यसकारण १ नं. प्रदेश राजधानी इटहरी नै उपयुक्त

सुनसरी / साविकको पुर्वाञ्चलका लागि इटहरी केन्द्रकै रुपमा थियो । नेपाल सरकार मन्त्रीपरिषदको ०७१ मंसिर १६ को निर्णय अनुसार इटहरी नगरपालिकामा खनार, पकली, एकम्बा र हाँसपोसा गाविसलाई मिलाएर उपमहानगरपालिका घोषणा भएपछि इटहरीको केन्द्रिय प्रवृत्ति थप जाहेर भएको छ । सम्पुर्ण नेपाल र विदेशतर्फको आवतजावतका लागि पनि ‘ट्रान्जित पोइन्ट’ भएका कारण इटहरीले नेपालको अघोषित केन्द्रियताको शान सुरक्षित गरेको छ ।

उत्तरपट्टी धरान उपमहानगरपालिका, दक्षिणमा दुहबी नगरपालिका, पुर्वमा बेलबारी नगरपालिका र पश्चिममा रामधुनीभासी नगरपालिका सिमाना रहेको इटहरी विशेष गरी यातायात र व्यापारमा तिव्र विकासको चरणमा रहेको शहर हो । २०६८ को जनगणना अनुसार यहाँ ३३७९४ घर धुरीमा १,४०,५१७ को बसोबास छ । वर्षा याममा गर्मीसँगै निरन्तर वर्षाद र जाडो याममा निकै जाडो हुने यहाँको हावापानी उष्ण मनसुनी रहेको छ । यहाँ वार्षिक सरदर २१० सेमी वर्षा हुनेगर्दछ भने गर्मीको समय यहाँको तापक्रम ३८ डि.से.सम्म पुग्ने गरेको छ । पछिल्लो पुर्नसंरचना अनुसार इटहरीलाई २० वटा वडामा विभाजन गरी २०७४ साल साउनमा सम्पन्न स्थानिय निर्वाचनबाट मेयरमा द्धारिकलाल चौधरी र उपमेयरमा लक्ष्मी गौतम निर्वाचित हुनुभएको छ ।

श्रीशीशा राई

ब्राम्हण, क्षेत्री, नेवार, राई लिम्बु, थारु, गुरुङ, तामाङ, मुसहर, मुसलमान, सार्कि, दमाई, कामी, शेर्पा, मल्लिक(डुम), चमार आदिको मुख्य बसोबास रहेको यस शहरमा नेपाली, थारु, मैथिली, राई, लिम्बु, नेवारी, तामाङ, सुनुवार, हिन्दी लगायतका भाषा बोलिन्छन् । ४,१७७ हेक्टर क्षेत्रफलमा फैलिएको इटहरी पुर्णरुपमा तराई क्षत्र अन्तर्गतको समथर जमिन हो ।

किन उपयुक्त छ इटहरी ?

राजधानी भन्नुवित्तिकै सेवा, सुविधा र विकासको केन्द्रको रुपमा बुझिन्छ । यसबाहेक सम्भावना र अवसरको पर्याप्तता जरुरी हुन्छ । प्रमुख र उच्च सरकारी निकायका केन्द्रिय तहहरु र नेतृत्व रहने राजधानीबाटै बाँकी क्षेत्रमा सेवा सुविधाहरुको परिचालन र विस्तार हुने भएकोले यो सामान्यतया ठुलो शहर हुने धारणा हामीसँग छ तर राजधानी भन्नुवित्तिकै ठुलै शहर हुनुपर्छ भन्ने छैन । जस्तै भारतको सबैभन्दा ठुलो शहर मुम्बई हो तर राजधानी सानो क्षेत्रफलको नयाँ दिल्ली हो ।

यद्धपि कुनै स्थानिय निकायलाई स्तरोन्नति गरे झैँ कुनैपनि शहरलाई राजधानीमा स्तरोन्नति गर्दा नियमावली र मापदण्डमात्र पर्याप्त हुने अवस्था छैन । यो प्राविधिकसँगसँगै आवश्यकता, प्रभावकारी सेवा र सुविधाको प्रसारको सम्भावनाका आधारमा गरिने राजनैतिक सहमतिको विषय पनि हो । मौजुदा आधार, सम्भावना र अवसरहरु हेर्दा प्रदेश नं. १ को राजधानी हुनका लागि इटहरी भन्दा अर्को उपयुक्त ठाउँ देखिएको छैन ।

१) भौगोलिक अवस्थिति र सम्भावना

समुन्द्री सतहदेखि १,४३० मीटरको उचाईमा ठडिएको पहाड भेडेटारलाई सिरानी बनाएर लमतन्न सुतेको धरान शहरकै निरन्तरता हो इटहरी शहर । तर उचाई भने क्रमशः घट्दै गएको छ । धरान समुन्द्री सतहदेखि ३४९ मीटर माथि छ जबकी इटहरी ११६ मीटर मात्र माथि छ । इटहरीको उत्तरतर्फ धरानको सिमानामा फैलिएको विशाल घना चारकोशे जंगल इटहरीको गहना वा प्राकृतिक दौलत हो जसले इटहरीको पानी, मौसम र हरियाली प्राकृतिक वातावरण निर्धारण गर्ने गरेको विज्ञहरुले दावी गर्दै आएकाछन् । इटहरीका सबै भूभाग ११६ देखि १६४ मीटर गरी ४८ मीटर विचमा फैलिएका समतल तराई हुन् ।

त्यसैले हाल इटहरीमा मानविय वा प्राकृतिक संशाधनको कमी छैन । जे जति छ, त्यसको उपयोगको श्रृंखला अथाह छ । मात्र त्यसलाई सही उपयोग गर्न जरुरी छ । कतिपय उपयोगमा आउन नसकेका साधन स्रोत छन् । समाज र देशविकासमा ती संशाधनको उपयोग गर्ने र समृद्धि हासिल गर्ने अथाह सम्भावना छ इटहरीसँग । यातायातलाई थप विकास, विस्तार वा सुधार गर्न सकिन्छ । न्युनतम तापक्रम १९–२४ डि.से. र अधिकतम तापक्रम २०–३८ डि.से. जीवन र प्रकृतिका लागि वातानुकुलित नै मानिन्छ । यहाँको कुनैपनि जमिनमा उभिएर उत्तरतर्फ देखिने पहाडी श्रृंखलाले कृतिम वा आयातित संस्कारको आभास समेत हुन दिँदैन ।

२) सामाजिक सद्भाव तथा मानविय संवेदना

तिव्र जनघनत्व वृद्धिका क्रममा रहेका शहरहरु मध्ये इटहरी एक हो । अझै पनि विशेष गरी पहाडी भेग वा अन्य क्षेत्रबाट बसाइसराइका लागि इटहरीलाई पहिलो रोजाइ बनाउने र स्थापित हुने क्रम जारी नै छ । बैदेशिक रोजगारीमा रहेका युवाहरुका लागि पनि इटहरी नै छनौट हो । यसको कारण इटहरीको सद्भावयुक्त समाज हो । जातिय, साम्प्रदायिक, राजनैतिक वा कुनैपनि किसिमको भड्काव वा असहज परिस्थिती यहाँ छैन । कुनैपनि व्यक्ति आफ्नो टोलमा पुर्ण आत्मसम्मान र स्वतन्त्रताका साथ जीउन सक्छ । प्रकृति, समुह, सम्प्रदाय वा बिचारको बाहुल्यताका कारण कुनैपनि विपत्ति वा तनावको सामना गरिरहनुपर्दैन । विगतमा सञ्चालन भएको त्यति लामो मधेश आन्दोलनमा पनि इटहरी शान्त नै रह्यो ।
बरु इटहरीबासीमा भाइचारा, सद्भाव, मानविय संवेदना र आतिथ्यताको भावना पर्याप्त छ । समाजप्रति उत्तरदायी मानसिकता छ । मानवताका नाताले नै किन नहोस, सबैसँग आफन्तकै रुपमा सहयोग र मेलमिलापको संस्कार छ । शान्ति सुरक्षा, शिक्षित र सभ्य समाजको अपरिहार्यताका सन्दर्भमा इटहरीको यो समाजिक अवस्था प्रदेशको राजधानीका लागि अनुकुल हुनेछ ।

३) विकासको पर्याप्त वितरण र अवसर

राजनिति र अर्थशास्त्रका ज्ञाता गुनर मिर्डलले विकास भनेको जनताको आधारभूत आवश्यकताको पुर्ति, जीवनस्तरमा सुधार, गरिबी न्युनिकरण र आर्थिक पुर्वाधारको विकास नै हो भनेका छन् । इटहरीमा विकासको पर्याप्त विस्तार र वितरण भएको छ । बिकासको प्रसारसँगै स्वाभाविकरुपमा अवसरहरुको पनि सिर्जना भएको छ ।

अञ्चल यातायात कार्यालय, क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, क्षेत्रिय कृषि अनुसन्धान केन्द्र (तरहरा), जुटविकास तथा अनुसन्धान केन्द्र, कृषि तालिम केन्द्र (झुम्का), नेपाली सेना पुर्वी पृतना मुख्यालय, सशस्त्र प्रहरी बल पुर्व क्षेत्र मुख्यालय (पकली) सहित इलाका स्तरका थुप्रै सरकारी कार्यलयहरु इटहरीमा छन् । राजधानी नहुँदा पनि इटहरीले राजधानी सो सरहकै सेवा दिइरहेको यसबाट स्पष्ट हुन्छ । अधिकाँश प्रदेश नं. १ वासीहरु अहिले पनि सरकारी सेवा लिन वा अन्य सुविधाको खोजीमा इटहरी धाई नै रहेकाछन् । राज्यको पुर्नसंरचना अन्तर्गत यी सरकारी निकायहरुलाई अन्तै पुर्नसंरचित गर्नुपरे पनि राजधानीका विभिन्न मन्त्रालयहरुका लागी यी भवनहरुलाई उपयोग गर्न सकिन्छ । क्षेत्रिय कृषि अनुसन्धान केन्द्रको १५६ विघा र कृषि तालिम केन्द्रको ३६ विघा जमिनलाई यस प्रयोजनमा उपयोग गर्न विस्तृत योजना बनाउन सकिन्छ ।

इटहरी निजी क्षेत्रको लगानीबाट पनि सम्पन्न शहर हो । २ डि देखि १२ डि सम्म क्षमता भएका सिनेमा हल, गोरखा डिपार्टमेन्टल स्टोर, आई सिनेमा लगायत सपिङ मल, पार्क, व्यवस्थित होटल, खनार करिडोरका विभिन्न उद्योगले इटहरी व्यापारिक र औद्योगिक शहरको रुपमा विकास भईसकेको छ । हलगडामा अन्तर्रराष्ट्रिय सुविधा सहितको तारे होटल निजिस्तरमै निर्माणाधिन छ । अन्तरराष्ट्रिय स्तरको क्षेत्रिय रङ्गशाला निर्माणाधिन हुनुले यहाँको खेलकुदको विकासको स्तर दर्शाउँछ । दैनिक, साप्ताहिक, मासिक पत्रपत्रिका, एफएम रेडियो, टि.भि, अनलाईन न्युज पोर्टल लगायतको स्थापना र निरन्तरताले सञ्चारका क्षेत्रमा व्यापक फड्को मारेको स्पष्ट हुन्छ । नेपाल टेलिभिजनको क्षेत्रिय कार्यालय इटहरीमै स्थापना हुने भएको छ । शिक्षामा सुष्मा गोदावरी कलेज, संगीतमा संगीत साधना कला केन्द्र इटहरीको चौतर्फी विकासका उदाहरण हुन् । रेडक्रस, प्राथमिक स्वास्थ्य केन्द्र र करिब आधा दर्जन निजि अस्पतालहरुले स्वास्थ्य सेवा दिई नै रहेकाछन् । यहाँबाट १२ किमी मात्र उत्तरमा नेपालकै सुविधा सम्पन्न अस्पतालमध्ये एक विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालित छ ।

पर्यटनका क्षेत्रमा वडा नं.२ र ३ को सिमानामा पर्ने प्राकृतिक मनोरमस्थल तालतलैयाले इटहरीलाई चिनाएको छ । चिडियाखाना, जलक्रिडा, बालउद्यान, पिकनिक स्पट, दर्शनलायक प्राकृतिक दृश्य आदीका कारण यहाँ आन्तरिक र बाह्य पर्यटन फस्टाएको छ । तालतलैया राज्यकै लगानी अन्तर्गत गुरुयोजना मार्फत विकास र विस्तार हुँदै गरेको पर्यटकिय क्षेत्र हो । वडा नं. ५ मा रहेको काव्यवाटिका साहित्य र कलाको संगमस्थल हो । उपमहानगरपालिका परिसरको मेचीकाली पोखरी र सिसमहल पनि दर्शनिय छ । डुंगा विहार र सशुल्क माछा शिकारको व्यवस्था यसका थप आकर्षण हुन् । क्षेत्रिय कृषि अनुसन्धान केन्द्र तरहरा पनि उद्धेश्यमुलक भ्रमणका लागि सही मुकाम हो । बुढीखोलाको किनारमा अवस्थित कृष्ण प्रणामी मन्दिर धार्मिक वन, मानव धर्म सेवा मन्दिर, आइतबारे बप्तिस चर्च, राधाकृष्ण शिव मन्दिर, दक्षिणकाली मन्दिर, मनकामना मन्दिर लगायतले धार्मिक पर्यटनलाई उजागर गरिरहेकाछन् ।

विद्धान गुनर मिर्डलको भनाईलाई नै आधार मान्ने हो भने जहाँ विकास हुन्छ त्यहाँ आर्थिक समृद्धि हुन्छ । सँगसँगै पर्याप्त अवसरहरु पनि सिर्जना हुन्छन् । यी अवसरहरु विकासलाई दिगो राख्न र बाँकी समृद्धि तर्फ अघि बढ्नका लागि हुन्छन् । इटहरी अहिले त्यही अवस्थामा छ ।

४) हव : कनेक्टर

नेपालको विकासको पुर्वाधारका रुपमा स्थापित पुर्वपश्चिम राजमार्गको पुर्वी स्टेशन इटहरी नै हो । यो राजमार्ग इटहरी चौक हुँदै पुर्व पश्चिम पार भएको छ । उत्तरतर्फ धरान हुँदै पहाडी जिल्ला आवतजावत गर्ने र दक्षिणतर्फ विराटनगर हुँदै भारत आवतजावतका लागि पनि इटहरी नै हव हो । हवाई यातायात अहिले नै सञ्चालनमा नरहेपनि विराटनगर र भद्रपुर एयरपोर्ट पुग्न पनि इटहरी नै बाटो हो । विशेष गरी यातायातका सन्दर्भमा इटहरी नेपालको कनेक्टरको भूमिकामा अद्यपि छ । यसबाहेक पर्यटन, उद्योग, शहरी विकास, शिक्षा, आधुनिकिकरणका सवालमा पनि इटहरीले देशलाई जोडेको छ ।

५) जनघनत्वको प्रक्षेपण र विकास

प्रदेश नं. १ का १४ जिल्लाहरु मध्ये झापा, मोरङ र सुनसरी तराई भूभागमा पर्दछन् । उदयपुरको केही भाग तराई बाँकी सहित अन्य १० जिल्ला पहाडी भेगमा पर्दछन् । स्वाभाविक रुपमा भौगोलिक हिसाबले यी चार जिल्ला समान, सहज र नजिक छन् । राजधानीका सेवा सुविधाहरु छिटो र कम खर्चमा लिनसकिन्छ । यसअर्थमा सबै जिल्लालाई समान पायक पर्ने ठाउँमै राजधानी राख्नुपर्छ भन्ने तर्क अस्वाभाविक होइन । यसो भन्दैमा दुरदराजमा राखेर राजधानीकै सेवा सुविधा कसैले नलिने वा लिएपनि प्रभावकारी भएन भने कुनै अर्थ हुँदैन । यो बिकास होइन । त्यसैले जनघनत्वको प्रक्षेपण र विकासको दृष्टिकोणले हेर्ने हो भने यो आग्रह मेल खाँदैन ।

राष्ट्रिय जनगणना २०६८ अनुसार प्रदेश नं. १ को कुल जनसंख्या ४५,३५,४०४ हो । जसमा झापा (८,१२,६५०), मोरङ (प्रदशेकै सबैभन्दा धेरै जनसंख्या ९,६५,३७०), सुनसरी (७,६३,४८७), उदयपुर (३,१७,५३२) यी चार जिल्लाको जनसंख्या मात्र २८,५९,०३९ छ । तेह्रथुम (प्रदेशकै सबैभन्दा कम जनसंख्या १,०१,५७७), इलाम (२,९०,२५४), धनकुटा (१,६३,४१२), ओखलढुंगा (१,४७,९८४), सोलुखुम्बु (१,०५,८८६), खोटाङ (२,०६,३१२), भोजपुर (१,८२,४५९), संखुवासभा (१,५९,२०३), पाँचथर (१,९१,८१७) र ताप्लेजुङ (१,२७,४६१) यी १० जिल्लाको कुल जनसंख्या १६,७६,३६५ रहेको छ । यसरी हेर्दा तराईका चार जिल्लाको जनसंख्या कुल जनसंख्याको ६३.०३∞ अर्थात आधाभन्दा बढि छ भने पहाडका १० जिल्लाको जनसंख्या ३६.९६∞ मात्र छ ।

प्रदेश नं. १ को राजधानी इटहरीमा हुँदा सहज सेवा पाउनसक्ने जनताको संख्या २८,५९,०३९ रहेछ । तर कुनै पहाडी जिल्लामा राजधानी भएमा केही हदसम्म सहज सेवा सुविधा पाउनसक्ने जनताको संख्या १६,७६,३६५ मात्र रहेछ । राजधानीको पहुँचमा पुग्न सकस बेहोर्नुपर्ने जनताको संख्या अधिक हुनेरहेछ । राज्यको कुनै पनि निकाय स्थापनाको सामान्य सिद्धान्त भनेकै कुनैपनि क्षेत्रमा स्थापना गरिएको निकायले दिने सेवा सुविधा सकेसम्म धेरै भन्दा धेरै जनताले सहजढंगले उपभोग गर्न पाउन् । निकायमा धेरैभन्दा धेरै जनताको पहुँच पुगोस । तबमात्र राज्यको निति र दिने सेवा सुविधा प्रभावकारी हुन्छ र विकास हुन्छ । अन्यथा निति र सेवा सुविधा जति उत्कृष्ट भएपनि कुनै अर्थ रहदैन ।

अर्को तर्फ, यसलाई क्षेत्रफलको आधारमा हेरौँ । झापा (१६०६ वर्ग किमी), मोरङ (१८५५ वर्ग किमी), सुनसरी (१२५७ वर्ग किमी) र उदयपुर (२०६३ वर्ग किमी) गरी चार जिल्लाको कुल क्षेत्रफल ६,७८१ वर्ग किमी छ । तेह्थुम (प्रदेशकै सबैभन्दा सानो क्षेत्रफल ६७९ वर्ग किमी), इलाम (१७०३ वर्ग किमी), धनकुटा (८९१ वर्ग किमी), ओखलढुंगा (१०७४ वर्ग किमी), सोलुखुम्बु (३३१२ वर्ग किमी), खोटाङ (१५९१ वर्ग किमी), भोजपुर (१५०७ वर्ग किमी), संखुवासभा (३४८० वर्ग किमी), पाँचथर १२४१ वर्ग किमी) र ताप्लेजुङ (प्रदेशकै सबैभन्दा ठुलो क्षेत्रफल ३६४६ वर्ग किमी) गरी १० जिल्लाको कुल क्षेत्रफल १९,१२४ वर्ग किमी छ । इटहरीमा राजधानी भएमा राज्यको सेवा प्रत्येक एक वर्ग किमीमा बाँड्दा पनि ४ सय २२ जनाले सेवा लिन सक्ने देखिन्छ तर कुनै पहाडी भेगमा राजधानी स्थापना गरेर यही सेवा प्रत्येक वर्ग किमीमा बाँड्दा सेवा लिने जनता ८८ जनामात्र हुने देखिन्छ । ३३४ जना सेवाग्राही सेवाबाट बञ्चित हुने सम्भावना हुनेरहेछ अथवा ४२२ जनालाई दिइने सेवा ८८ जनामा सिमित हुने रहेछ । यसकारण प्रदेश १ को राजधानी इटहरी नै उपयुक्त हुनसक्छ ।

६) विकास विस्तारको दृष्टिकोण

‘इटहरी त विकसित शहर हो, विकासबाट बञ्चित ठाउँमा राजधानी स्थापना गरेर विकासको अवसर दिनुपर्छ’ भन्ने तर्क पनि छ । यो तर्क अन्यथा होइन । यो विषयलाई राज्यको निति निर्माण र विकासको प्रक्षेपणका नजरले हेर्नुपर्छ । राज्यले कुनै पनि निति निश्चित जिल्ला, शहर वा क्षेत्रको विकासको लागि मात्र बनाउँदैन । समग्र बिकास उसको ध्येय हुन्छ । माथि भनिए झैँ निति निर्माणको मुल उद्धेश्य भनेको नै धेरै भन्दा धेरै जनता लाभान्वित होउन् । समृद्ध होउन् । निति अनुसार गरिने विकासको प्रक्षेपणको मुल सिद्धान्त पनि त्यही हो । विकासबाट बञ्चित कुनै ठाउँमा राजधानी राखेर भन्दा इटहरीमा राखेर धेरै विकास हुन्छ भने सैद्धान्तिक रोजाई त इटहरी नै हुन्छ । राजधानी राख्दैमा चमत्कार हुन्छ र विकास भई नै हाल्छ भन्नु मुर्खता हो भन्ने कुरा पुरानो संरचना अनुसारका क्षेत्रिय सदरमुकामहरुलाई हेरे पुष्टी भईहाल्छ । ताप्लेजुङको लेलेपमा १ नं. प्रदेशको राजधानी राखिदिउँ त । राजधानी हुनुको अर्थ होला ? प्रदेशको विकास होला ? राज्यको नितिगत लक्ष्य पुरा होला ? यसअर्थमा उल्लेखित तर्क एकपाङ्ग्रे सावित हुन्छ ।

विकास भनेको फैलिनु हो, खुम्चिनु होइन । कुनैपनि क्षेत्र वा शहरको विकास हुनु भनेको बिकासको विस्तार पनि हो । विकासको विस्तार नै मुलुक विकासको सिँढी उक्लिनु हो । इटहरीमा राजधानी रहेमा अतिभन्दा अति दुर्गमका जनता पनि समय परिस्थितीमा इटहरी आउनैपर्छ । सोलुखुम्बुको चिन सिमाना खुम्बु पासाङल्हामु गाउँपालिकाको कहिल्यै शहर, तराई वा आधुनिक सभ्यता नदेखेको व्यक्ति इटहरी वा तराई आउन बाध्य हुनु उसको अद्भूत अवसर मात्र होइन, अहोभाग्य हो किनभने उसले नयाँ कुरा देख्ने, अनुभव गर्ने, सिक्ने अवसर पाउँछ र उसमा मानसिक सचेतनता आउँछ । जसले गर्दा उ व्यक्तिगतरुपमा आधुनिक सभ्यतामा प्रवेश गर्ने, आफ्नो गाउँठाउँमा नयाँ सभ्यताको शंखघोस गर्ने, नयाँ प्रविधि भित्र्याउने र आफु र आफ्नो क्षेत्रमा विकासको नमुना प्रस्तुत गर्ने अवसर पाउँछ । बेलायत यात्रामा सिकेको ज्ञान र चेतनाले जङ्गबहादुर राणाले नेपालमा आधुनिक प्रविधिको शुरुवात गरे झैँ प्रदेश १ मा पनि चिन्तन, प्रवृत्ति, उपलब्धिहरुको प्रसार हुन सक्छ । त्यसैले इटहरी राजधानी हुँदा दुर्गम पहाडी भेगका जनता निराश हुनुको सट्टा गौरवान्वित हुनुपर्छ ।

भ्रमहरु र निवारण

१) वर्षा र डुबान :  हरेक वर्षा याममा अविरल वर्षा र डुबान इटहरीको प्रमुख समस्या हो । स्थानिय सरकारी निकाय, राजनैतिक दल र सरकार गम्भिर नहुनु, समाधानमा जाँदा पनि प्रभावकारी काम नहुनुका कारण यो समस्याले स्थायित्व पाईरहेको छ । यसवर्ष पनि समस्या दोहोरिएको छ ।

इटहरीको पानीको मुहानको रुपमा रहेको सेरा खोला, टेङ्ग्रा खोला र केही पैनीहरुले थेग्न नसकेको पानी बस्तीमा छिरेपछि समस्या भएको हो । सेरा खोलामा केही वर्ष अघि बाँधिएको बाँधले अहिलेसम्म पानी नियन्त्रण गर्ने क्षमता राखेन । टेङ्ग्रा खोला र पैनीहरुबाट भएको समस्याको मुल कारण भने जग्गा अतिक्रमण देखिएको छ । जग्गा व्यवसायी, उद्योगी र केही उच्च घरानियाहरुको अव्यवस्थित प्लटिङका कारण खोला र पैनीहरु मासिदै जाँदा वर्षाको पानी नियन्त्रित हुन सकेको छैन । राजनैतिक दलहरुको सहभागीतामा स्थानिय सरकारको कडाई निति र प्रभावकारी कार्यान्वयन भएमा यो सहजै समाधान हुने समस्या हो । यसमा केही प्रयास पनि शुरु भएको छ । इटहरी उपमहानगरपालिकाले स्थानिय राजनैतिक दल र नागरिक समाजको सहभागीतामा जनस्तरबाट विपद व्यवस्थापन समिति गठन गरेको छ । समितिले डुबानका कारणहरुको स्थलगत निरिक्षण गरेको छ । ठोस निति निर्माणको गृहकार्य भईरहेको बुझिएको छ ।

डुबानको हवाला दिँदै इटहरी राजधानीका लागि योग्य नभएको तर्क पनि गरिँदैछ । तर यही एकमात्र कारण राजधानी हुने इटहरीको अयोग्यताको कसी होइन भन्ने चैँ चुरो कुरा हो । डुबानका क्षेत्रहरु खोला र पैनी आसपास भएकाले राजधानीका सम्भावित कार्यालय वा मन्त्रालयहरु प्रभावित हुनेछैनन् र राजधानीले आफ्नो दैनिक कार्य निरन्तर जारी राख्न सक्छ । अन्य जिल्लाका सेवाग्राहीहरु यस समस्यावाट प्रभावित हुँदैनन् । इटहरीको डुबानकै कारण राजधानी आईपुग्ने बाटो नै अवरुद्ध हुने स्थिति छैन । परिक्षण र चुनौतिको घडी यही हो की चाहेमा यस समस्यालाई आगामी वर्षको वर्षा यामसम्म समाधान गर्न सकिन्छ । स्थानिय सरकारले यसलाई तुरुन्त संवोधन गरेर जनताको अपेक्षा र मतको सम्मान गर्नुपर्छ ।

२) उच्च अदालत :  व्यवस्थापिका संसदले न्याय सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा प्रदेश राजधानीमा एक उच्च अदालत रहने प्रस्ताव गरेको छ । विधेयक पारित भएपछि हाल रहेका पुनरावेदन अदालतहरु स्वतः भंग हुने र सोही कार्यालयमा उच्च अदालत रहने प्रावधान राखिएको छ । यसो भएमा प्रदेश १ का लागि विराटनगर राजधानी हुने देखिन्छ । तर भौगोलिक अवस्थितीका कारणपनि विराटनगर राजधानी बन्ने अवस्था छैन । विराटनगरको पुनरावेदन अदालतलाई सर्लक्कै इटहरीमा सारेर स्थापित गर्न र सोही कार्यालयलाई उच्च अदालतका रुपमा पुर्नसंरचित गर्न कुनै समस्या छैन ।

 

तपाईको प्रतिक्रिया

Loading...