भारतकी चर्चित लेखिका लेख्छिन ’नेपाल माथि हमला गर्न सक्ने हिम्मत संसारमा कसैको छैन’

गोरखालीहरू नेपालको सैनिक सेवामा मात्र संलग्न हुन्छन् भन्नु उनीहरूलाई कम आँकलन गर्नु हो । नेपालमा हमला गर्ने हिम्मत आज पनि कसैमा छैन भने त्यसको एक मात्र कारण गोरखालीहरूको छवि नै हो । उनीहरू सभ्य र निडर हुन्छन् । जो केवल नेपाली सेनामा मात्र सेवा गर्दैनन्, अपितु बेलायती तथा भारतीय सेनाका लागि पनि मर्न तत्पर रहन्छन् ।  आज होइन, सन् १८१४–१६ को नेपाल–अंग्रेज युद्धको अन्त्यदेखि नै यो परम्परा चलिआएको छ । विकट परिस्थिति तथा दुर्गम क्षेत्रहरूमा पनि उनीहरू आफ्नो असाधारण वीरता र नायकत्व प्रदर्शन गर्न सक्छन् । आफ्नो यो परम्परामा विश्वास राख्ने एक गोरखा सैनिक दीपप्रसाद पुनले अफ्गानिस्तानको एउटा मोर्चामा एक्लैले एउटा पोष्टमा ३० जना तालीबानी लडाकुलाई मात ख्वाइदिएका थिए ।

यो घटना अफगानीस्तानको हेल्मन्ड प्रान्तमा सेप्टेम्बर २०१० को एक साँझ घटेको थियो । गोरखा राइफल्सका हवल्दार दीपप्रसाद पुन चौकीको दोस्रो तल्लामा तैनाथ थिए । त्यही बेला उनले केही हलचल सुने । ध्यानपूर्वक हेर्दा त्यहाँ सडकमा विद्रोहीहरू विस्फोटक (इम्प्रोभाइज एक्सप्लोसिभ डिभाइस अर्थात् आईईडी) पदार्थ राख्ने प्रयास गरिरहेका थिए । पुनलाई बुझ्न गार्‍हो भएन कि उनी चारैतिरबाट घेरिइसकेका छन् तसर्थ उनले हार नमानी युद्धमा डट्ने निर्णय गरे । त्यो रात त्यहाँको आकाश गोली र रकेट प्रोपेड ग्रेनेड (आरपीजी) फायरले गुञ्जायमान थियो । पुन तैनाथ चौकीलाई हानी पुर्‍याउने पूरा योजनाका साथ तालिबानी लडाकुहरूले उक्त हमला गरेका थिए ।

यद्धपि पुन आत्तिएनन्, बरु पुरा जोस र हिम्मतका साथ मसिनगन उठाए, ट्राइपोड लगाए अनि त्यसपछि आँखा चिम्लेर अन्धाधुन्ध गोली बर्साउन थाले । पुनले आक्रमणकारीहरूलाई सम्हालिने अवसर पनि दिएनन् । पुनले १७ वटा ग्रेनेडले शत्रुहरूमाथि आक्रमण गरे । ग्रेनेड सकिएपछि एसए ८० सर्भिस राइफलले दनादन गोली बर्साए । यहाँसम्म कि उनी शत्रुहरूमाथि बारुदी सुरुङ फ्याँक्नसमेत हिचकिचाएनन् ।

उक्त घटना स्मरण गर्दै पुन भन्छन्— ‘एक तालीबानी लडाकू गार्ड हाउससंग टाँसिएको टावर चढ्ने प्रयास गरिरहेको थियो । मैले तत्काल उसलाई जमिनमा खसाल्नु थियो । मैले उसलाई त्यहाँबाट हटाउन सफलता त हासिल गरें तर हतियारले मलाई ऐन मौकामा धोका दिएको थियो, त्यतिबेला राइफल चलेन । मैले मसिनगनको ट्राइपड उठाएर त्यो तालिबानीको टाउकोमा प्रहार गरें, त्यसपछि ऊ जमिनमा ढल्यो ।’ पुन तालिबानीहरूसँग तबसम्म भिँडिरहे, जबसम्म थप सैनिक सहायता उनको चौकीसम्म आइपुगेन । थप सहयोग त्यहाँ पुग्दासम्म पुन एक्लैले ३० जना तालिबानीलाई सिध्याइसकेका थिए । हिजोआज पुन जब उक्त घटना विवरण सुनाउन थाल्छन्, त्यतिबेला उनका शब्दले भन्दा आँखाले धेरै कुरा भनिरहेका हुन्छन् ।

पुनलाई उक्त बहादुरीका लागि बेलायतकी महारानी एलिजावेथ द्वितीयाले बकिङघम प्यालेसमा आयोजित एक समारोहका बीच ‘कक्सपिक्युअस ग्यालेन्ट्री क्रस’ पदकले सम्मानित गरेकी थिइन् । उक्त समारोहमा उपस्थित विशिष्ट व्यक्तिहरूलाई सम्बोधन गर्दै पुनले भनेका थिए— ‘त्यति बेला म निराश थिइनँ, किनभने मसित आफू बाँच्नका लागि लड्नुको विकल्प थिएन ।

तालिबानीहरूले चारैतिरबाट त्यो चेकप्वाइन्टलाई घेरिसकेका थिए र म त्यहाँ एक्लै थिएँ । जसरी उनीहरूले मलाई घेरेका थिए, त्यस्तो स्थितिमा मेरो मृत्यु निश्चित थियो । त्यतिबेला मैले सोचें मर्नुअघि जति बढिलाई मार्न सक्छु, त्यति शत्रुलाई मारेर मात्र म आफू मर्छु ।’ पछि थाहा भयो कि पुनले त्यतिबेला २ सय ५० मेसिनगन तथा १ सय ८० एसए ८० राउन्ड फायर गरेका थिए भने ६ वटा फस्फोरस ग्रिनेड, ६ वटा नर्मल ग्रिनेड अनि एउटा क्लेमोर माइन फ्याँकेका थिए ।

पुनको परिवार पुस्तौंदेखि ब्रिटिस गोरखा रेजिमेन्टमा सेवारत छ । पुनका पिता पनि गोरखा राइफलमै कार्यरत थिए भने उनका हजुरबुवा द्वितिय विश्वयुद्धताका बर्माको मोर्चामा देखाएको अदम्य साहसका लागि भिक्टोरिया क्रसबाट सम्मानित भएका थिए । साप्ताहिक अनलाइन संस्करण

(इन्डिया संवादका लागि सुष्माश्रीको आलेखको भावानुवाद) नयाँबाटाे बाट

तपाईको प्रतिक्रिया