नेपालद्वारा भुटान ९ विकेटले पराजित

२८ भाद्र, काठमाडौँ । एसीसी अन्डर १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको लगातार दोस्रो खेलमा नेपालले शानदार जीत हात पारेको छ ।मलेसियामा जारी प्रतियोगितामा नेपालको अन्डर १९ टोलीले भुटानको अन्डर १९ टोलीलाई ९ विकेटले पराजित गरेको हो । पहिलो ब्याटिङ गर्दै भुटानले प्रस्तुत गरेको ५१ रनको लक्ष्य नेपालले मात्र ८.३ ओभरमा मात्र १ विकेट गुमाएर हासिल गरेको हो ।

नेपाललाई जित दिलाउन मोहमद आसिफ शेखले नटआउट रहँदै २३ रन बनाए । आउट हुनअघि सन्दिप सुनारले २१ रनको योगदान दिए । टस जितेर पहिलो ब्याटिङ गर्ने निधो गरेको भुटान मात्र २८ ओभरमा ५० रनमा अलआउट हुन पुगेको थियो । भुटानलाई सस्तोमा समेट्न दीपेन्द्र सिंह ऐरीले ५ तथा सन्दीप लामिछानेले ४ विकेट लिए । पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २ सय ५५ रनले पराजित गरेको थियो ।

प्रतियोगितामा ८ वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल र थाइल्याण्डसँगै भुटान र सिंगापुर समूह ए मा रहेका छन् भने समूह बी मा आयोजक मलेसिया, हङकङ, म्यानमार र चीन रहेका छन् । यो प्रतियोगिता एसीसी यू–१९ एसिया कपको छनौटको रुपमा पनि रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...