य र देवताहरूमा विद्यमान आत्मा नित्य र अमर हुन्छ । मरणपछि जैनीहरूको आशौचादि क्रिया जैनमतानुसार र जैनबाहेक गृहस्थीका अनुसार दुबै प्रकारले सम्पन्न हुन्छ । यस मतमा १२ दिनपछि १३ दिनका दिन केवल बन्धुबान्धवादिलाई भोजन गराउने क्रिया हुन्छ । १२ दिनसम्म अरु कुनै क्रिया हुँदैन । जैनेतर गृहस्थी मतमा त पिण्डादि श्राद्धक्रिया सबै हुन्छ । अतः आत्मा नित्य र अनित्य दुबै पक्ष मान्ने जैन मतमा पनि श्राद्ध हुन्छ नै ।

शिख धर्ममा श्राद्ध

शिख धर्ममा आत्मा नित्य, अमर, व्यापक र आत्माबाट नै जगतको उत्पत्ति हुन्छ । नानकका वचनानुसार आत्माको पुनर्जन्म हुन्छ । जगदीश जगतमा छ, जगत् जगदीशमा । शिख धर्मको धर्मग्रन्थ गुरुग्रन्थसाहेब हो । यस सम्प्रदायमा कसैको मरणपछि मृतकदेखि केही टाढा वा नजिकमा नै बसेर सुखमनी ग्रन्थको पाठ गरिन्छ । शव दाह गरेपछि मनुष्यहरू घरमा आएर प्रार्थना गर्ने र प्रसाद ग्रहण गर्ने गर्छन् । मरण दिनदेखि १३ दिनसम्ममा गुरुग्रन्थसाहेबको पूरा पाठ हुन्छ । पाठपछि ‘हे गुरु नानकजी यो छुटेर गएको आत्मालाई आफ्नो चरणकमलमा निवास दिनुहोस् एवं हामीहरूलाई शान्ति र शक्ति दिनुहोस्’ भनेर प्रार्थना गर्छन् । मरण दिनदेखि प्रत्येक महिनामा, वार्षिक तिथिमा मृतकलाई सम्झन्छन् एवं भोज खाने र खुवाउने गर्दछन् । आत्मालाई नित्य मान्ने शिख सम्प्रदायकाहरूले उपरोक्त तरिकाबाट श्राद्ध गर्दछन् ।

इस्लाम (मुस्लिम) धर्ममा श्राद्ध

मुस्लिम धर्ममा सुन्नी र सिया गरी दुई सम्प्रदाय छन् । अति दुःख हुँदा सुन्नी सम्प्रदायले मुहर्रमको समयमा रुने र हातले छाती पिट्ने गर्दछन्, तर सिया सम्प्रदाय अति दुःखमा पनि स्तब्ध भएर शान्त रूपमा रहन्छन् । सियामा पनि कहिलेकाहीं अति दुःखमा रुन्छन् । दुबै सम्प्रदायले इस्लाम धर्म मान्दछन् । यी दुबै सम्प्रदायका अनुयायीहरूले मरणपछि मृतकको शवलाई भुईंमा गाडेर माटोले छोपिदिन्छन् । माटोले मृतकलाई ढाकेको त्यो ठाउँलाई कब्र भनिन्छ । माटोले पुरेपछि दुबै सम्प्रदायले मृतकलाई आशीर्वाद (सबाब) मिलोस् एवं जीवित र उसका वंशलाई सुख मिलोस् भनेर प्रार्थना गर्छन् । यसभन्दा बढी सियासम्प्रदायले अरु केही क्रिया गर्दैनन् ।

सुन्नी सम्प्रदायले शबलाई पुरेपछि तीजा कर्म गर्छन् । तेस्रो दिन वा चौथो दिनमा दीनदुःखीहरूलाई यथेष्ट भोजन गराउँछन् र आफ्नो वंशकालाई पनि खुवाउँछन् । त्यसपछि केही मानिसहरूले मृतकलाई कुरान खानी कर्मको आशीर्वाद मिलोस् भनेर कुरान खानी कर्म अर्थात् कुरान ग्रन्थका तीस खण्डहरूमध्ये केही खण्डहरूको पाठ गर्दछन् । चालीस दिनमा या चालीस दिनको बीचमा चालीसौं कर्म गर्न पुरोहित (हाफिज) आएर कब्रको नजीक अथवा घरमा कुरान पाठ गर्छ । पुरोहितलाई दक्षिणा पनि दिइन्छ । बकरीद पर्व पहिले अरफा कर्म जसमा दिनदुःखी र घरका सदस्यहरूलाई यवागू आदि दिन्छन् । यसरी मृतक परेका पितृहरूसँग मिलेको जानेर खुसी हुन्छन् ।

इस्लाम धर्मअन्तर्गतकै यवन संस्कृतिमा फकिर/पीर (साधु) हरूको मरणपछि वर्ष दिनमा वार्षिक कर्म ‘उर्स’ हुन्छ । यवनहरू पनि आत्मालाई नित्य मान्छन् । मरणपछि जीवात्मालाई सन्तुष्ट गर्न उनीहरूले गरेको कर्मबाट यवन मतमा पनि श्राद्ध गरिन्छ नै भन्ने ज्ञान हुन्छ । श्रद्धाले दानभोजनादि दिने र धर्मग्रन्थ पाठ गरिने भएकाले मुस्लिम र यवन सम्प्रदायमा प्रचलित यी कर्म पनि श्राद्ध नै हुन् ।

क्रिश्चियन धर्ममा श्राद्ध

क्रिश्चियनहरू मरणपछि शवलाई स्नान गराउँछन्, त्यसपछि सेतो कोट र पेन्ट आदि लगाएर केश काँटछाट गरेपछि भुईंमा राखेर त्यस शवलाई आफन्त र इष्टमित्रले शिरदेखि पाउसम्म कपडाले ढाकिदिन्छन् । त्यसपछि पुरोहित (पादरी) ले ईश प्रार्थना गरेपछि त्यस शवलाई काठको बाकस (कोफिन) मा राख्छन् । विवाहित मरेमा बाकसभित्र सेतो कपडा बिच्छ्याउँछन् र बाहिर कालो वस्त्र राख्छन् । अविवाहित मरेको खण्डमा बाकसको भित्र र बाहिर दुबै भागमा सेतो कपडाले ढाक्छन् । सेतो कपडाले ढाकेको बक्सबाट सांसारिक प्रपञ्चबाट मुक्त पवित्र मानिस हो भन्ने थाहा हुन्छ । श्मशानघरतिर शब लैजाँदा त्यस शवको अगाडि सेतो कपडा पहिरेको बाहिरबाट कालो कपडा सहितको पादरी (पुरोहित) जान्छ । उच्चकुलको अथवा भक्त मरेको भए शवलाई बाकसमा राखी यथास्थानमा बसेपछि पुरोहित उठेर ईशप्रार्थनाको आधा भाग पढेपछि श्मशान घाटमा जान्छन् । त्यहाँ पुगेर बाँकी रहेको आधा भाग पाठ पादरीले पढ्छ । त्यसपछि शवलाई भुईंमा (खाडलमा) राखिदिन्छन् र त्यहीं नै एउटा कागजमा मरेकाको नाम, उमेर, उसले गरेका सेवादि कर्म, श्मशानस्थान र चिहान परिचय सबै लेखिन्छ । त्यसपछि अरू कर्म केही पनि गर्दैनन् । क्रिश्चियन मतमा आत्मा अनित्य भए पनि मुर्दा सजाउने र प्रार्थनादि गर्ने कामबाट उनीहरूले पनि कुनै न कुनै ढंगले श्राद्ध गर्छन् भन्ने कुरा थाहा पाउन सकिन्छ ।

माथि धर्म र सम्प्रदायगत ढंगले केकसरी मृतकका नाममा श्रद्धाभाव व्यक्त हुन्छ भन्ने विषयमा चर्चा गरियो । यसबाहेक ठाउँ र देशअनुसार पनि श्राद्धका केही कर्महरू सम्पादन हुने गरेको प्रसङ्ग उल्लेख गरिन्छ ।

१) जर्मनी – आधुनिक देश जर्मनीमा प्रतिवर्ष २१ अक्टुबरमा मृतात्मा दिवस मनाइन्छ । यस दिन सम्पूर्ण चिहान क्षेत्र सफा गरी त्यहाँको जमिनमा कोइलाको धूलो छरी त्यसमाथि रातो रङ्गले विभिन्न चित्रहरू बनाइन्छन् । यस दिन व्यक्तिको मृतात्मा त्यहाँ आउँछ भन्ने मानिन्छ । प्रत्येक चिहानमा मृतात्माको तुष्टिका लागि केक तथा फूलका माला राखिदिन्छन् । नगरका प्रत्येक गृहस्थीको घरमा भोजनले परिपूर्ण एउटा थाल गिर्जाघरको वेदीमा अनिवार्य रूपले राख्नुपर्छ । यसो गर्नाले त्यो भोजन मृतात्माहरूसँग पुग्छ र उनी सन्तुष्ट हुन्छन् भन्ने मान्यता छ ।

२) अमेरिका – अमेरिकाका रेडइन्डियन समुदायमा मृतात्माहरूको शान्तिको समारोह फरवरी महिनामा मनाइन्छ । हाम्रो श्राद्ध पक्ष झैं उनीहरूको यो समारोह कैयौं दिनसम्म चल्छ र समारोहको समयमा मदिरापान, मासु तथा तमाखु आदिको सेवन पनि निषिद्ध हुन्छ । यी दिनमा एक गाउँका निवासीले सामूहिक रूपले अर्को गाउँका निवासीहरूलाई भोजनका लागि निमन्त्रणा गर्दछन् । उनीहरूको धारणामा निमन्त्रित पाहुनाहरू मृतकका प्रतिनिधि हुन्छन् । आमन्त्रित गाउँलेहरू रङ्गीबिरङ्गी कपडा लगाएर  निम्ता गर्ने गाउँमा पुग्दा त्यहाँका गाउँलेहरूले अङ्गालो मारेर रुँदैरुँदै उनीहरूको स्वागत गरेपछि खानपिन र नाचगानको कार्यक्रम राति अवेरसम्म चलिरहन्छ ।

३) जापान – जापानमा मृतात्मा पर्व प्रतिवर्ष अगस्त महिनामा लगातार तीन दिनसम्म हुन्छ । त्यतिवेला लामालामा बाँसमा झलल बल्ने अनेक रङ्गका बत्तीहरू झुण्ड्याएर पूरै शहर हामीहरूको तिहारमा सिंगारे जसरी नै सजाइन्छ । चौथो दिन मृतात्मालाई विदा गर्ने दिन हुँदा घरका सबै झ्याल र ढोकाहरू खोलिदिन्छन् । यसो गर्नुको तात्पर्य घरमा भित्रिएका वा बसेका मृतात्माहरू बाहिर जान सकून् भन्ने उद्देश्य हो । मायामोहले यदि कुनै मृतात्मा घरमा लुकिबसेको भए त्यसलाई भगाउन घरमा जताततै यहाँसम्म कि स्नान घर वा शौचालयहरूमा पनि लौरो घुमाउँछन् । अन्तिम चरणमा शहरमा सबै निवासीले एक जुलुस निकालेर ती अतिथि आत्माहरूलाई शहरदेखि बाहिर पुर्याएर घर फर्कन्छन् ।

४) फ्रान्स – फ्रान्समा नोभेम्बर महिनाको मध्यमा ‘अलओल्ड सोल्स डे’ अर्थात् सबै पुराना मृतात्माहरूको दिन भनी मनाउने चलन छ । यस दिन चर्चमा मृतात्माहरूका लागि विशेष प्रार्थना सम्पादन गरिन्छ ।

५) अफ्रिका – अफ्रिका महाद्वीपमा बसोबास गर्ने एउटा जाति छ -दहोमन । दहोमन जातिद्वारा प्रतिवर्ष अप्रिल महिनामा मृतात्मा दिवस मनाइन्छ । उक्त अवसरमा यस जातिका मानिसहरू आपसमा (परस्पर) प्रसादको रूपमा जौको मदिरा एकअर्कालाई उपहारका रूपमा दिन्छन् र एउटा भाँडोमा भरेर त्यही मदिरा मृतकको चिहानमा लगेर दुई दिनसम्म राखिदिन्छन् । तेस्रो दिन घरका सबै मानिस त्यस चिहानमा गएर त्यो मदिरा भएको भाँडो घर ल्याउँछन्, अनि सबै मानिसहरूले उक्त भाँडोमा भएको मदिरा पान गरी नाचगान गर्दछन् ।

६) सिसली – सिसलीमा मृतात्मा दिवसका दिन आमाबाबुले घरका साना केटाकेटीहरूलाई गोप्य रूपमा उपहार दिन्छन् । ती आमाबाबुले घरका कसैलाई पनि थाहा नदिईकन बजारबाट खेलौना ल्याउँछन् र केटाकेटीसँग भन्छन् कि आज राति हजुरबा, हजुरामाले तिमीहरूलाई उपहार ल्याइदिन्छन् । केटाकेटी सुतेपछि ती गोप्यरूपमा ल्याइएका खेलौना उनीहरूको सिरानमा राखिदिन्छन् । बिहान उठेर सिरानका खेलौना देख्दा केटाकेटीहरूले हजुरबा, हजुरामाले खेलौना ल्याइदिएको सम्झन्छन् ।

७) युरोप – इङ्गल्याण्ड, इटली र स्कटल्याण्डमा पनि प्रतिवर्ष नोभेम्बर महिना ‘सोल्स इभेनिङ’ अर्थात् मृतात्माहरूको सन्ध्या दिवस मनाइन्छ ।

८) सुम्बाद्वीप – सुम्बाद्वीपमा जनवरीमा मृतात्माहरूको पर्व दिनमा मानिसहरूले आफ्ना पूर्वजहरूको चिहानमा भोजको आयोजना गर्दछन् र उक्त अवसरमा आफ्ना मित्र तथा सम्बन्धीहरूलाई निमन्त्रणा गर्दछन् ।

९) हङकङ – प्रतिवर्ष चाइनिज नयाँ वर्षका दिन अर्थात् फरवरीको आरम्भमा हङकङका चाइनिजहरूले आफ्ना मृतकहरूको चिहानलाई राम्रोसँग सफा गरेर विभिन्न परिकारका स्वादिष्ट खानाहरू अर्पण गर्दछन् । अगरबत्ती एवं कपूर जलाई पितृहरूको सम्मान गर्छन् ।

अतः श्रद्धापूर्वक मृतकलाई उद्देश्य गरेर जे गरिन्छ, त्यो श्राद्ध भन्ने श्राद्धको परिभाषा अनुसार जहाँ, जसरी र जस्तो प्रक्रियाले गरे पनि माथि वर्णन गरिएका यी प्रक्रियाहरू श्राद्ध नै हुन् ।

स्रोत : श्राद्धविधि: (प्रकाशक – तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय)

तपाईको प्रतिक्रिया

Loading...