ट्याक्टर फसेको हेर्न जादा बसेको माया….

लोकगायक बद्री पंगेनीले १८ वर्षको उमेरमा आफूभन्दा तीन वर्ष कान्छी कल्पना भट्टराईसँग बिहे गरेका थिए । आठ वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरूले बिहेमा परिणत गरेका थिए । यो जोडीकी एउटी छोरी छिन्– बिहानी । कसरी जम्यो त बद्री र कल्पनाको जोडी ? यसरी जम्योः

बद्री र कल्पना दुवैको गाउँ पाल्पाको रामपुर हो । उनीहरू एउटै स्कुलमा पढ्थे । तैपनि, उनीहरूबीच चिनजान थिएन । यो कुरा बद्रीलाई एउटा सांस्कृतिक कार्यक्रममा मात्र थाहा भयो । रामपुरको किसानबारी भन्ने ठाउँमा सांस्कृतिक कार्यक्रम भइरहेको थियो । जहाँ बद्री गीत गाउन पुगेका थिए । त्यही कार्यक्रममा बद्रीले कल्पनालाई नाचेको देखे । यति राम्रो नाच्ने यति राम्री मान्छे को होला ? बद्रीलाई मनमनै खुल्दुली भएछ । ‘बुझ्दै जाँदा पो थाहा भयो, हामी एउटै स्कुलका रहेछौँ,’ बद्रीले सम्झिए, ‘म कक्षा आठमा पढ्थेँ, उनी पाँचमा पढ्ने रैछिन् । तर, हाम्रो चिनजान भएको रहेनछ ।’ पहिलो नजरमै बद्रीले कल्पनालाई मन पराए । त्यसको केही दिनपछि गाउँमा एउटा ट्र्याक्टर फसेको हल्ला चल्यो ।

ट्र्याक्टर फसेको हेर्न बद्री दगुरेर पुगे । दोस्रोपल्ट उनले कल्पनालाई त्यहाँ देखे । ‘मान्छेहरू ट्र्याक्टर फसेको हेरिरहेका थिए, हामी एकअर्कालाई हेरिरहेका थियौँ,’ कल्पनाले सम्झिइन्, ‘पहिलोपल्ट नजर जुधेको त्यहीँ हो । उहाँले मलाई एकोहोरो हेर्नुभयो । मैले पनि लुकीलुकी हेरिरहेँ । त्यहीँ चिनापर्ची पनि भयो ।’ त्यसपछि उनीहरू नजिकिए । दुवैको कक्षा कोठा भिन्न–भिन्न थियो । तर, दुवै झ्याल छेउमा बस्थे । ‘झ्यालबाट एकअर्कालाई हेरिरहन्थ्यौँ,’ बद्रीले भने, ‘त्यसपछि त पढाइभन्दा बढी ध्यान प्रेममा जान थाल्यो ।’

केले लोभ्यायो ?
गाउँमा चर्चित थिए, बद्री । उनको स्वरको खूब चर्चा हुन्थ्यो । ‘मान्छे पनि मीठो गाउने, स्वभाव पनि राम्रो, त्यसैले मन प¥यो होला,’ बद्री मन पर्नुको कारण दिन्छिन्, कल्पना । बद्री चाहिँ कल्पनाको निडर र छुच्चो शैलीबाट लोभिएका रहेछन् । ‘मलाई उनको आँखा त झन् असाध्यै मन पर्ने । खोइ के जादु छ कुन्नि ? एक कोस पर देख्दा पनि मलाई नै हेरिरहेको जस्तो लाग्थ्यो,’ ब्रदीले भने ।

चिठी हराएपछि…
बद्री एसएलसीको परीक्षा दिएपछि गायक बन्ने धोको लिएर काठमाडौँ छिरे । त्यसपछि त फक्रिँदै गरेको उनीहरूको प्रेममा झण्डै पूर्णविराम लागेछ । कारण– चिठी आदानप्रदानको क्रम रोकिनु । त्यो समयमा उनीहरूको गाउँमा एउटा मात्र टेलिफोन थियो । कल्पनाको परिवार कडा थियो । त्यसमाथि पीसीओमा एकदमै भीड लाग्थ्यो । फोनमा कहिलेकाहीँ कुरा हुन्थ्यो । उनीहरूबीच बढी सञ्चार हुने एउटै माध्यम थियो– चिठी । त्यो पनि रोकिएछ । कसरी ? ‘मैले चिठी पठाएपछि कल्पनाले जवाफ फर्काउने पालो थियो,’ बद्रीले सम्झिए, ‘कल्पनाले पनि पठाएकी रैछिन् । तर, ठेगाना गलत भएकाले त्यो चिठी फिर्ता भएछ ।’ फिर्ता भएको चिठी हुलाकीले कल्पनाको बुबालाई दिएछन् । यो कुरा कल्पनाले थाहा पाइनन् । बद्रीले चिठीको उत्तर दिएन भनेर उनी रिसले चुर भइन् । ‘हाम्रो प्रेमबारे आमालाई सुनाइछिन्, बेस्सरी चित्त दुखाइछिन्,’ बद्रीले भने, ‘यता म चाहिँ चिठीको जवाफ नआएपछि कल्पनाले मलाई बिर्सिछिन् भन्ने सोचिरहेँ ।’ गाउँ पुगेपछि उनले वास्तविकता थाहा पाए । कल्पनासँग कुरा गर्न खोज्थे । उनी तर्किएर हिँड्थिन् । उता छोरीको चिठी पढेर बुबा रिसाएछन् । ‘आमा पोजिटिभ हुनुहुन्थ्यो, बुबा मानिरहनुभएको थिएन,’ कल्पनाले सुनाइन्, ‘त्यही कारण आमाबुबाबीच एक महिनासम्म बोलचालै बन्द भएको थियो ।’ यता रिसाएकी कल्पनालाई फकाउन बद्रीले संगीतलाई नै अस्त्र बनाएछन् । ‘त्यहीबेला गाउँमा सांगीतिक कार्यक्रम भएको थियो,’ बद्रीले सम्झिए, ‘मैले कल्पनालाई स्टेजबाट फकाउन खोजेँ । उनैलाई इंगित गरेर गीत गाएको थिएँ ।’

यसरी भयो बिहे
बद्रीसँग बिहे गराउन कल्पनाका बुबा किन मानिरहेका थिएनन् ? यसको जवाफ बद्री स्वयं दिन्छन्, ‘एक त हामी दुवै परिपक्व थिएनौँ । अर्को कुरा टाढाको साइनो लगाउँदा हामी दाजुबहिनी पथ्र्यौं रे ! त्यसमाथि म त्यतिबेला काठमाडौँको दोहोरी साँझमा जागिर खान्थँ। ससुरालाई बद्रीले गीत गाएर छोरी पाल्न सक्ला भन्ने विश्वास पनि थिएन होला ।’ बद्री र कल्पना एकअर्काविना बाँच्न नसक्ने भएपछि दुवैको परिवार बिहेको निष्कर्षमा पुगेको रहेछ । ‘हामीले बिहे पनि धुमधाम साथ गरेनौँ,’ बद्री सुनाउँछन्, ‘दुवैपट्टिबाट तीन–तीन जना सहभागी भएर बुटवलको मन्दिरमा बिहे गरेका थियौँ ।’

लक्ष्यकी सारथि कल्पना
जतिबेला बद्रीले कल्पनालाई बिहे गरेका थिए, त्यतिबेला उनी चर्चित भइसकेका थिएनन् । संघर्ष गरिरहेका थिए । ‘मेरो लक्ष्यमा कल्पनाले जिन्दगीभर साथ दिइन् र दिइरहेकी छिन् । मेरो सफलताको पछाडि उनको पनि हात छ । उनले कहिल्यै तिर्न नसक्ने गुण लगाएकी छिन् मलाई,’ बद्रीले भने । आफूले कल्पनालाई सम्झेर लेखेका, संगीत भरेका र गाएका थुप्रै गीत चर्चित भएको बताउँछन् बद्री । भन्छन्, ‘मैले उनलाई सम्झेर विरहका गीत गाएँ । उनी रिसाएका बेला फकाएका गीत गाएँ । उनीबाटै सिकेर, उनलाई नै महसुस गरेर थुप्रै गीत गाएँ । र, ती गीत चले पनि ।’ त्यति मात्र होइन बद्रीका प्रत्येक गीतको स्रोत उनको परिवार नै हो । ‘हाम्रो त घरभरि जज मात्र हुनुहुन्छ,’ बद्री र कल्पनासँगै बसेकी छोरी बिहानीले भनिन्, ‘बुबाले नयाँ गीत निकाल्दै हुनुहुन्छ भने सबैभन्दा पहिला घरमा सुनाउनुहुन्छ । मलाई चित्त नबुझेको म कमेन्ट गर्छु, ममीलाई चित्त नबुझेको ममी ।’ बद्रीले टाउको हल्लाउँदै छोरीको कुरामा सहमति जनाए र भने, ‘उनीहरू विशेष गरी गीतको शब्दमा सल्लाह दिन्छन् ।’

मीठो बोल्ने बद्री, व्यावहारिक कल्पना
बद्री र कल्पना दुवैलाई एकअर्काको मन पर्ने बानी के हो त ? सुरुमा दुवै मुस्कुराए । त्यसपछि कल्पना बोलिन्, ‘उहाँको बोली असाध्यै मीठो लाग्छ, मीठो बोलेरै म फकिएकी हुँला ।’ कल्पनालाई बद्रीको गम्भीर नहुने बानी चाहिँ मन पर्दैन रे ! कस्तो गम्भीर ? ‘उहाँसँग घर, छोरीबारे केही गम्भीर कुरा गर्न खोज्दा ‘ह्या’ भनेर टारिदिनुहुन्छ । फुर्सद हुँदा पनि मोबाइलमा झुन्डिरहनुहुन्छ । यो बानी हटाइदिए हुने !’ बद्री पनि स्विकार्छन्, ‘हो, म पारिवारिक छलफलमा त्यति ध्यान दिँदिनँ । उनी घर कहिले बनाउने भन्ने कुरा गर्छिन् ? मलाई देश कहिले बन्छ भन्ने चिन्ता छ भनेर टारिदिन्छु । उनको गुनासो त्यसमै हो ।’
बद्री भ्याएका बेला कल्पनालाई भान्सामा सघाउँछन् ! ‘आफूले खाएको थाल चाहिँ उहाँ सधैँ आफैँ माझ्नहुन्छ । यहाँ मात्र होइन सबैतिर । उहाँको यो बानी खूब मन पर्छ,’ कल्पनाले भनिन् ।

बद्रीसँग कल्पनाका प्रिय लाग्ने बानी अथाह छन् । भन्छन्, ‘उनी एकदमै व्यावहारिक छिन् । अप्रत्यक्ष रूपमा उनी समाजसेवी पनि हुन् । गाउँतिरबाट कोही आफन्त राजधानी आयो र अप्ठ्यारोमा परेको छ भने उनी उनीहरूको सेवा गर्न तम्सिहाल्छिन् । उनको यो स्वभाव असाध्यै मन पर्छ ।’ तर, बद्रीको नजरमा कल्पनाको बढी पैसा जोगाउन खोज्ने बानी चाहिँ खराब हो । भन्छन्, ‘उनीसँग सपिङ गर्न जाँदा एकदमै लाज लाग्छ । चार हजार पर्ने कपडालाई उनी बार्गेनिङ गरेर १५ सयसम्म झारिदिन्छिन् ।’ बद्रीको कुराप्रति उनकी छोरी असहमत देखिइन् । ‘यो त ममीको राम्रो बानी हो नि, बुबाले बुझ्नुपर्ने हो,’ छोरी बिहानीले भनिन् ।

कल्पनाको पीडा र गुनासो लुकाउने बानी पनि बद्रीलाई फिटिक्कै मन पर्दैन । ‘आज कुनै कुरामा रिस उठेको छ या कसैले मेरो बारेमा केही भन्दिएको छ भने उनी त्यो कुरा एक महिनापछि मात्र भन्छिन् । यस्तो नगरिदिए हुन्थ्यो ।’

सुखी होइन, खुशी जोडी
बद्री र कल्पना दुवै आफ्नो जोडीलाई खुशीसँग बाँचेको जोडी भन्न रुचाउँछन् । ‘सुखी होइन है फेरि, मात्र खुशी,’ बद्रीले भने, ‘मैले मेरो परिवारलाई सुखी राखेको छु जस्तो लाग्दैन । घर बनाइसकेको अवस्था छैन । श्रीमती र छोरीका भौतिक आवश्यकता पूरा गर्न सकेको छैन होला । तर, पनि हामी खुशी छौँ ।’ आफूहरूको जोडी लामो समयदेखि टिक्नुको कारण विश्वास र समझदारी हो भन्ने कल्पना ठान्छिन् । बद्रीलाई पनि त्यस्तै लाग्छ । भन्छन्, ‘हाम्रो जोडी विश्वास, प्रेम र कर्मका आधारमा टिकेको हो । कहिलेकाहीँ म नेपालमै हुँदा पनि एक महिनापछि मात्र भेट हुन्छ । कहिलेकाहीँ त एक हप्तासम्म पनि फोन हुँदैन । तैपनि, हामीबीच समझदारी छ, विश्वास छ । यही कारण हाम्रो जोडी मजबुत छ ।’

खल्लो हुन्छ चाडपर्व
नौ वर्षपछि बद्रीले परिवारसँग गएको दशैँ मनाए । बद्री सेलिब्रिटी भइसकेपछि कल्पनाले सधैँ खल्लो महसुस गरिरहने एउटा पक्ष हो– चाडपर्व । भन्छिन्, ‘उहाँ चर्चित कलाकार भइसकेपछि चाडपर्व सँगै बसेर मनाउन पाइँदैन । आफन्तकोमा टीका थाप्न एक्लै–एक्लै जाँदा खल्लो महसुस हुन्छ ।’ नागरिकबाट

तपाईको प्रतिक्रिया

Loading…