शिक्षाको ‘उज्यालो यात्रा’ तर्फ सन्थाल समुदाय

झापा, ६ जेठ । पूर्वी नेपालको झापा,मोरङ,सुनसरी जिल्लामा परापूर्व कालदेखि स्थायी बसोबास गर्ने समुदाय हो ‘सन्थाल’ । नेपाल सरकारद्वारा सूचिकृत ५९ आदिवासी जनजाति मध्ये आफ्नो छुट्टै मौलिक पहिचान बोकेको जाति मानिन्छ यो समुदायलाई । संस्कार संस्कृति, भेषभूषा, साहित्य, भाषालिपीले गर्दा सांस्कृतिक रूपमा पनि यो जाति धनी छ । आफूलाई प्रकृतिका पूजारी मान्ने यो समुदायले सालको रूखलाई पवित्र मान्दछन् । बिष्णूलाई प्रमुख देवता मान्ने यो समुदायले पूजा गर्ने स्थानलाई ‘मान्झिथान’र ‘जाहेरथान’भन्दछन् । यो समुदायमा गाउँमा एउटा मुखिया हुन्छ त्यसलाई‘मान्झिहाडाम’ भन्ने गरेका छन् । तीर धनु यो जातिको प्रमुख हतियार हो । सन्थाल जातिमा बाह्र वटा थरहरू हुन्छन् । १२ थरहरुबाटै यो जातिलाई सन्थाल हो भनेर पहिचान गर्न सकिन्छ ।

 
सन्थाल जातिले बोल्ने भाषालाई ‘सन्थाली’ भनिन्छ । सन्थालहरूको आफ्नो लिपि छ । जसलाई‘अल सिकी÷अल चेमेत्’ भनिन्छ । यस लिपिको अविष्कार पण्डित रघूनाथ मूर्मले गरेका हुन् । यसले सन् १९२० मा वैज्ञानिक मान्यता पाएको बताइन्छ । अल सिकीमा जम्मा तीस वटा वर्णमाला रहेका छन् । जसमा छ वटा स्वर वर्ण र चौबीस वटा व्यञ्जनवर्ण छन् । यहीबाट सन्थालले बोल्ने सम्पूर्ण शब्दहरूको निर्माण गरिन्छ ।
आफ्नै छुट्टै भाषा र लिपी भएपनि यो समुदायले नेपाली भाषा प्रयोग गर्ने गर्दछन् । केही वर्ष अघिसम्म जमिन्दारका रुपमा चिनिने सन्थाल समुदाय अहिले अति सिमान्तकृत जातिमा पर्छ । शिक्षा क्षेत्रमा पछि परेको यो समुदाय विस्तारै अहिले ‘शिक्षाको उज्यालो यात्रा’ तर्फ लम्कदैछ । २०६८ सालको जनगणनामा यो समुदायको जनसंख्या ५१ हजार ७ सय ३५ रहेको छ । त्यसमा पनि शिक्षित सन्थाल त झनै कम छन् ।
मुलुकमा आमूल परिर्वतन भएसंगै सन्थाल समुदायको जीवन शैलीमा परिर्वतन भएको छ । सन्थाल समुदायबाट पनि राज्यका विभिन्न तहमा प्रतिनिधित्व भएको छ । सन्थाल समुदाय केही युवा अहिले सरकारी सेवामा समेत सेवारत छन् ।


अति सिमान्तकृत समुदायबाट मोहन टुडू नेपालका एक मात्र सन्थाल समुदायका सांसद् बन्नुभएको छ । झापाको हल्दिबारी–७ घर भएका टुडू माओवादीको कोटाबाट सांसद बन्नुभएको हो । सन्थाल समुदायबाट उहाँले अहिले संविधानसभामा देशभरिबाट एक्लै प्रतिनिधित्व गरिरहनुभएको छ ।

 
उहाँ जस्तै सन्थाल समुदायबाटै कानूनमा स्नातक गर्नुभएका सन्थाल समुदायका अगुवा विश्वदीप बेस्रा अहिले प्रधानमन्त्रीको कार्यालयमा कार्यरत हुनुहुन्छ । उहाँ प्रधानमन्त्री कार्यालयको अधिकृत पदमा सेवारत हुनुहुन्छ । उहाँसंगै सन्थाल समुदायबाटै लेखापालका रुपमा कार्यरत हुनुहुन्छ झापा राजगढ–५ कि सुनिता सोरेन । उहाँ अहिले मेचीनगर नगरपालिकाको लेखापाल हुनुहुन्छ । उहाँका श्रीमान् जीसु मुर्मु पनि खरिदार पदमा कार्यरत हुनुहुन्छ । उहाँ कनकाई नगरपालिकामा कार्यरत हुनुहुन्छ ।

 
सन्थाल समुदायबाट सरकारी निकायमा काम गर्ने थोरैमात्रै छन् । त्यसमा पनि महिलाको संख्या त ज्यादै न्यून रहेको बताउनुहुन्छ सिमलवाडी आधारभूत विद्यालयकी शिक्षक तलू बास्के । उहाँ नेपाल पत्रकार महासंघ झापाको सदस्य पनि हो । सन्थाल समुदायबाट उहाँ महिलाको प्रतिनिधित्व गर्ने एक्लो सञ्चारकर्मी हो । वास्केका अनुसार सुफल सोरेन अरनीको उच्च माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्छ । त्यस्तै सुन्दर वेस्रा टाघनडुब्बामा प्रधानाध्यापकको जिम्वेवारी सम्महाली रहनुभएको छ । वडाराम हेमरम गरमकाली स्कूल गोलधापका शिक्षक हुनुहुन्छ भने वद्री हेमरम बिर्तामोड नगरपालिकाका प्राविधिक पदमा कार्यरत हुनुहुन्छ । देवीलाल मण्डी सीता प्रावि पृथ्वीनगरमा शिक्षकको पदमा कार्यरत हुनुहुन्छ ।

 
ज्यादै न्यून संख्यामा सरकारी सेवामा रहेका यो समुदाय शिक्षाको अवसर नपाउँदा वहिष्करणमा परेको मेचीनगरपालिकाकी लेखापाल सुनिता बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ –‘ हाम्रो समुदायमा पनि विस्तारै अहिले पढ्नु पर्छ भन्ने चेतनाको विकास हुँदैछ ।’ एसएलसीसम्मको शिक्षा पुहाँतु जनज्योति माविबाट पूरा गरेपछि सहिद दशरथ उमावि चारआलीबाट सुनिताले कक्षा ११ र १२ उत्तीण गर्नुभएको हो । अहिले उहाँ त्रिदेव क्याम्पस चारआलीबाट स्नातक गरिरहनुभएको छ ।

 
समुदायकै उदाहरणीय महिलाको रुपमा चिनिनुभएकी सुनिता शिक्षामा जोड दिन समस्त सन्थाल समुदायलाई आग्रह गर्नुहुन्छ । उहाँ जागिरबाट फुर्सद निस्कनासाथ गाउँ पसेर आफ्नो समुदायका नानीहरूलाई पढ्न हौसला थप्ने गर्नुहुन्छ । राजगढ–५ घर भएका उहाँका पति जीसु रेडियोकर्मी पनि हुनुहुन्छ । उहाँले धुलावारीको रेडियो सरगममा समाचार सम्पादकको जिम्मेवारी समेत सम्हान्न भ्याउनुभएको छ ।

 
सम्पादकको जागिर छाडेर जीसु अहिले कनकाई नगरपालिकामा खरिदारको पदमा कार्यरत हुनुहुन्छ । उहाँ भननुहुन्छ – प्रतिस्पर्धा गर्न नसके कुनै समुदाय विशेषलाई भनेर दिएको आरक्षण कोटाले मात्र केही हुँदैन, प्रतिस्पर्धा त देश विकासका लागि अबश्य नै चाहिन्छ ।’
पशुपति मावि राजगढबाट एसएलसी उत्तीण गर्नु भएका जीसुले स्थातकसम्मको अध्ययन गर्नुभएको छ ।

 
आफ्नो समुदायबाट पनि राज्यका विभिन्न निकायमा प्रतिनिधित्व भएपछि अहिले सन्थाल समुदायले आफ्ना बालवालिकालाई विद्यालय पठाउन थालेको बताउनुहुन्छ नेपाल सन्थाल विकास संघ झापाका अध्यक्ष बडाराम हेमरम । उहाँ भन्नुहुन्छ–‘सन्थाल जाति भन्ने वित्तिकै हिजो उपेक्षामा परेको जाति थियो तर अहिले मुलुकमा आएको परिर्वतनसंगै सन्थाल समुदायलाई हेर्ने दृष्टिकोण समेत परिर्वतन भएको छ ।’
झापाको कोरोवारी, हल्दिवारी, कुमरखोद, टाघनडुब्बा, वैगुनधुरा, जलथल, राजगढ,शरणामतीमा यो समुदायको वसोवास बढी रहेको पाइन्छ । झापामा यो समुदायको जनसंख्या ३५ हजारको हाराहारीमा रहेको नेपाल सन्थाल विकास संघ झापाका अध्यक्ष हेमरमले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Loading…